मकवानपुरगढीमा सशक्त बन्दै एमाले, ‘मूलघर’मै फर्किए जिल्ला सदस्य ढुंगाना
हेटौंडा– मकवानपुरगढी गाउँपालिकामा नेकपा एमाले पार्टी झन सशक्त रुपमा अघि बढेको नेताहरुले उद्घोष गरेका छन् । गाउँपालिकाभित्र एमालेप्रति जनताको आकर्षण बढेको भन्दै सशक्त रुपमा अघि बढेको जनाइएको हो ।
मकवानपुरगढी–६ नम्बर वडास्थित भञ्ज्याङ् टोलमा एमालेको टोल विकास कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेताहरुले मकवानपुरगढीमा एमाले पार्टी झनै सशक्त रुपमा अघि बढेको उद्घोष गरेका थिए । कमिटी निर्माणसँगै कार्यक्रमको अबसरमा नेपाली कांग्रेस, राप्रपा र माओवादी परित्याग गर्दै २५ जना एमालेमा प्रवेश गरेका थिए ।
एमाले गाउँकमिटी अनुसार विगत एक महिनाभित्र गाउँपालिकामा एमाले रोज्ने जनताको संख्या २ सय नाघेको जनाइएको छ । एमाले गाउँकमिटी सदस्य तथा अनेरास्ववियु जिल्ला सचिव पुष्कर तिमल्सिनाले एमालेमा धेरै कांग्रेस र माओवादीबाट प्रवेश गरेको बताए ।
उनले गाउँमा वडादेखि टोल कमिटी गठनलाई तीव्रता दिइरहेको एमालेप्रति जनताको आकर्षण बढेको र फेरिपनि गाउँपालिकामा एमाले बलियो पार्टीका रुपमाा स्थापित हुनेमा कुनै शंका नरहेको बताए । मकवानपुरगढीमा स्थानीय तहको निर्वाचनमा अध्यक्ष, उपाध्यक्षदेखि ४ वटा वडा अध्यक्ष एमालेले जितेको थियो ।
त्यस्तै, शुक्रबार भञ्ज्याङ टोल कमिटीको अध्यक्षतामा दिपक तितुङ चयन भएका छन् । तितुङको नेतृत्वमा २३ सदस्यीय एमालेको टोल कमिटी गठन भएको हो ।
उपाध्यक्षमा भेद प्रसाद गौतम, सचिवमा अस्मिता बल, उपसचिवमा बिन्दु माया पाख्रिन, उपसचिवमै राजकुमार घिमिरे चयन भएका छन् । सदस्यहरुमा ठाकुर प्रसाद दुलाल, सिताराम मोक्तान, भवानी सुवेदी, कृष्ण माया रुम्बा, शान्ति माया लामा, नबराज चौरेल, हरि माया लामा, नबराज गौतम, दिल कुमारी बल, राम प्रसाद गौतम, वेदनाथ देवकोटा, हिदम रुम्बा, चित्रराज तिमल्सिना, सोमबहादुर लामालगायत चयन भएका छन् ।
यसैगरी कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य श्याम ढुंगाना पुनः मूलघर (एमाले)मै फर्किएका छन् । उनी केही दिनअघि एमाले छोडेर अन्य पार्टीमा गएका थिए । उनले बाटो बिराएर अन्य पार्टीमा पुगेको भन्दै जनताले मन पराएको र जनभावना बोकेको पार्टी पनि एमाले मात्रै रहेको भन्दै घरमै फर्किएको बताएका हुन् ।
भञ्ज्याङ टोल कमिटी गठन कार्यक्रममा ढुंगाना उपस्थित भएर घरमै फर्किएको घोषणा गरेका हुन् । उनले १० वर्षको उमेरदेखि नै राजनीतिप्रति चासो राखेको र सानैदेखि एमालेमा आवद्ध भएको बताए ।
आफू भुलवश अन्य पार्टीमा पुगेको भन्दै मुलुकलाई एमाले आवश्यक रहेकोले घरमै फर्किएको बताएका हुन् । ‘नेकपा एमाले एउटा विशाल घर हो । घरमा कहिले काहीँ सामान्यतया छिमेकी प्रबेश गरेर हस्तछेप गर्न खोज्दा सामान्य बिचलन आउँछ तर त्यो बिचलन क्षणिक हुन्छ । त्यस्तो गलत प्रचारमा नलाग्न र आफू धुलो टक्टक्याउँदै पुरानै अवस्थामा र पुरानै कमिटीमा रहेको जानकारी गराउँदछु ।,’ ढुंगानाले भने ।
एमाले ६ नम्बर वडा अध्यक्ष दुव प्रसाद खतिवडाको सभाध्यक्षता तथा एमाले बागमती प्रदेश कमिटी सदस्य नवराज तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला सदस्य बिदुर हुमागाईं, एमाले जिल्ला सदस्यहरु मेम्बर लो, ६ नम्बरका वडा अध्यक्ष तथा जिल्ला सदस्य टिका प्रसाद दाहाल, कृष्णबहादुर थिङ, श्याम ढुंगाना, एमाले गाउँकमिटी सचिव नानिराम तिमल्सिना, अनेरास्ववियु मकवानपुरका सचिव पुष्पकर तिमल्सिनालगायतकाको आतिथ्यता रहेको थियो ।