नागरिक स्टक डिलरले हाइड्रो र बीमा कम्पनीको सेयर कारोबार गर्न नपाउने, छानिए ३९ कम्पनी

संवाददाता
चैत्र १०, २०७७

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले हाइड्रो पावर र बीमा कम्पनीहरुको सेयर किनबेच गर्न नपाउने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलबार नागरिक स्टक डिलरले किनबेच गर्न पाउने कम्पनीहरुको सूचि सार्वजनिक गरेको छ । नेपालकै पहिलो स्टक डिलर कम्पनी नागरिक स्टक डिलरले ३९ कम्पनीहरुको सेयर डिलरले किनबेच गर्न पाउनेछ तर त्यसमा हाइड्रो र बीमा कम्पनी भने परेका छैनन् ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलबार नागरिक स्टक डिलर कम्पनीका लागि कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गर्दै ३९ कम्पनीको सूचि थमाईदिएको हो । नेप्सेका अनुसार नागरिक स्टक डिलरले २६ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त, नेपाल टेलिकम र तारागाँउ रेजन्सी होटलको मात्रै सेयर कारोबार गर्न पाउनेछ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले तोकिएको मापदण्ड पुरा नभएकाले हाइड्रो र बीमा कम्पनीहरुलाई स्टक डिलरको कारोबार सूचिमा समावेश नगरिएको बताए । ‘स्टक डिलर मार्फत सेयर कारोबारका लागि सूचिकृत कम्पनीहरुलाई केहि मापदण्ड बनाइएको छ, ती मापदण्ड पुरा नगरेकाले बीमा र उर्जा कम्पनीहरु सूचिमा नपरेका हुन’, सिइओ साउँदले सिंहदरबारसँग भने । उनले समय समयमा त्यस्तो सूचि पुनरावलोकन हुने बताउँदै भने,‘मापदण्डमा पुर्याउने कम्पनीहरु थपिँदै जानेछन्, मापदण्ड पुरा गर्न नसकेका कम्पनीहरु सूचिबाट हट्दै जानेछन ।’

नेप्सेले धितोपत्र व्यापारी कार्यसंचालन सम्बन्धी कार्यविधि २०७७ अनुसार कम्पनीको सूची तयार पारेको जनाएको छ । नेप्सेका अनुसार बीमा कम्पनी, उत्पादन तथा व्यापार समुहका अन्य कम्पनीहरुको सेयर पनि डिलरले किन्न पाउने छैन् । कार्यविधिमा विगत ३ वर्षदेखि नाफामा रहेको, लगानीकर्ताको संख्या कम्तिमा १० हजार नाघेको, चुक्ता पूँजी २० करोड रुपैयाँ भन्दा बढी भएको विगत एक वर्षको कारोबार दिनमध्ये कम्तिमा ८० प्रतिशत दिनमा कारोबारको भएको हुनेपर्ने व्यवस्था छ ।

सेयर बजारको अनावश्यक उतारचढावलाई रोक्नका लागि डिलरको स्थापना गरिएको हो । यसले बजार धेरै घट्दा सेयर किनेर लगानीकर्ताको मनोबल बढाउने काम गर्छ भने बजार धेरै बढ्दा आफुसँग रहेको सेयर बेचेर बजारलाई नियमित गर्नेछ । डिलरको अधिकृत पूँजी १० अर्ब रुपैयाँ, चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ । डिलरले चुक्तापूँजीको ६ गुणासम्म कर्जा सापटी लिएर दोस्रो बजारमा परिचालन गर्न पाउने व्यवस्था छ । यसका आधारमा ५ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले ३५ अर्बसम्म लगानी पाउने देखिन्छ ।

डिलर कम्पनीमा नागरिक लगानीकोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*