बागमती प्रदेशसभाको बजेट अधिवेशन ५ जेठबाट सुरु हुने, ५ सचिवको पदस्थापन र सरुवा

हेटौंडा । बागमती प्रदेश सभाको सोह्रौं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने तयारी भएको छ ।
हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सोह्रौं अर्थात बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुख दिपकप्रसाद देवकोटा छन् ।
यसैगरी, बागमती प्रदेश सरकारले ५ सचिवहरूको पदस्थापन तथा सरुवा गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको बैठकले संघीय सरकारबाट सरुवा भई आएका ३ सचिवको पदस्थापन गरेको हो भने २ सचिवको जिम्मेवारी हेरफेर गरेर सरुवा गरेको हो ।
बैठकले संघीय सरकारबाट आएका वैकुण्ठ अधिकारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेमराज भुसाललाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा झलकराम अधिकारीलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।
बैठकले सामाजिक विकास मन्त्रालयको सचिवमा हाल उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको कार्यरत सचिव बिनु बज्राचार्य र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रदेशसभा सचिवालयमा कार्यरत सचिव पूर्णबहादुर दर्जीलाई जिम्मेवारी तोक्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरुजचन्द्र लामिछानेले बताए ।