बागमती प्रदेश ‘साक्षर प्रदेश’ घोषणा

संवाददाता
अशोज ११, २०७८

हेटौंडा । बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको । सोमबार बागमतीलाई देशकै पहिलो साक्षर प्रदेशका रुपमा घोषणा गरिएको हो ।

बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेकी हुन् । शाक्यले साक्षर बागमती प्रदेश घोषणा २०७८ लेखिएको स्तम्भ पनि अनावरण गरेकी छन् । हेटौंडा–१० स्थित सामाजिक विकास मन्त्रालय परिसरमा स्तम्भ निर्माण गरिएको थियो । शाक्यले मन्त्रालय परिसरमा शिक्षाको प्रतिकका रुपमा १३ वटा विरुवा पनि रोपेकी छन् ।

गण्डकी प्रदेशले देशमै पहिलो साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेका बेला बागमतीले पहिल्यै घोषणा गरेको हो । प्रदेशभित्र बसोबास गर्ने १५ देखि ६० उमेर समूहका नागरिकहरुको साक्षरता प्रतिशत ९५ भन्दा माथि भएकाले साक्षर प्रदेश घोषणा गरिएको सामाजिक विकास मन्त्री विजय सुवेदीले बताएका छन् । प्रदेशमा १५ लाख ८८ हजार ८ सय २२ जना साक्षर भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्षर संख्या प्रतिशतमा ९७ दशमलव २२ छ ।

बागमतीमा अब ४५ हजार ३ सय ४५ जना निरक्षर रहेको शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक चन्द्रप्रसाद लुइटेलले जानकारी दिए । निर्देशनालयका अनुसार प्रदेशका १३ जिल्लामध्ये ललितपुरमा सतप्रतिशत साक्षर छन् । धादिङमा ९८ दशमलव ४०, मकवानपुरमा ९८ दशमलव ९७, चितवनमा ९७ दशमलव ५०, नुवाकोटमा ९८ दशमलव १९, भक्तपुरमा ९६ दशमलव ७० प्रतिशत साक्षरता रहेको छ ।

यसैगरी रामेछापमा ९६ दशमलव ४०, सिन्धुलीमा ९९ दशमलव १३, रसुवामा ९६ दशमलव २९, काभ्रेपलान्चोकमा ९६ दशमलव ४८, काठमाडौंमा ९६ दशमलव ८८ र सिन्धुपाल्चोकमा ९७ दशमलव ६८ प्रतिशत साक्षरता रहेको निर्देशक लुइटेलले जानकारी दिए । उनका अनुसार कम साक्षरता दोलखामा छन् ।

दोलखामा साक्षरता प्रतिशत ९५ दशमलव ३७ प्रतिशत छ । प्रदेश सरकारले प्रदेशभित्र बाँकी निरक्षरलाई साक्षर बनाउन जीवन र जगतको बोध, दैनिक जीवनका सीपको विकास र ज्ञान प्रस्फुटनको लागी विश्वव्यापी, ज्ञान, सीप, प्रविधि र सिकाइमा रहेर साक्षरता बनाउनपर्ने औंल्याएको छ ।

गत असोज ४ गते काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरेसँगै प्रदेशलाई साक्षरता घोषणा गरिएको हो । प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोक पहिला साक्षर जिल्ला घोषित भएको थियो । घोषणसभामा बागमतीका १३ जिल्ला समन्वय समिति साक्षरता अभियानमा अतुलनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।

साभारः शिलापत्र डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*