महानायक, महानायिका, सुपरस्टारले भरिएको उद्योगमा नेपाली फिल्मको किन यस्तो बिचल्ली ?

संवाददाता
२०७८ आश्विन ११, सोमबार २३:१३

सामीप्यराज तिमल्सेना

सरकारले औपचारिक रूपमा हल खोलेको महिना दिन पुग्नै लाग्यो । बितेका डेढ वर्षसम्म हल बन्द हुँदा हल व्यवसायीले महिनाको एक अर्ब रुपैयाँभन्दा ज्यादा घाटा बेहोरे । सरकारले महिना दिनअघि हल खोल्ने निर्णय गरे पनि काठमाडौँबाहिरका धेरै जिल्ला प्रशासनले हल खोल्ने अनुमति नदिँदा हलहरूको छाता संगठन नेपाल चलचित्र संघले हल नखोल्ने जिद्धी गरेका छन् ।

हल खुल्नु वा नखुल्नुभन्दा चलचित्रकर्मीलाई हुनुपर्ने पिर हो— खुलेका हलमा कुन चलचित्र देखाउने र दर्शकलाई हलसम्म कसरी तान्ने ? तर, चलचित्रकर्मी अहिले यतातिर चिन्ता गर्नुको साटो नेतासँग भेटघाटको समय मिलाउन व्यस्त छन् ।

चलचित्रसम्बन्धी संस्थाका कतिपय अध्यक्ष नेताको घरदैलो चहारिरहेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भेट हुँदा सधैँ कि मन्त्रालय कि यिनै संघ–संस्थाका अध्यक्षले पक्का गरेका नेताको घरदैलोमा जाने हतारोमा हुन्छन् ।

कथंकदाचित हल खुले पनि दर्शक आउँछन् भन्ने विश्वास कसैलाई छैन । दर्शक बोलाउन कुनै न कुनै बलिउड फिल्मको सहारा नलिई उपाय छैन भन्नेमा पनि हरकोही विश्वस्त छन् । तर, नेतासँग फोटो खिचाउने रहरले हो वा अरु कुनै लोभले हो, संघ–संस्थाका प्रमुख कुनै लाभ नहुने यो म्याराथनबाट थाकेका छैनन् ।

जब नेपाली फिल्म अनिश्चित भविष्यको आहालमा पौडी खेलिरहेको छ, डुब्ने कि उत्रने टुंगो छैन ठीक यही समयमा अचम्मसँग उपाधिको रौँदालो सुरु भएको छ । आज एउटाले एउटा मान्छे च्यापेर फलानो उपाधि दिएको छ, भोलि अर्कोले ।

अनि उपाधि पाउनेको आत्ममुग्धता पनि कम हेर्न लायक छैन । उपाधिमा उनीहरूको मग्नता देखेर लाग्छ, यो उद्योग उनीहरू नभएको भए ठहरै हुन्थ्यो । तर यसरी उपाधि पाउनेहरू खास मौकामा भने देखिन्नन् वा देखिए पनि उनीहरूको उपस्थिति तत्कालीन संकट टार्न सक्षम छैन ।

कुरा पहिला महामारीपछिको । गत वर्ष ९ महिनापछि हल खुल्दा फिल्म क्षेत्रका हरकोहीले फिल्म खुलेसँगै रिलिज हुन लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को पोस्टर सेयर गर्दै दर्शकलाई हलसम्म आउन आग्रह गरे । तर, यो भिडमा थिएनन्, अपेक्षा गरेका दुई कलाकार, अभिनेता राजेश हमाल र अभिनेत्री करिष्मा मानन्धर ।

पहिला राजेश हमालको कुरा गरौँ । उनलाई प्राविधिकहरूको संस्था प्राविधिक संघले औपचारिक रूपमा महानायकको सम्मान दिएको थियो । यसले लकडाउनको समयमा पैदा गरेको भाँडभैलोको यहाँ चर्चा गरिरहनु आवश्यक छैन, जगजाहेर नै छ ।

तर, जसले उनलाई ‘महानायक’को सम्मान दियो, तिनको दैनिकी र चुलो बल्ने खबरमा राजेश हमाललाई किन चासो भएन, त्यसको जवाफ सायद राजेश हमालले नै दिन सक्छन् । उनले यो समयमा विदेशी शुभचिन्तकले दिएको पैसा बाँडे तर गोजीबाट एक सुको खर्च गरेनन् ।

जब केही पत्रकारले यो प्रश्न उठाए, उनले निको मानेनन् । यसको मतलब उनले पैसा बाँडेर देखाउनुपथ्र्यो भन्ने हैन, यो व्यक्तिगत रुचिको कुरा हो तर उद्योग यहाँसम्म ल्याएको क्रेडिट लिन खोज्ने हमालले हरेक संकटमा पर्दा पछाडि बस्ने शंकाको लाभ लिन सुहाउँदैन ।

फिल्म उद्योगलाई हैँसे गर्ने अवसरमा करिष्मा गयल हुन्छिन् भन्यो भने गलत हुन जान्छ तर अघिल्लो पटक करिष्मा गयल थिइन् । ९ महिनापछि रिलिज हुन लागेको फिल्ममा करिष्मा पनि जोडिएकी थिइन् । त्यो के भने करिष्माकी छोरी कविता मानन्धरले यही फिल्मबाट रजतपटमा डेब्यु गर्दै थिइन् । शिव श्रेष्ठ फिल्मका निर्माता थिए । तर, दुवैबीच के कुरामा खटपट पर्यो कुन्नि करिष्माले आफ्नै छोरीको फिल्म रिलिज हुँदा पनि हर्क मान्न सकिनन् । फिल्म हलबाट उत्रिएपछि फिल्मको गीत सार्वजनिक गर्दै बल्ल उनले लेखिन्, ‘अरुलाई दोष दिएर महत्वपूर्ण बनाउन चाहन्नँ तर बच्चा त राम्रो थियो ।’

यसको केही समयपछि यिनै करिष्मालाई एउटा कम्पनीले ‘महानायिका’को उपाधि दियो । उपाधि लेखिएको स्यासे पहिराउने काम गरे, राजेश हमालले । अर्थात् महानायकले महानायिकाको घोषणालाई लाहाछाप लगाउने काम गरे ।

आफ्नै उपाधिमाथि प्रश्न उठिरहेका बेला करिष्मालाई महानायिका घोषणा गर्न सहर्ष उपस्थित हुने हमालको कदमले उनी यो उपाधिका लागि मरिहत्ते गर्छन् भन्ने प्रमाणित गरेको छ । आफ्नो उपाधिलाई लिएर यत्रोविधि विवाद हुँदा पनि ‘भो मलाई यो उपाधि’ चाहिँदैन भनेर भन्न नसक्ने हमालको हिम्मत त छँदै छ ।

हामी बरु रतिक्रिडाविना बाँचौँला आत्मरतिविना बाँच्न गाह्रो छ । यो आत्मरतिको रोगले सिनेमा, संगीत, साहित्य, राजनीति कतै पनि छाडेको छैन ।
उपाधि बाँड्ने शृंखला चलिरहँदा केही दिनअघि मात्र भुवन केसी र शिव श्रेष्ठले गौरी मल्ललाई पनि ‘महानायिका’ घोषणा गरिदिए । एउटा फिल्मको गीत सार्वजनिक कार्यक्रममा भेला भएका दुवैले गौरी असली महानायिका भएको दाबी प्रस्तुत गरे ।

आफूभन्दा सिनियर दुवै हिरोको घोषणाले गौरी मल्ल बिलखबन्दमा मात्र परिनन्, उनले आफूलाई उपाधि हैन काम दिन आग्रह गरिन् । गौरी मल्ल पहिलो अभिनेत्री होलिन्, जसको अनुहारमा उपाधि पाउँदा हर्क थिएन, विस्मात् थियो । त्यसो त यो महानायिकाको उपाधि रेखा थापाले पनि पाउँदै आएकी छिन् ।

महानायक, महानायिका मात्र होइन नेपाली फिल्म उद्योगमा सुपरस्टार, एक्सन किङ, सदाबहादर नायक, रियल स्टार, मेगास्टार आदि अनेक उपाधिधारी हिरो÷हिरोइन छन् । एउटाले एउटालाई उपाधि दिएको छ, अर्कोले त्यही उपाधि फेरि अर्कोलाई दिएको छ । तर जब भयंकर उपाधिधारी हिरोको फिल्म शुक्रबार रिलिज हुन्छ, पहिलो सोमा नै दर्शक नआएर बिचल्ली हुन्छ ।

यो लेख उहाँहरूले पाउने यस्ता अनेक उपाधिको विरोधका लागि हैन । संघ–संस्थाका प्रतिनिधिले नेताको घर–दैलो चहारेको याचक दृश्यका खातिर लेखिएको हो । आफ्नो बुतामा हल खोल्न नसक्ने, उद्योग चलाउन नसक्ने हामीले कुन मुटुले महानायक, महानायिका, स्टार, सुपरस्टार जस्ता उपाधि दिन÷लिन तँछाडमछाड गरिरहेका छौँ ? यो प्रश्नले सताएर लेखिएको हो ।

उपाधि नै उपाधिले भरिएको नेपाली सिने क्षेत्र आखिर किन नेताको शरणमा परिरहेको छ ? एकतिर महान् हिरो नै हिरो, अर्कातिर बलिउड फिल्म नेपालमा रिलिज भए हुन्थ्यो भन्ने हल सञ्चालकको व्यक्त चाहना ।

२०२२ सालमा ‘आमा’को पहिलो प्रदर्शनलाई हिसाब गर्ने हो भने नेपाली फिल्मले ५५ वर्षे यात्रा पूरा गरेको छ । पहिलो वर्षदेखि अहिलेसम्म पनि सक्रिय हुने यो पुस्ताका कलाकार अहिले पनि सक्रिय छन् । आफ्नो बलमा दर्शक हलमा बोलाउन सक्ने ह्याउ अहिले यी कुनैमा छैन । तर, जब उपाधि लिने बेला हुन्छ यो पुस्ता सगरमाथा चढ् भन्यो भने पनि कन्दनी कस्न बेर लाउँदैन । अहिले उपाधि लिने–दिने मुग्धताले कमसेकम यही संकेत गर्छ ।

तर दुःखान्त दृश्य के छ भने महामारीपछि हल खुल्दा कुनै फिल्म चलाएर दर्शक बोलाउने हिम्मत कुनै उपाधिधारीमा छैन । चाहे त्यो रियल स्टार होस् वा मेगास्टार ।
उपाधि आफैँमा मूर्त कुरा हैन । लिने र दिनेको ओजले यसको गरिमा रहन्छ । यहाँ न दिनेको प्रतिष्ठा छ, न पाउनेले त्यो प्रतिष्ठा कायम गर्न सकेका छन् । यो कुरा बताउन धेरै उदाहरण दिइरहन पर्दैन । उपाधिधारीले खेलेको वा बनाएका फिल्म हेर्दा नै छर्लङ्ग हुन्छ ।

दक्षिण एसियामै हामीभन्दा पछि फिल्म बनाउन थालेका भुटान र बंगलादेशले फिल्म उद्योगलाई कहाँबाट कहाँ पुर्याइसके । तर हाम्रा महानायक–महानायिकाका वा सुपरस्टारका फिल्मले नेपाललाई विश्वमा चिनाउनु त परको कुरा १० मिनेट दर्शक टिकाउन सक्दैनन् । आफूले काम गरेको विधामा यति धेरै असफल मानिसलाई नै अनेकथरी उपाधि चाहिने किन ? दिइने किन ?

उपाधिको आत्मरतिमा रमाउने रोग सिनेमामा मात्र हैन, समाजका हर क्षेत्रमा छ । राजनीति होस् वा साहित्य कोही पनि यो आत्ममुग्धताको जालबाट मुक्त छैनन् । समाजवादी चिन्तक प्रदिप गिरिले एक अन्तर्वार्तामा भनेका छन्, ‘जुन समाजलाई नायक चाहिन्छ, त्यो अभागा समाज हो ।’

राजनीतिमै पनि लौहपुरुष, महामानव, राजनेता, जननेता जस्ता अनेक उपाधिले सुशोभित नेता थिए÷छन् । तर आज अवस्था यस्तो छ कि हामी दक्षिण एसियामा उत्तर कोरियापछि सबैभन्दा गरिब देशका रूपमा विश्व मानचित्रमा अंकित छौँ ।

ग्लोबलाइजेसनको युगमा हाम्रो पासपोर्ट हेर्दाहेर्दै पुछारबाट अगाडि आउने भइसकेको छ । तर हामीलाई समृद्धिको सपना देखाएर झन् झन् गरिबीमा धकेल्ने निकम्मा नेतालाई राजनेता भन्दै ‘आइ लभ यु’ भनेर संसार जितेको महसुस गरिरहेका छौँ ।

राजनीति मात्र होइन, नेपालमा परजीवी समाजसेवीको पनि बेग्लै स्वाङ छ । परजीवी, मतलब अर्काको खाएर समाजसेवा गर्ने । यस्ता सहस्र समाजसेवीको बीचमा यो नेपाल स्वर्ग भइसक्नुपर्ने । अझ घोषणा गरेका जति मिस नेपालले समाज सेवा गरेको भए, यो देश स्वर्ग भइसक्थ्यो तर हालत यस्तो छ कि हामीलाई ‘स्वर्गीय’वाला फिलिङ आउँछ ।

उपाधि र पुरस्कार बाँड्ने मामिलामा नेपाली साहित्य सबैभन्दा अगाडि छ । नेपाली साहित्यमा पनि यति धेरै उपाधि छन् कि तिनले दिए/पाएका उपाधिले थोरै मात्र आफ्नो नाम सार्थक पार्थे भने नेपाली साहित्यले बुकर त के नोबेल नै पाइसक्थे । तर नेपाली साहित्यको अवस्था दिनानुदिन सप्रने हैन, बिग्रने बाटोमा छ ।

नेपाली साहित्यमा महाकवि नै चार–चार जना छन् । त्यसबाहेक जनकवि केशरी, जनकवि, राष्ट्रकवि, मुक्तक साम्राज्ञी, युवा कवि, युवक कवि, आँसुकवि यस्तै यस्तै । तर नेपाली साहित्य सधैँ आँसुु चुहाइरहेको छ ।

व्यापारी र तस्करको आत्मकथा हेर्दा लाग्छ, वराह अवतारले पृथ्वीलाई समुद्रमा बच्नबाट जोगाए जस्तो नेपाललाई यिनीहरूले थामेका छन् । यस्तो लाग्छ, हाम्रो राष्ट्रिय चरित्र भनेकै आत्मरति हो । हामी बरु रतिक्रिडाविना बाँचौँला आत्मरतिविना बाँच्न गाह्रो छ । यो आत्मरतिको रोगले सिनेमा, संगीत, साहित्य, राजनीति कतै पनि छाडेको छैन ।

यसको परिणाम जे छ, हाम्रो अगाडि छ । आत्मरति छाडेर कहिले हामी कवि लेखनाथ पौड्यालले भनेझैँ ‘फलेको वृक्षको हाँगो निहुरिन्छ निरन्तर’ भनेझँै नुहने ? आफ्नो कर्मले निहरिनुभन्दा उपाधिको भारी पगरीले शिर नुहाएको दृश्य यहाँ हेर्न लायक छ ।

तिमल्सिनाले लेखिएको विचार इकागजबाट साभार गरिएको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*