विश्वकै शक्तिशाली महिला, एन्जेला मर्केलले छोडेको छाप
बर्लिन । ६७ वर्षीया चान्सलर एन्जेला मर्केलको नेतृत्वमा जर्मनीको शक्ति र प्रभाव युरोपसहित पूरै दुनियाँमाझ निर्विवाद बढेको थियो । १६ वर्षपछि उनको कार्यभार अन्त्य हुँदैछ जसले कतै जर्मनीको सुनौलो युग अब सकिएको त होइन भन्ने प्रश्न धेरैको मनमा उठाएको छ ।
हालैको एक सर्वेक्षणमा युरोपेलीहरु जर्मनीको आगामी भविष्यबारे मर्केलको पालामा जति सुनिश्चित हुन नसकेको बताएका छन् । किनकी धेरैले मर्केललाई नै युरोप एकीकृत गराउने शक्तिका मान्ने गर्दछन् र युरोपेली युनियनमा जर्मनीकै नेतृत्त्वको अपेक्षा गरिरहेका छन् ।
केही विवादास्पद नीतिका वावजुद मर्केलले ठुल्ठूला संकटका समयमा जर्मनी, युरोप र धेरै हिसाबमा बाँकी दुनियाँलाई पनि अघि बढाएकी छन् । पश्चिममा प्रजातन्त्रमा यस किसिमको शासन कसैले पनि सोचेको थिएन ।
आफ्नो कार्यकालमा मर्केलले चरम आर्थिक मन्दीदेखि आप्रवासन संकट र विश्व महामारीलगायत विभिन्न ठूला समस्याको सामना गर्नुपर्यो । र, यी सबै कठिन समयमा उनको सफल नेतृत्त्वले पनि मर्केलको प्रभावशाली व्यक्तित्व स्पष्ट पार्दछ ।
उनी जर्मनीकी पहिलो महिला चान्सलर हुन् । र, विश्वकै सबैभन्दा शक्तिशाली महिलामा दश वर्ष लगातार शिर्ष स्थानमा रहँदै आएकी छन् । अफ्रिका होस् या एसिया वा मध्य पूर्व मर्केलले सधैँ महिला अधिकारवादी परियोजनाहरुलाई आफ्नो भ्रमणको मुख्य मुद्दा बनाउने गरेकी थिइन् ।
यसरी पछिल्लो १६ वर्ष पुरुषको बाहुल्यतायुक्त अन्तर्राष्ट्रिय सम्मेलनहरुमा उनले आफ्नै शैलीमा साहसीपूर्वक आफ्ना कुरा राखेको र उनीहरुरु सँगसँगै कदम अघि बढाएको पाइन्छ । यहाँसम्मकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका पुटिन सामुसमेत उनले आफ्ना कुरा स्प्ष्ट राखेर बेग्लै प्रभाव छाडेकी हुन् ।
सार्वजानिक सम्बोधन गर्दा सधैँ आफ्नो भाषण छोटो राख्ने गरेकी मर्केल बोलेरभन्दा गरेर जित्नमा विश्वास गर्छिन् । क्वान्टम रसायन शास्त्रमा डक्टोरेट हासिल गरेकी मार्केल राजनीतिमा आउनु अगाडि एक वैज्ञानिक थिइन् । स्कुल पढ्दा मर्केलले रुसी भाषा सिकेकी थिइन् र आफ्नो यो शीप पुटिनसँग कुरा गर्नमा पनि उनले प्रयोग गरेकी छन् । साथै उनले गणितमा पनि विभिन्न पुरस्कारहरु पाएकी छन् ।
बहुप्रतिभाशाली मर्केल दुनियाँकै लागि उदाहरणीय पात्र मानिन्छिन् । विशेषगरी युरोपेली युनियनको सफल सञ्चालनमा उनको भूमिका अतुलनीय रहेको बताइन्छ । यसकारण पनि त्यहाँ उनको स्थान फ्रान्सका राष्ट्रपति म्याक्रोन या नयाँ चान्सलरले सजिलै ग्रहण गर्न नसक्ने विज्ञहरु बताउँछन् ।
अबको लामो समयसम्म उनी जत्तिको प्रभावशाली, शक्तिशाली, विश्वसनीय मानिने लिडर प्राप्त गर्न नसकिने बताइइको छ । उनी जसरी राम्रोसँग सम्बोधन गर्ने, चुपचाप सम्झौताहरु मिलाउने र वैचारिक सहकर्मीहरुको लामो सूची भए पनि सबैसँग सहमति निर्माण गर्ने अनौठो कला अरु नेताहरुमा बिरलै देखिन्छ ।
बाह्रखरी डटकमको सहयोगमा