बागमतीमा देशमै पहिलो पटक सूचना बैंंक स्थापना

हेटौंडा । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले नेपालमै पहिलो पटक सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा ल्याएको छ ।
बागमती प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट पाउन सक्ने गरी सूचना बैंक ल्याइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री अजयक्रान्ती शाक्यले सूचना बैंकको शुक्रबार शुभारम्भ गरेका छन् ।
सूचनाका उपभोक्ताले सूचना प्राप्त गर्न सम्बन्धित कार्यालयको वेवसाइट सर्च नपर्ने भएको छ । सूचना बैंकको पोर्टलमा जाँदा ती १४ वटै कार्यालयका वेवसाइटमा राखिएका सूचना पाउन सक्ने गरी बनाइएको छ ।
रजिष्ट्रार रेवती प्रसाद सापकोटाले बागमती प्रदेशका सबै कार्यालय र स्थानीय तहलाई यस सूचना बैंकमा जोड्नु पर्ने बताए ।
अहिले समेटिएका १४ वटै कार्यालयका सूचना वा दस्तावेजहरु सूचना बैंकको पोर्टलबाट नै डाउनलोड गर्न सकिने रजिष्ट्रार सापकोटाले जनाए । सुशासन र पारदर्शीताका लागि सूचना महत्वपूर्ण हुनेछ ।
नेपालको संविधानले प्रत्याभुत गरेको बिचार र अभिव्यक्तिको स्वतन्त्रता, सञ्चार एवं सूचनाको हक संरक्षण र सम्बर्धन गर्दैस प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ को दफा ५५ बमोजिम सूचना बैंक बनेको उनको भनाई छ ।
नागरिकसँग सरोकार राख्ने र सार्वजनिक महत्वको सूचनाहरु संकलन, भण्डारण र वितरण गर्न सूचना बैंक उपयोगी हुने उनले बताएका छन् ।