परिकल्पनाको ४६, अध्ययनको २६ र काम सुरू भएको १६ वर्षपछि काठमाडौं आइपुग्यो मेलम्चीको पानी

संवाददाता
फाल्गुन २२, २०७७

काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौंको आइपुगेको छ । सिन्धुपाल्चोकबाट सुरूङमार्फत् ल्याइएको पानी शनिबार सुन्दरीजलमा खसेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बटम दबाएर मेलम्चीको पानीलाई काठमाडौंमा प्रवाह गराए । काम सुरू भएको झन्डै १७ वर्षपछि पश्चिम सिन्धुपाल्चोक, मेलम्ची खोलाको पानी काठमाडौं आइपुगेको हो ।

मेलम्ची आयोजनाको परिकल्पना गरेको ४६ वर्ष पुगेको छ । यसको सम्भाव्यता अध्ययन भएको २६ वर्ष पुगेको छ । मेलम्ची खानेपानी आयोजना विकास समिति गठन भएको २० वर्ष पुगेको छ । त्यसयता मेलम्ची विकास समितिले आयोजनाको काम निरन्तर अगाडि बढाइरहेको थियो । तर, मन्त्री फेरिएपछि आयोजनाको कामले गति लिन सकिरहेको थिएन ।

मेलम्ची आयोजना सुरु भएपछि डेढ दर्जनभन्दा बढी खानेपानी मन्त्री बने । अध्ययन सुरू भएको २६ वर्षमा २३ जना मन्त्री भए ।

मेलम्ची आयोजना विश्व बैंकको सहयोगमा काठमाडौंको खानेपानी व्यवस्थापनका लागि सन् १९७२ मा अध्ययन भएको आयोजना हो । सन् १९९२ मा स्नो माउण्टेन इन्जिनियरिङ एण्ड कन्सल्ट्यान्टद्वारा सम्भाव्यता अध्ययन भई मेलम्ची नदी डाइभर्सन उत्तम विकल्पका रुपमा पहिचान भएको यस आयोजना कार्यान्वयनका लागि सन् १९९८ मा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । सन् १९९९-२००० मा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भई विद्युत उत्पादन तथा रिबर्मा सुन्दरीजल प्रशारण लाइनसहितको प्रस्ताव राखिएको र आयोजनाको तत्कालीन लागत ४६४ मिलियन अमेरिकन डलर रहेको थियो ।

आयोजनामा दातृ निकायहरु बीचको तालमेल तथा शर्तहरुको कारण विद्युत तथा प्रशारण लाइन हटाइएको थियो । सन् २००१ मा एसियाली विकास बैंकद्वारा १२० मिलियन अमेरिकी डलर बरावरको लगानी गर्ने गरी ऋण स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना सुरु भएको र कुल लागत अनुमान तत्कालीन अवस्थामा ४६४ मिलियन अमेरिकी डलर रह्यो ।

सन् २००५ मा नोराड, सिडा र विश्व बैंकले ऋण लगानीको प्रतिबद्धता फिर्ता लिएको हुँदा लगानीको अभाव हुन गई आयोजना कार्यान्वयनमा समस्या हुन गएको थियो ।

सन् २००८ सम्म आयोजनाका सहायक कार्यहरु जग्गा अधिग्रहण, पहुँच मार्गको निर्माण, क्याम्प साइट निर्माण लगायतका कार्यहरु सम्पन्न भएको र सन् २००८ पछि मात्र आयोजनाको हेडवक्र्स एवं सुरुङ्ग निर्माणको कार्य सुरु भएको हो । मेलम्ची आयोजना सन् २००५ मा एसियाली विकास बैंकको ऋण सम्झौताका सर्तअनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी महशुल निर्धारण आयोग तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड अध्यादेशमार्फत् खडा गरिएको आयोजना हो ।

सन् २००७ मा एसियाली विकास बैंकको ऋण सम्झौताको अवधि समाप्त हुन गएको र सोही कारण पुनःसम्झौता हुन नसक्ने अवस्थामा आयोजनालाई सन् २००८ मा पुनर्संरचना गरी सन् २००८ मा आयोजनाको दायरामा केही परिवर्तन गरेर आयोजना पुनर्संरचना गरी दुई भागमा बिभाजन गरियो । साथै, लागत अनुमान ३१७ मिलियन अमेरिकी डलर कायम हुन गयो । मेलम्ची खानेपानी आयोजना उप–आयोजना–१ को कुल लागत २४९ (संशोधित ३१२ मिलियन अमेरिकन डलर) तथा उप-आयोजना-२ को लागत ६८ मिलियन अमेरिकन डलर रहेको छ ।

सन् २००८ बाट सुरुङ्ग निर्माण कार्यको खरिद प्रक्रिया सुरु गरी जनवरी २००९ मा चाइनिज निर्माण व्यवसायीसँग सम्झौता भई अप्रील २००९ बाट परिचालन गरिएको तत्कालीन समयमा आयोजना सम्पन्न गरिने म्याद सेप्टेम्बर २०१३ रहेको थियो । निर्माण व्यवसायीबाट ठेक्का सम्झौताको प्रावधानअनुसार (ठेक्का अनुसारको ७८.६५५ समय व्यतित हुँदासम्म जम्मा १५.३५५ मात्र भौतिक प्रगति गर्न सकेको) निर्माण कार्य गर्न सम्पन्न हुनसक्ने अवस्था नरहेकाले २५ सेप्टेम्वर २०१२ मा ठेक्का सम्झौता रद्द गरिएको थियो ।

मेलम्चीको तत्काल बाँकी रहेको कार्यका लागि खरिद प्रक्रिया सुरु गरिएको र सन् २०१३ को जुलाई १५ मा निर्माण व्यवसायी सिएमसी डि रेभेनासँग सन् २०१६ को सेप्टेम्बर सम्ममा बाँकी कार्य सम्पन्न गर्ने गरी रु. ७ अर्ब ७२ करोड (भ्याट बाहेक) मा ठेक्का सम्झौता भएका थियो । तर, सिएमसी कम्पनी आर्थिक रुपमा टाट पल्टिएपछि सन् २०१८ डिसेम्बर २१ मा कम्पनीले काम छोडेर भागेको थियो । त्यसपछि सिएमसीसँग मेलम्ची बोर्डले आयोजनाको धरौटी रकम जोगाउन ठेक्का सम्झौता तोड्ने निर्णय गर्‍यो ।

ठेक्का सम्झौता तोडिएपछि मेलम्ची आयोजना विकास समितिले चीनको सिनो हाइड्रोसँग पुनः ठेक्का सम्झौता गरेर काम अघि बढायो ।

पानी काठमाडौं आइपुग्नासाथ काठमाडौं उपत्यकामा मेलम्ची पानीको प्रारम्भिक वितरण सुरु हुनेछ । पानी सुरुमा नयाँ र पुराना दुवै लाइनबाट वितरण गरिने छ । यसका लागि नयाँ तथा पुराना ट्यांकीहरुबाट पुरानो र नयाँ दुवै प्रणालीमा पानी प्रवाह गर्न सकिने गरी तयारी गरिएको छ ।
काठमाडौंको ढल निकासलाई दीर्घकालीन ढंगले हल गर्न केयूकेएलले सन् २०५० लक्षित गरी गुरु योजना तयार पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*