मकवानपुरगढीले जित्यो जिल्लास्तरीय भलिबलको उपाधि
थाहा– जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकामा भएको बिनयबाबु बस्नेत स्मृति रनिङशिल्ड जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि मकवानपुरगढीले जितेको छ ।
जिल्लाभित्रका १७ वटा टिमबीच भएको प्रतिस्पर्धाबाट मकवानपुरगढी गाउँपालिकाको आमभन्ज्याङ युवा क्लब जिल्लाकै अब्बल ठहरिएको हो ।
थाहा–२ स्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा मकवानपुरगढीले आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानलाई २५–१८, २६–२४, १५–२५, २७–२५ को सेटमा पराजित गर्न सफल बन्यो ।
रनिङशिल्ड, मेडल र प्रमाणपत्रसहित मकवानपुरगढीले ५१ हार ५१ रुपैयाँ नगदपनि हात पारेको छ । उपविजेतामा चित्त बुझाएको आयोजक प्रतिष्ठानले २६ हजार २६ रुपैयाँमा पायो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी मकवानपुरगढीका बिशाल गोपाली, उत्कृष्ट स्पाइकर आयोजकका सबिन कार्की, उत्कृष्ट सेटर मकवानपुरगढीका अजय माझी, उत्कृष्ट ब्लकर आयोजकका मनिश लामा, उत्कृष्ट डिफेण्डर मकवानपुरगढीका रोशन गोपाली, उत्कृष्ट प्रशिक्षक मकवानपुरगढीका रञ्जन अमात्य, उदयमान खेलाडी मकवानपुरगढीका अमृत तिमल्सिना घोषित भए ।
आफ्नो गाउँपालिकाको टिम जिल्लास्तरीय भलिवलको फाइनलमा पुगेपछि मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं थाहा नगर पुगेका थिए । खेलाडीको मनोबल बढाउनका निम्ति आफू थाहा पुगेको भन्दै अध्यक्ष हुमागाईंले खेलाडीहरुले उपाधि जितेर पालिकाको नाम राखेको बताए ।
‘हाम्रा खेलाडीहरुले जिल्लामै आफ्नो क्षेत्रको नाम राखेका छन् । उनीहरुको खेल विकासका निम्ति गाउँपालिकाले यसअघि धेरै काम गरेको छ । अबपनि त्यसमा कमि हुन दिने छैन् ।,’ अध्यक्ष हुमागाईंले भने । उनले मकवानपुरगढीमै केही समयभित्र जिल्लास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् ।
बिनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाले १६ कार्तिकदेखि प्रतियोगिता सुरु गरेको थियो । प्रतियोगिता समापन समारोहकै क्रममा शिक्षा तथा खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका जनकल्याण माबि पालुङका प्रधानध्यापक सानोभाई कार्कीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
नेकपा एमाले थाहा नगर कमिटी अध्यक्ष अच्युतम प्रसाद ढकालको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभाध्क्षतामा भएको प्रतियोगिता समापन समारोहमा विशिष्ट अतिथि मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं, थाहा नगरपालिका २ नम्बर वडाका वडाध्यक्ष गुप्तबहादुर कार्की, जनकल्याण माद्यमिक बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्की, भलिवल संघ मकवानपुरका निवर्तमान उपाध्यक्ष इन्द्रप्रसाद सञ्जेल, युवा नेता कुमार नेगीलगायतको आतिथ्यता थियो ।