चोटका कारण मैदान बाहिर भएका विमल प्रशिक्षणमा फर्किए
काठमाडौं । चोटका कारण लामो समयदेखि मैदान बाहिर रहेका फरवार्ड विमल घर्तीमगर अभ्यासमा फर्किएका छन् । विमलले आजदेखि यू–२३ राष्ट्रिय टिमसँग प्रशिक्षण गरेका हुन् ।
कतारको दोहास्थित एस्पेटर अस्पतालमा गत फागुन २५ गते विमलको एसीएल चोटको शल्यक्रिया गरिएको थियो । चोटमुक्त भएर विमल शनिबार नेपाल फर्किएका हुन् । तथापि, यू–२३ टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले टिमसँग नभई व्यक्तिगत रूपमा उनले प्रशिक्षण गरेको बताए ।
‘फिजियो र डक्टरको निगरानीमा उनले व्यक्तिगत प्रशिक्षण गरिरहेका छन् । विमलले फिजिकल कन्ट्रयाक्ट नगरी प्रशिक्षण गरिरहेका छन् । त्यसका लागि मैले सहयोग गरिरहेको छु । उनी यू–२३ टिममा भने होइनन्, ’ बालगोपालले भने ।
कतारमा फिफा विश्वकप छनोट प्रतियोगिता खेल्नका लागि प्रशिक्षण गर्ने क्रममा विमल गत पुस पहिलो साता घाइते भएका थिए । त्यसपछि एन्फाको पहलमा कतार फुटबल संघको सहयोगमा विमलको शल्यक्रिया भएको हो ।
विमलले गत वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लबबाट खेलेका थिए । उनले लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रूपमा खेलेका थिए ।