रैथाने बालीमा अनुदानले मकवानपुरगढीका किसानको उकासिएको जीवनस्तर

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–८ का बालनन्द तिमल्सिनाको जग्गामा विगतमा फापर राम्रो उत्पादन हुन्थ्यो । स्वास्थ्यका दृष्टिकोणले लाभदायक भए पनि उनले बिक्रीमा उचित मूल्य पाएनन् ।
बिहान–बेलुका मुख जोर्नकै लागि मूरी किन चाहियो भन्ने सोचले उनले मुरीमा उत्पादन हुने फापर पाथीमा झार्न बाध्य भए । बर्खाको झरीले भिजेको र घामले रापिएको रातो चिम्टे माटोमा कोदाली मच्चाउँदै वडा नम्बर ४ का यदुनाथ (शिव) चौलागाईं पनि बर्खामा २/४ मुरी कोदो फलाउँथे । तर, कोदो बेच्न घण्टौँ जंगलको बाटो हिँडेर हेटौंडा–६ चौघडा पुग्नुपथ्र्यो ।
त्यस बापत उनले प्रतिकिलो १५–२० रुपैयाँ मात्रै पाउँथे । मिहिनेतको उचित मूल्य नपाउँदा उनी कोदो खेती नै छाडे । अनि सवारी चालक बने । त्यसपछि उनको बारी बाँझै बस्यो ।
आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिकाले कृषि विकास कार्यक्रमअन्तर्गत रैथाने बाली खरिद–बिक्री अनुदान कार्यक्रम सहकारीमार्फत कार्यान्वयनमा ल्यायो । त्यही बर्ष पालिकाले पहिलोपटक कोदोको मूल्य प्रतिकिलो ४२ रुपैयाँ, मिठो फापरको ६० रुपैयाँ र तितो फापरको ७० रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।
रैथाने बालीअन्तर्गत कोदो र फापर उत्पादनमा प्रोत्साहन स्वरुप किसानलाई प्रतिकिलो २ रुपैयाँ र सहकारीलाई २ रुपैयाँ अनुदान दिने भयो । उक्त जानकारी पाएपछि ती किसानहरु पुनः मूरी उत्पादनतर्फ फर्किए । सधैं १२–१५ पाथी फलाउँदै आएका तिमल्सिनाले त्यस वर्ष झन्डै २ क्विन्टल फापर उत्पादन गरे ।
उता चौलागाईं चालक बनेपछि हेटौंडा बसाई सरेका थिए । पछि पुनः गाउँमै फर्किएर पाँच वर्षअघिसम्म बाँझो रहेको बारी खनजोत गरेर कोदो रोप्न थाले । उनले पहिलो बर्ष ३ रोपनी जमिनमा ५ क्विन्टल कोदो उत्पादन गरेका थिए ।
आर्थिक वर्ष २०८०/८१ बाट पालिकाले फापरको खरिद मूल्य १०० रुपैयाँ पु¥यायो र उत्पादनमा दिइने अनुदान ४ बाट १० रुपैयाँ बनाएको छ । त्यसपछि उत्पादन बढाउँदै ३ क्विन्टल भन्दा बढी, अर्थात् ३२० केजी फापर उत्पादन गरेको तिमल्सिना सुनाउँछन । उनी त्यस वर्ष सबैभन्दा बढी फापर बिक्री गर्ने किसान बनेको गाउँपालिकाको कृषि विकास शाखाले जानकारी दिएको छ ।
गत वर्ष उनले ४ क्विन्टल फापर उत्पादन र बिक्री गरे । ‘पहिले व्यपारीले जे मूल्य दिन्थ्यो, त्यही स्वीकार्नु पथ्र्यो । अहिले त गाउँमै प्रतिकिलो १०५ रुपैयाँमा बिक्री हुन्छ,’ उनले भने ।
६५ वर्षीय चौलागाईंले पनि यो बर्ष करिब ९ रोपनी जमिनमा कोदो खेती गर्दा ९ क्विन्टल कोदो फल्यो । ‘यो वर्ष प्रतिकिलो ६६ रुपैयाँमा बेच्यौं, प्रायः हरेक वर्ष मूल्य बढ्दै आएको छ,’ उनी भन्छन्, ‘कोदो लगाउन पहिले जस्तो कोदालीले खन्नु पर्दैन । अहिले ट्याक्टरले जोतिन्छ । काम गर्ने मान्छे पाइयो भने बाँकी बाँझो बारीमा पनि कोदो लगाउँछु ।’
पालिकाले उत्पादन प्रोत्साहन तथा बजार व्यवस्थापनको कार्य मकवानपुरगढी–४ स्थित अपांग तथा विपन्न कृषि सहकारी संस्था र कृषि समूहमार्फत सञ्चालन गर्दै आएको छ । पालिकाले तोकेको न्यूनतम समर्थन मूल्यमा संस्था र समूहले कृषकसँग खरिद गर्छन् ।
उत्पादन प्रोत्साहनस्वरुप दिइने १० रुपैयाँमध्ये ४ रुपैयाँ सहकारी वा समूहले बजार व्यवस्थापन वापत पाउँछन् भने बाँकी ६ रुपैयाँ किसानले पाउने कृषि शाखा प्रमुख गोपाल लम्सालले जानकारी दिए ।
पालिकाले सुरु ग-यो, संघ सरकारले सहयोग दियो
पालिकाले पाँच वर्षअघि आन्तरिक स्रोतबाट सुरु गरेको रैथाने बाली प्रवद्र्धन कार्यक्रमलाई संघीय सरकारले सहयोग गर्दै आएको छ ।
चालु आर्थिक वर्षदेखि प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको लम्सालले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा संघीय, प्रदेश र स्थानीय तहबाट विनियोजित २१ लाख रुपैयाँ बजेट किसानको माग अनुसार उत्पादनमा विविधिकरण, प्रोत्साहन अनुदान, उन्नत बीउबीजन, आधुनिक कृषि उपकरण, भण्डारण गृह निर्माण, तालिम, रोग–कीरा नियन्त्रण तथा परामर्शमा खर्च गरिएको छ ।
उत्पादन लागत कम तथा कृषकलाई आकर्षित गर्न यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत मिनिटिलर, थ्रेसर, कम्बाइन मिल, स्पेयर पम्पलगायतका सामग्री वितरण गरिएको लम्सालले जानकारी दिए । साथै, कोदो, फापर, धानकोदो, जुनेलो, कागुनो, भटमास आदिको उन्नत बीउ वितरण गरिएको छ ।
खेती प्रविधि÷पद्धति, रोग–कीरा व्यवस्थापन, भण्डारण तथा बजारीकरण, रैथाने बालीबाट होटल तथा रेष्टुरेन्टमा बिक्रि गर्न सकिने परिकारहरु बनाउने तालिम प्रदान गरी मेला–महोत्सवमा प्रदर्शनी समेत गरिएको छ ।
साना सिचाइ आयोजनाअन्तर्गत प्लास्टिक पोखरी, कुलो मर्मत तथा निर्माण, मोटरपाइप सिचाइ, पानीघट्ट सुधारजस्ता गतिविधिहरु सञ्चालनमा छन् भने रैथाने बालीबाट निम्की, विस्कुट, पाउरोटी लगायत परिकार बनाएर व्यवसायिक बनाउन ओभन समेत वितरण गरिएको कृषि शाखाले जनाएको छ ।
उत्पादनमा निरन्तर वृद्धि
उत्पादन प्रोत्साहन कार्यक्रमअन्तर्गत पछिल्ला तीन आर्थिक वर्षमा कोदो, फापर र जुनेलोको उत्पादन निरन्तर वृद्धि भएको देखिन्छ ।
यस कार्यक्रम जोडिएर आर्थिक वर्ष २०७९÷८० मा ११३ क्विन्टल, त्यसपछिको वर्ष १५० क्विन्टल र चालु वर्षमा करिब १८० क्विन्टल रैथानले बाली उत्पादन भएको कृषि शाखाले जानकारी दिएको छ । यो कार्यक्रमका लागि क्रमशः २६ हजार, १ लाख ५० हजार र चालु वर्षमा २ लाख रुपैयाँ खर्च गरिएको कृषि शाखाको तथ्यांक छ ।
प्रायः पालिकाको सबै वडामा रैथाने बाली खेती हुन्छ । वडा नम्बर १, २, ४, ७ र ८ मा कोदो खेती हुने गर्छ भने वडा नम्बर ६ र ८ लाई फापरको पकेट क्षेत्रका रुपमा चिनिन्छ । हाल करिब ५०० घरधुरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पालिकाको रैथाने बाली प्रवद्धन कार्यक्रमबाट लाभान्वित छन् । सुरुमा २०० हेक्टरमा सीमित रैथाने बाली खेती हुथ्यो । अहिले करिब ६०० हेक्टरमा विस्तार भइसकेको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए ।
रैथाने बाली प्रर्वद्धन कार्यक्रमले कोदो फापर जुनेलो जस्ता बालीबाट पनि आम्दानी लिन सकिन्छ भन्ने आत्मविश्वास दिलाएको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन तिमल्सिना बताउँछन् । तर, फल लाग्ने समयमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न पालिकास्तरबाट योजना ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।
कोदो, फापर, जुनेलो र धानकोदोको उत्पादन बढाउन रैथाने बाली प्रवद्र्धन कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको अपांग तथा विपन्न सहकारी संस्थाका अध्यक्ष दिलबहादुर योञ्जन बताउँछन् ।
उनले उत्पादनमा प्रोत्साहन (अनुदान) को दायरा बढाउन सके अन्य स्थानीयस्तरका कम उत्पादन हुने बालीहरुको उत्पादन वद्धि हुने सुझाब दिए ।
बजार व्यवस्थापन वापतको अनुदान रकमले उत्पादन खरिद गर्न किनासको घरमा पुग्ने र बिक्रिका लागि हेटौंडा बजारसम्म लैजान सहज भएपनि समर्थन मुल्यको भुक्तानीमा सहकारीलाई मार परेको उनले बताए ।
‘खरिद तथा अनुदान भुक्तानी गर्न ऋण लिनुपर्छ । बिक्री रकम आउन ५ देखि ७ महिना लाग्छ । यस अवधिको व्याज भुक्तानीमा समस्या छ,’ उनले भने । यदि व्याज भुक्तानीमा सहजीकरण गरियो भने कृषक लाभान्वित हुने र सहकारीलाई आर्थिक मार पर्ने अवस्था हट्ने उनको भनाइ छ ।
पालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रमलाई थप प्रभावकारी बनाउन विक्री वितरणका लागि ‘कोसेली घर’ निर्माण, कृषकहरुबीच बीउबिजन साटासाट गर्न ‘बीउ बैंक’ सञ्चालन, विविधिकरण कार्यक्रमअन्तर्गत कोदोको वाइन उत्पादन गरी बजारमा ल्याउने, उत्पादन प्रोत्साहन अनुदान बढाउने, यान्त्रिकरण तथा तालिम कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
सहकारीमार्फत ‘कालीखोला’ ब्रान्डमा कोदो र फापरको पिठो बजारमा ल्याइएको छ । सबैभन्दा उल्लेखनीय पक्ष भनेको विद्यालयको दिवा खाजा कार्यक्रममा हरेक हप्ता एक दिन रैथाने अन्न (कोदो, फापर, जुनेलो, तरुल, पिँडालु, बोडी, सिमी आदि) समावेश गर्ने निर्णय कार्यान्वयनमा ल्याइनु हो । यसले विद्यार्थीहरुलाई पोषिलो खाजा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादनको खपत बढाउन उल्लेखनीय सहयोग पु¥याएको छ ।