मकवानपुरगढीमा भलिवलः फाइनल पुगे नागरिक सचेत र बुढीचौर

हेटौंडा– स्थानीयस्तरबाट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजित मकवानपुरगढी गाउँपालिका स्तरीय दोस्रो रनिङशिल्ड भलिवल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
मकवानपुरगढी–६ डुम्रेकुनामा भइरहेको प्रतियोगितामा सोमबार भएको सेमिफाइनल खेलमा वडा नम्बर ७ को नागरिक सचेत र ८ नम्बर वडाको बुढीचौर क्लबले जित निकालेका छन् । भोली मंगलबार हुने फाइनल खेलमा नागरिक सचेत र बुढीचौर आमनेसामने हुने खेल संयोजक अशोक स्याङ्तानले जानकारी दिए ।
सोमबार भएको सेमिफाइनल खेलमा नागरिक सचेतले आमभञ्ज्याङ क्लबलाई २५–१८, १६–२५ र १५–१३ को सेटमा पराजित गर्दै फाइनल पुगेको हो ।
बुढीचौरले आयोजक सनराइज युथ क्लब (ए)लाई सोझो सेटमै हराएको छ । आयोजकलाई हराउँदै सहजै फाइनल यात्रा तय गरेको बुढीचौरले सुनराइजविरुद्ध २५–१९ र २५–२१ को सेटमा जित निकालेको हो ।
प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाले सहयोग गरेको छ । सनराईज युथ क्लव डुम्रेकुनाको आयोजनामा भएको प्रतियोगितामा गाउँपालिकाभरीका ९ वटा क्लबले प्रतिस्पर्धा गरेको आयोजक क्लबका सचिव स्याङ्तानले बताए ।
प्रतियोगिताको विजेताले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार शिल्ड, मेडल र प्रमाणपत्रमा पाउने छन् । प्रतियोगिताको उत्कृष्ट सटर, स्पाइकर, लिफ्टरलाई पुरस्कार प्रदान गरिने जनाइएको छ ।