आफ्नै आमासँग विवाह
हाम्रो समाजले आमालाई भगवानसरह मान्छ । कसैले आफ्नै आमासँग विवाह गर्यो भन्ने कुरा त कल्पनाभन्दा पनि बाहिरको कुरा हो ।
तर यो दुई महिलाबीचको असाधारण प्रेमकथा हो । फिलिसले उनकी समलिंगी साथी लिलियनलाई धर्मपुत्री बनाएकी थिइन् । उनीहरूको कथामा आउने कैयौँ मोडमध्ये यो एउटा थियो ।
सन् १९७१ मा महिलामुक्ति आन्दोलनको प्रारम्भिक वर्षमा क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक लिलियन फेडर्मनले केन्द्रकी प्राज्ञिक निर्देशक फिलिस इर्विनसँग सम्पर्क गरिन् ।
सुरुमा एउटा नयाँ शैक्षिक कार्यक्रम थाल्ने विषयमा कुराकानी भयो । यो आधा शताब्दीसम्म चल्ने एउटा प्रेमकथाको प्रारम्भिक बिन्दु पनि थियो । उनीहरूको कथामा आमाछोरीको सम्बन्ध र विवाहको कुरा पनि छ ।
लिलियन र फिलिसको भेट भएको बेलामा अमेरिकाका सबै राज्यमा एलजीबीटीक्यू अर्थात् समलिंगी र द्विलिंगीसँग भेदभाव गर्ने कानुनहरू थिए ।
क्यालिफोर्नियाले सन् १९७५ मा समलैंगिक सम्बन्धलाई अनुमति दिने कानुन पारित गरेको थियो । सो कानुन त्यसको एक वर्षपछि कार्यान्वयनमा आयो ।
बीबीसी विश्व सेवाको रेडियो कार्यक्रम आउटलुकलाई लिलियनले भनिन्, ‘हामी देशका लगभग सबै क्षेत्रमा अपराधी मानिन्थ्यौँ । अधिकांश समलिंगी महिला लुकेर बस्थे ।’ यद्यपि उनीहरू एउटा परिवार चाहन्थे । कानुनी द्विविधाका बीच उनीहरूले एउटा असामान्य समाधान निकाले ।
त्यस बेला झन्डै ५० वर्ष पुगेकी फिलिसले ३० वर्षजति पुगेकी आफ्नी समलिंगी साथीलाई कानुनी रूपमा धर्मपुत्री बनाइन् । त्यसले एउटा असामान्य स्थिति उत्पन्न गरायो ।
सन् २००८ मा जब क्यालिफोर्नियाले समलैंगिक विवाहलाई अनुमति दियो, लिलियन र फिलिसले विवाह गरे र जीवनसाथी बने । लिलियन हाँस्दै भन्छिन्, ‘मलाई लाग्छ, पृथ्वीमा अरू कोही पनि जोडीको तुलनामा हाम्रा कानुनी सम्बन्ध धेरै होलान् ।’
भेटघाट गर्न थाल्दा उनीहरूले समलिंगीका रूपमा आफ्नो परिचय खुलाएका थिएनन् । फिलिस भन्छिन्, ‘त्यस बेला हामीलाई थाहा थियो कि हामी मौन बस्नुपर्छ र आफ्नो जीवन व्यतित गर्नुपर्छ ।’ तर चाँडै नै विश्वविद्यालयका सहकर्मीहरूले दुई जनाबीच सम्बन्ध भएको शंका गरे ।
लिलियन भन्छिन्, ‘उनीहरू हामीलाई फिलियन र लिलिस भन्थे किनकि हामी सधैँ सँगै हुन्थ्यौँ ।’ ‘जब मैले महिला समलैङ्गिकताको इतिहासबारे किताब लेख्न सुरु गरेँ, त्यसपछि सबैलाई थाहा भयो कि हामी साथी समलिङ्गी साथी हौँ ।’
सन् १९७४ मा दुवै जनाले बच्चा जन्माउने निर्णय गरे । फिलिसभन्दा ११ वर्ष कान्छी लिलियन प्रजनन क्लिनिक गइन् । त्यस बेला विशेषतः एकल भनेर चिनिएका महिलाका लागि कृत्रिम गर्भाधारण गराउनु असामान्य कुरा थियो । तर लिलियनले चिकित्सकलाई सहयोग गर्न राजी गराइन् ।
त्यस बेलाको कुरा स्मरण गर्दै उनी भन्छिन्, ‘डाक्टरले मलाई यदि बच्चा चाहन्छ्यौ भने किन विवाह नगरेको भनेर सोधेका थिए ।’
मैले भनेँ, ‘म ३४ वर्षकी भएँ र म विश्वविद्यालयको प्राज्ञिक मामिलासम्बन्धी द्वितीय उपाध्यक्ष छु । धेरै पुरुषका लागि यो कुरा समस्या हुन सक्छ ।’
त्यसपछि चिकित्सकले कृत्रिम गर्भाधान गराए । त्यो सफल भयो । सन् १९७५ मा लिलियनले एउटा छोरा जन्माइन् । उनको नाम एभ्रम राखियो । उनी ती समलिंगी जोडीका एक्ला सन्तान हुन् ।
चाँडै नै उनीहरूले आफ्नो सम्बन्धको कानुनी सीमाबारे बुझे । लिलियन भन्छिन्, ‘हामीबीच कुनै पनि कानुनी सम्बन्ध छैन भनेर हामी चिन्तित थियौँ ।’
‘सबैभन्दा बढी चिन्ता केको थियो भने यदि एभ्रम बिरामी पर्यो तथा उसलाई फिलिसले अस्पताल लिएर जानुपर्यो भने उनी कानुनी रूपमा उसको अभिभावक थिइनन् ।’
लिलियन भन्छिन्, ‘तर मलाई केही भइहाल्यो भने बच्चामाथि उनको कुनै कानुनी अधिकार हुँदैन भनेर मलाई बढी चिन्ता परेको थियो ।’
त्यस बेला समलैंगिक जोडीसँग कृत्रिम गर्भधारण गराउने वा धर्मसन्तान राख्ने अधिकार पनि थिएन ।
फेरि उनीहरूले क्यालिफोर्नियाको एउटा कानुनबाट फाइदा लिने निर्णय गरे । उक्त कानुनअनुसार १० वर्ष उमेर अन्तर भएका एक वयस्कले अर्को वयस्कलाई धर्मपुत्र वा पुत्रीका रूपमा अपनाउन सक्थे ।
त्यसपछि फिलिस कानुनी रूपमा एभ्रमकी हजुरआमा बनिन् । दुवै जनाले यो निर्णय लिन विलम्ब गरेनन् । फिलिस भन्छिन्, ‘मैले त्यसलाई एभ्रमसँग कानुनी सम्बन्ध स्थापित गर्ने बाटोका रूपमा हेरेँ ।’
उनले ठट्टा गर्दै भनिन्, ‘हामीबीच ‘हाडनाता’ सम्बन्ध थियो ।’ लिलियन त्यस कुरालाई थप गभ्मीर रूपमा वर्णन गर्छिन्, ‘हामीले यसलाई कहिल्यै पनि अनौठो मानेनौँ, किनकि हामीले कहिल्यै पनि एकअर्कालाई आमा र छोरीका रूपमा हेरेनौँ । हामीले कानुनको उपयोग गर्न मात्र त्यसो गरेका थियौँ ।’
तर यी दुई महिलाले यो काल्पनिक सम्बन्धको प्रयोग कानुनी आवश्यकताभन्दा अघि बढेर पनि गरे । लिलियन भन्छिन्, ‘एभ्रम त्यस बेला जम्मिएको थियो जुन बेला समलिङ्गीहरूको परिवारका यस्ता धेरै बच्चा थिएनन् । तर ऊ फिलिस आफ्नी हजुरआमा हुन् भनेर सजिलै चिनाउन सक्थ्यो ।’
‘त्यसो गर्न एभ्रमका लागि सहज थियो । तर उसलाई फिलिस उसकी दोस्री आमा भनेर उसलाई राम्ररी थाहा थियो ।’ उनी जहिले पनि ‘फिलिस आमा’ भनेर नै बोलाउँथे । पैँतालीस वर्षीय एभ्रम अहिले पनि फिलिसलाई त्यसैगरी सम्बोधन गर्छन् ।
सन् २००८ मा जब क्यालिफोर्नियामा समलैंगिक विवाहलाई वैधानिकता दिन कानुन पारित भएको भोलिपल्टै लिलियन र फिलिसले विवाह गरे ।
तर धर्मपुत्रीको सम्बन्ध विधिवत् भंग भएको थिएन । त्यसैले उनीहरू आमा र छोरीको सम्बन्ध कायम भएको भए पनि बने । लिलियन भन्छिन्, ‘धर्मपुत्री बन्नु विशुद्ध कानुनी कुरा थियो । त्यसैले हामीले त्यसबारे धेरै सोचेनौँ ।’
तर धर्मसम्बन्धको कानुनी प्रक्रिया रद्द नगर्दा उनीहरूको विवाहले कानुनी मान्यता नपाउने उनीहरूले थाहा पाए । सो प्रक्रियालाई रद्द नगरी अमेरिकाका अन्य राज्यमा गए पनि कानुनी कारबाही पनि हुन सक्थ्यो ।
सन् २०१५ मा अमेरिकाको सबै राज्यमा समलैंगिक विवाहलाई वैधानिकता दिइयो । त्यसपछि एक वकिलले उनीहरूलाई धर्मपुत्री बनाउँदा अवलम्बन गरिएको कानुनी प्रक्रिया रद्द गरेर फेर विवाह गर्न सल्लाह दिए ।
उनीहरू त्यसै गरे ।
फिलिसले लिलियनसँग पुरानो सम्बन्ध रद्द गरेपछि एभ्रमलाई आफू उनको छोरा नभएको जस्तो लाग्यो ।फिलिसलाई उनले आफूलाई छोराका रूपमा अपनाउन आग्रह गरे । फिलिसले कानुनी रूपमै एभ्रमलाई धर्मपुत्र बनाएपछि परिवारमा रोमाञ्चक क्षण देखियो ।
पत्नी र छोरासहित एभ्रम दुई आमाको परिवारमा सम्मिलित भए । फिलिस भन्छिन्, ‘यो एकदमै विशेष थियो । किनकि त्यो छोरा जसलाई मैले पालेकी थिएँ, सानैदेखि खेलाएकी थिएँ, उसलाई म गर्भमा हुँदै कानुनी आमाका रूपमा अपनाउन चाहन्थेँ ।’
अन्ततः कैयौँ कानुनी उतारचढावपश्चात् यो विशेष परिवारलाई त्यो दर्जा मिल्यो जुन उनीहरू सधैँ चाहन्थे । बीबीसी