मकवानपुरमा भारतीय बुलेटबाट ग्यास चोरी, गिरोह नै संलग्न

संवाददाता
कार्तिक ३, २०७८

हेटौंडा– मकवानपुरमा भारतीय ग्यास बुलेटबाट ग्यास चोरी गर्ने मनहरीका होटल सञ्चालकसहित दुई चालक पक्राउ परेका छन् । खाना पकाउने ग्यास बोकेको बुलेटबाट मनहरीमा ग्यास चोरी हुने गरेको खुलेको छ ।

मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित एक होटलमा ग्याँस बोकेको बुलेट रोकेर घरेलु उपकरण प्रयोग गरी सिलिण्डरमा ग्यास भर्ने गरेको घटना प्रहरीले बाहिर ल्याएको छ । ग्यास चोरेर गाउँमा बिक्री गर्दै आएका मनहरीका व्यापारी ४३ बर्षीय भरत कार्की, दुईवटा बुलेटका चालक र बुलेटलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको छ ।

मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले २ कार्तिक बेलुका कार्कीको चिया होटलमा छापा हानेको थियो । प्रहरीले होटलबाट १८ वटा ग्यास नभरिएको र १३ वटा ग्यास भरिएका विभिन्न कम्पनीका सिलिण्डर बरामद गरेको छ ।

प्रहरीले बीच बाटोमै ग्यास झिकेर बिक्री गर्ने भारतीय बुलेट एनएल ०१ एन ०१३१ का चालक चुन कुमार र युपी ७० बीटी ९९९६ का चालक विपिन कुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

भारतीय बुलेट चालकहरुले कार्कीको पसलमा यसअघि पनि नियमित रुपमा ग्यास बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । चालकबाट प्रति सिलिण्डर एक हजारका दरमा खरिद गरेर होटल सञ्चालक कार्कीले एक हजार ३ सयमा गाउँमा बिक्री गर्दै आइरहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।

ती भारतीय बुलेटले पोखराको शक्ति ग्याँस उद्योग र धादिङको क्याप्सन ग्याँस उद्योगमा ग्यास लैजाँदै गरेका थिए । पक्राउ परेका तीन जनालाई नै चोरी सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी प्रहरीको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*