घट्यो हेटौँडा सिमेन्टको मूल्य

संवाददाता
अशोज ११, २०७८

काठमाडौं । गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा ४७ रुपैयाँ घटाएर सात सय २ रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए ।

यसअघि प्रतिबोरा ७ सय ४७ रुपैयाँमा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौँडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँको मूल्य पनि घटाइएको उद्योग प्रशासनले जनाएको छ ।

उद्योगले आफ्नै खानीबाट चुनढुङ्गा, रातो माटोलगायत कच्चापदार्थमार्फत सिमेन्ट उत्पादन गर्दै आए पनि गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकी घाटामा गएको थियो ।

लामो समयदेखि उद्योगको उपकरण जीर्ण भएर पटक(पटक बिग्रिनाका साथै विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकिएको उद्योगका प्राविधिकको भनाइ छ ।

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न पटक(पटक योजना र कार्यक्रम ल्याइए पनि कार्यान्वयनमा समस्या हुने गरेको उद्योगका प्राविधिक बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*