पूर्वराष्ट्रपति भण्डारीले भनिन, ‘नागरिकको जीवनस्तरमा परिवर्तन नआउनु चिन्ताको विषय’

हेटौंडा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्था परिवर्तन भए पनि नागरिकको जीवनस्तरमा परिवर्तन नआउनु चिन्ताको विषय भएको बताएकी छिन् ।
मदन भण्डारी फाउन्डेसन मकवानपुरले आयोजना गरेको श्रीचन्द्र शर्मा स्मृति सम्मान कार्यक्रममा उनले राजनीतिक दलहरूले नागरिकको आर्थिक र सामाजिक अवस्था परिवर्तन हुनेगरी काम गर्नुपर्ने बताइन् ।
‘नागरिकको आवश्यकता र चाहनाअनुसारको विकास अहिलेको आवश्यकता हो । तर, राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्न सकिरहेका छैनन्,’ उनले भनिन्, ‘जनताले सकारात्मक परिवर्तनको महसुस गर्ने गरी सामाजिक र आर्थिक रुपान्तरणको कार्यभार पूरा गर्न बाँकी छ ।’
व्यवस्था परिवर्तनसँगै जीवनस्तरमा सुधार आउछ भन्ने नागरिकको अपेक्षामा दलहरू खरो उत्रन नसकेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ थियो । संविधानमा उल्लेख भएको अधिकार व्यवहारमा लागु नहुँदा पनि नागरिकमा वितृष्णा छाएको उनको दावी छ ।
उनले जननेता मदन भण्डारीको मौलिक राजनीतिक सिद्धान्त जनताको बहुदलीय जनवादमार्फत नागरिकको सक्रिय सहभागिता, बहुदलीय प्रतिस्पर्धा र खुला लोकतान्त्रिक प्रणालीसहित देशलाई समाजवादको दिशातर्फ उन्मुख गराउन सबै मिलेर अगाडि बढ्नु पर्नेमा उनले जोड दिइन् ।
फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा श्रीचन्द्र शर्मा स्मृति सम्मान ०८२ बाट हेटौंडा उपमहानगरपालिका–८ कमानेकी सुभद्रा रेग्मीलाई सम्मान गरिएको छ ।
उनलाई नेपाल स्वतन्त्र मजदुर युनियन र अखिल नेपाल महिला संघमा आबद्ध रही तत्कालिन पञ्चायती निरंकुशताविरुद्धको लडाइमा सक्रिय सहभागिता जनाउँदै भूमिगत कालमा सेल्टरदाताको रुपमा योगदान गरेको भन्दै मदन भण्डारी फाउन्डेसन मकवानपुरले सम्मान गरेको हो ।