बागमतीको मुख्यमन्त्रीमा पाण्डे पक्का, यस्तो बन्यो सहमति

संवाददाता
कार्तिक ४, २०७८

हेटौंडा–बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे बन्ने पक्का भएको छ । मख्यमन्त्रीमा दाबि गरिरहेको नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच सहमति जुटेपछि पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

बागमतीमा नेकपा (एस)लाई मुख्यमन्त्री दिने गठबन्धनको नेतृत्वबीच सहमती भएपनि कांग्रेसले पनि मुख्यमन्त्रीमा दाबी गरेको थियो ।

बागमतीमा कांग्रेस र नेकपा (एस)बीच मुख्यमन्त्रीमा विवाद भएपछि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु लम्बिएको थियो । बिहीवार हेटौंडामा भएको गठबन्धनको बैठकले पाण्डेलाई मुख्यमन्त्रीमा अगाडि बढाउने निर्णय गरेको छ ।

आज प्रदेशसभा बैठकमा अल्पमतको सरकार चलाइरहेकी शाक्यले विश्वासको मत लिने प्रक्रिया अगाडि बढेको छ । नेकपा (एस)का संसदीय दलका नेतासमेत रहेका पाण्डे मुख्यमन्त्री निश्चित भएको एक प्रदेश सांसदले शिलापत्रलाई जानकारी दिए ।

‘आज बसेको गठबन्धन बैठकले मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे ज्युलाई अगाडि बढाउने निर्णय गरेको छ । अब गठबन्धनबीच विवाद छैन् ।,’ नेकपा एस निकट स्रोतले भन्यो ।

मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पनि दाबी गरेका थिए । शेरबहादुर देउवा निकट मानिने बानियाँले मुख्यमन्त्रीमा दाबी नछोडेपछि आधा–आधा समय सरकार चलाउने गरी सहमती जुटेको एक प्रदेश सांसदले बताए ।

उनका अनुसार कांग्रेस र नेकपा (एस)बीच आधा–आधा समय सरकार चलाउने सहमतीमा नेताहरुले हस्ताक्षर गरेका छन् ।

बागमतीमा गठबन्धनका दल माओवादी केन्द्र, कांग्रेस र नेकपा (एस)ले मुख्यमन्त्री चयनका लागि हस्ताक्षर संकलन पनि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*