गढीको पाँच नम्बर वडामा अस्थायी प्रहरी चौकी

हेटौंडा– मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङ्गमा अस्थायी प्रहरी चौकी राखिएको छ । वडा कार्यालयको पहलमा स्थापित अस्थायी प्रहरी चौकीको शुक्रबार उद्घाटन गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले चाबी हस्तान्तरण गर्दै प्रहरी चौकीको उद्घाटन गरेका हुन् । उनले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन प्रतिबद्ध रहेको बताए ।
महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो भवन प्रहरी चौकी राख्न उपलब्ध गराएको छ । सहकारीले २०५७ सालमा तत्कालिन गाउँ विकास समितिले दिएको एक कठ्ठा जग्गामा सहयोगबाट भवन निर्माण गरेको थियो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले गाउँमा भएका बिक्रीती विसंगतीको अन्त्य गर्नका लागि प्रहरी चौकीले महत्वपूर्ण काम गर्ने बताए ।
गाउँमै प्रहरी चौकी स्थापना भएपछि टोलटोलका किराना पसलमा बिक्री हुने घरेलु मदिराका कारण दिनहुँ हुने समस्याहरु अन्त्य हुने स्थानीय वासिन्दाहरुले विश्वास गरेका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष जितबहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौर, मकवानपुरगढी–६ का वडा अध्यक्ष टिका प्रसाद दाहाललगायतको आतिथ्यता थियो ।