एकेडेमी खोल्न गणेश थापासँग भएको सम्झौता रद्द
हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले फुटबल एकेडेमी सञ्चालनका लागि गणेश थापासँग गरेको २५ लाखको सम्झौता रद्द गरेको छ ।
नगर प्रमुख हरिबहादुर महतले बिहीवार एकल निर्णयबाट सम्झौता रद्द गरेका हुन् । फुटबलको सर्वोच्च निकाय फिफाबाट भ्रष्टाचार अभियोगमा संलग्न रहेको भन्दै फुटबलसँग सम्बन्धित सबै गतिविधिबाट १० वर्ष प्रतिबन्ध खेपिरहेका पूर्व एन्फा अध्यक्ष थापालाई एकेडेमी खोल्न २५ लाख रुपैयाँ दिने सम्झौता गरेपछि चर्को आलोचना भएको थियो ।
उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र थापा आवद्ध नेपाल स्पोर्टस अर्गनाइजेसनसँग मंगलबार सम्झौता भएको हो । सम्झौता पत्रमा चौलागाईं र थापाको हस्ताक्षर रहेको थियो ।