बागमतीमा पहिलो पटक स्पोर्टस् अवार्ड तथा युथ समिट गर्दै खेलकुद मन्त्रालय

हेटौंडा । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पहिलो पटक स्पोर्टस् अवार्ड तथा युथ समिट गर्ने भएको छ । मन्त्रालयले पहिलो पटक यो कार्यक्रम गर्न लागेको हो ।
प्रदेश सरकार स्थापना भएपछि पहिलो पटक अवार्ड तथा समिट हेटौंडामा आयोजना गर्ने तयारी भइरहेको युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले जानकारी दिए ।
युवा खेलाडीको प्रोत्साहनका लागि मन्त्रालयले समिट गर्न लागेको उनको भनाई छ । ‘युवा खेलाडीको मनोबल उच्च बनाउन प्रतियोगिता आयोजना गरेर मात्रै पुग्दैन । उनीहरुलाई हौसलासँगै प्रोत्साहन पनि राज्यको तर्फबाट गर्नुपर्छ ।’ उनले भने ।
मन्त्रालयले जेठको पहिलो हप्ता हेटौंडा उपमहानगरपालिका–४ हुप्र ९लोकतान्त्रिक चौर०मा प्रदेश स्तरीय स्पोर्ट्स अवार्ड तथा युथ समिट गर्ने भएको हो । मन्त्रालयले ३ सदस्य उपसमिति गठन गरेर तयारीलाई तीव्र बनाएको मन्त्री महर्जन बताउँछन् ।
उपसमितिको संयोजकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दिपक श्रेष्ठ छन् । सदस्यहरुमा तेक्वान्दोका पुर्व अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका वरिष्ठ प्रशिक्षक प्रेमबहादुर भण्डारी र खेलकुद पत्रकार प्रकाश तिमल्सिना रहेका छन् ।
उक्त उपसमितिले आगामी १० दिनभित्र बागमती प्रदेश भित्र रहेका नयाँ र पुरानो गरि ९ जना प्रतिभावान खेलाडीहरुको छनौट गर्नेछ । यस्तै, पत्रकारितामार्फत खेलकुद क्षेत्रको विकासमा योगदान पु¥याएका एकजना खेलकुद पत्रकारलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिने भएको मन्त्रालयले जानकारी दिएको छ ।
बागमती प्रदेश सरकार स्थापनाको ७ वर्षमा हालसम्म खेलकुद क्षेत्रबाट दुई जना खेलाडी मात्रै सम्मानित भएको मन्त्री महर्जन बताउँछन् । ‘म आइसकेपछि खेलाडीहरुको प्रोत्साहनमा ध्यान दिएर काम गरिरहेको छु ।’ मन्त्री महर्जनले भने ।
७ महिना अगाडि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गणतन्त्र दिवसको अबसरमा पारा ओलम्पिक गेममा कास्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई नगद १० लाख र १९औं एसियन गेमसमा रजत पदक विजेता करातेकी एरिका गुरुङलाई ५ लाख नगदसहित हेटौंडा बजार परिक्रमा गराइएको थियो ।