गाउँपालिकाले नदीजन्य पदार्थको जरिवाना काट्न थालेपछि प्रहरी भयो ‘बाठो’

संवाददाता
अशोज ९, २०७८

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले नदीजन्य पदार्थको जरिवाना काट्दा ढुङ्गा, गिट्टी, वालुवा बाकेर लोथर सम्म पुगेका सवारीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले शनिवार मात्र ५० वटा सवारी नियन्त्रणमा लिएको छ । असार, साउन र भदौ महिनामा खोलामा नदीजन्य पदार्थ उत्खनन् गर्न बञ्चित भएपनि मनहरी गाउँपालिकाबाट ढुङ्गा, गिट्टी, वालुवाको चोरी निकासी भइरहेको थियो ।

चोरी निकासी व्यापक हुँदा कानमा तेल हालेर बसेको मकवानपुर प्रशासन अहिले जरिवाना काटेपछि टिप्पर नियन्त्रणमा लिन थालेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । दुइमहिना सम्म दिनरात नभनी खोलाको ढुङ्गा, गिट्टी, वालुवा चोरै भइरहेको थियो ।

राजमार्गका ठाउँठाउँमा बसेका प्रहरी रमिते बने । तर, चोरी, निकासीलाई रोक्नका लागि गाउँपालिकाले टिप्पर, ट्याक्टरबाट जरिवाना रकम लिन थालेपछि मनहरी प्रहरीले लोथरमा नियन्त्रणमा लिएको हो ।

मकवानपुर प्रशासन र प्रहरीको मिलेमतोमा मनहरीसहित हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, बकैयाँ गाउँपालिकामा चोरी नियन्त्रण हुन सकेको थिएन् ।

अन्य समयमा ढुङ्गा, गिट्टी, बालुवा बोकेका सवारी आउने वित्तिकै नदेखेझै गर्ने इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी शनिवार दिनभर गाउँपालिकाले जरिवाना काटेको सवारीका साधन नियन्त्रण गर्न व्यस्त भएको थियो ।

दिनमा दर्जनौ टिप ढुङ्गा, गिट्टी, वालुवा मनहरीबाट चोरी भएर निकासी हुँदा प्रहरीले एक दिनपनि पक्राउ गरेर गाउँपालिकालाई नबुझाएको पाइएको छ । तर, गाउँपालिकाले अबैध सामानको जरिवाना गर्न पाउने नियम हुँदा हुँदैपनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

२६ वटा सवारीसाधन ढुङ्गा, गिट्टी, वालुवा लिएर मनहरी गाउँपालिका अन्तरगतका खोलाबाट चोरी गरेर इलाका प्रहरी कार्यालयका प्रहरीले पक्राउ गर्नुको सट्टामा मिलेमतोमा छोडिदिएपछि सुनाचुरीमा गएर मात्र गाउँपालिकाले जरिवाना काटेको थियो । तर, जरिवाना काटेको रसिद देखेपछि प्रहरीले पक्राउ गरेको हो ।

ढुङ्गा, गिट्टी, वालुवाको चोरी धेरै बढेको भन्दै जिल्ला समन्वय समिति मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, आरक्ष लगायतलाई पत्र पठाएर मात्र जरिवाना लिन सुरु गरेको अध्यक्ष उप्रेतीले बताए ।

ढुङ्गा, गिट्टी, वालुवाको जरिवाना काटेपछि त्यो माल पठाउन नमिल्ने भएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले बताए ।

‘गाउँपालिकाले चोरी निकासी भएको ढुङ्गा, गिट्टी, वालुवाको जरिवाना मात्र काट्ने भन्दा पनि सामान पनि जफत नगरेकाले नियन्त्रणमा लिइएको हो । अब यो सामग्री गाउँपालिका वा जिल्ला समन्वय समितिलाई बुझाउँछौं ।’ एसपी राठौरले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*