बागमतीमा एमालेको सत्ता लम्ब्याउने प्रपञ्च
हेटौंडा– अल्पमतमा परेपनि सरकारको आयु लम्ब्याउने नीति लिइरहेको नेकपा एमालेले बागमती प्रदेशसभा बैठक सार्न प्रदेशसभा सचिवालयलाई पत्र लेखेको छ ।
सत्ता लम्ब्याउने नयाँ चालको रुपमा एमालेले आफ्ना सांसद बैठकमा आउन नसक्ने कारण देखाउँदै ४ कार्तिकमा बोलाइएको प्रदेशसभा बैठकको समय हेरफेर गर्न बुधबार पत्र लेखेको हो । एमालेको संसदीय दल बागमती प्रदेशले प्रदेशसभाका सचिवलाई ६ कार्तिकमा हुने पार्टीको वडा र ९ कार्तिकमा हुने स्थानीय तहको अधिवेशनमा खटिनु पर्ने कारण देखाउँदै प्रदेशसभा बैठक सार्न आग्रह गर्दै पत्र लेखेको हो ।
एमाले बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले हस्ताक्षर गरी पठाएको पत्रमा एमालेका प्रदेशसभा सदस्यहरू बिहीबारका लागि बोलाइएको बैठकमा सहभागी हुन नसक्ने जनाइएको छ ।
‘पार्टीको वडा र स्थानीय तहको अधिवेशनमा पार्टीका आमकार्यकर्ता र जनप्रतिनिधिहरू होमिनु परेका कारण ४ कार्तिकमा सभामुखले बेलाउनु भएको प्रदेशसभा बैठकमा हाम्रो प्रदेशसभा सदस्यहरू उपस्थित हुन नसक्ने भएकाले आगामी कार्तिक ११ गतेकालागि सारिदिनुहुन अनुरोध गर्दछु’, पत्रमा उल्लेख छ ।
प्रदेशसभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि २४ असोजमा प्रस्ताव टेबुल गराएकी छन् । प्रस्ताव टेबुल गर्दै शाक्यले विश्वासको मत मागेपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक ४ कार्तिकमा डाकेका थिए । शाक्यले विश्वासको मत पाउने सम्भावना न्यून भएकाले पार्टी अधिवेशनसम्म सरकार लम्ब्याउने खेलमा एमाले लागेको विपक्षी दलका नेताहरूको आरोप छ ।
बिहीबार बस्ने बैठकमा शाक्यको प्रस्तावमाथि मत विभाजन हुने कार्यसूची रहेको थियो । बागमतीको गठबन्धनमा मुख्यमन्त्रीलाई लिएर एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच सहमति हुन नसकेपछि अष्टलक्ष्मी शाक्यको सत्ता यसअघि लम्बिएको थियो ।
२४ असोजमै सभामुख श्रेष्ठले बोलाएको सर्वदलीय बैठकमा दलहरूबीच दसैँपछि विश्वासको मत लिने सहमति बनेकाले शाक्य नेतृत्वको सरकारको आयु बढेको थियो । बागमतीमा सरकार बनाउन ५५ मत आवश्यक पर्छ । सत्तारुढ एमालेसँग ४३ मत मात्रै छ । माओवादी, कांग्रेस र एकीकृत समाजवादीको जोड्दा ५८ मत पुग्छ ।
प्रदेशसभामा माओवादीसँग २३, कांग्रेससँग २२ र एकीकृत समाजवादीसँग १३ मत छ । ७ दलको प्रतिनिधित्व रहेको प्रदेशसभामा विवेकशील साझा पार्टीसँग ३, राप्रपासँग २, नेपाल मजदुर किसान पार्टीसँग २ र एक स्वतन्त्र सांसद छन् । (शिलापत्रबाट साभार)