लण्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको बण्ड जारी गर्दै निफ्रा,लाभांश क्षमता १० प्रतिशत

संवाददाता
चैत्र १, २०७७

काठमाडौं । नेपाल इनफ्रास्टक्चर बैंकले लण्डन स्टक एक्सचेञ्जमा बण्ड जारी गर्ने भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लण्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बण्ड जारी गर्न लागेको बताए ।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले भने–‘चालु आर्थिक वर्षभित्रै लण्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने गरि ३० मिलियन डलरको बण्ड जारी हुँदैछ, नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाईसकेका छौं’, सिईओ खतिवडाले भने । उनले सो बण्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने पनि जानकारी दिए । लण्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरि बण्ड जारी हुने पनि उनले जानकारी दिए ।

पाँच वर्षे अवधीको सो बण्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने पनि उनले जानकारी दिए । उनले निफ्रामा रणनीतिक साँझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको छ । ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उनले स्पष्ट पारे । ‘यो दीर्घकालिन प्रकृतिका पुर्वाधारमा लगानी गर्ने बैंक हो, एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौं’, सीईओ खतिवडाले भने ।

उनले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यस सम्बन्धी प्रक्रिया भने अघि नबढेको बताए । निफ्राले बैंक तथा वित्तिय संस्थाहरुका लागि पनि बण्ड जारी गर्ने तयारी गरिरहेको छ । बाणिज्य बैंकहरुले त्यस्तो बण्ड खरिद गर्दा पुर्वाधारमा लगानी गरेको गणना हुने गरि बण्ड तयार गरिएको छ । त्यस्तै, इन्स्योरेन्स बण्डका बारेमा पनि छलफल अघि बढाएको छ । इन्स्योरेन्स कम्पनीहरुले त्यस्तो बण्ड खरिद गर्दा पुर्वाधारमा लगानी गरे बराबर मान्यता दिइनेछ ।

बिशेष गरि जीवन बीमा कम्पनीहरुका लागि इन्स्योरेन्स बण्ड केन्द्रित हुनेछ । नाफिज संवादमा अध्यक्ष मोदनाथ ढकालले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि साप्ताहिक रुपमा संवाद कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*