मकवानपुरगढीमा ८ कक्षाको नतिजामा उल्लेख्य सुधार

मकवानपुरगढी– मकवानपुरगढी गाउँपालिकाले आधारभूत तह कक्षा ८ को नतिजामा उल्लेखनीय सुधार गरेको छ । पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको तथ्यांकअनुसार शैक्षिक सत्र २०८० सँग तुलना गर्दा २०८१ मा कक्षा ८ को नतिजा सुधार भएको हो ।
शैक्षिक सत्र २०८१ मा पालिकाभित्रका १६ वटा सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी भएका ३९२ जना विद्यार्थीमध्ये ३३९ जना विद्यार्थी कक्षा ९ मा अध्ययन गर्न योग्य ठहरिएका छन् ।
यो संख्या ८६.४७ प्रतिशत हो भने औषत ग्रेड २.२९ जीपीए छ । जीपीए १.६ भन्दा कम ल्याएर ‘ननग्रेडेड’ सूचीमा पर्ने विद्यार्थी संख्या ५३ जना रहेको छ ।
नतिजा विश्लेषण अनुसार, जीपीए ३.६ देखि ४.० को बीचमा ८ जना विद्यार्थी रहेका छन्, जुन संख्या गत वर्षको तुलनामा ७ जना बढी हो । यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने ४९ जना, २.८ देखि ३.२ तथा २.४ देखि २.८ जीपीए ल्याउने क्रमशः १२५/१२५ जना रहेका छन्। २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थी ३२ जना रहेका छन् भने १.६ देखि २.० ल्याउने कोही पनि छैनन् ।
शिक्षा शाखा प्रमुख राम घलानका अनुसार कमजोर विद्यार्थीको पहिचान गरी अतिरिक्त कक्षा सञ्चालन गर्नु, शिक्षकहरुको सक्रियता, प्रभावकारी शिक्षण विधि र विद्यार्थीको नियमित उपस्थिति जस्ता कारकहरुले नतिजा सुधारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
साथै, समयमै पाठ्यपुस्तक तथा शैक्षिक सामग्री उपलब्ध गरिनु, अभिभावकको चासो तथा निगरानी, र विद्यालयको सशक्त नेतृत्वले पनि नतिजामा सकारात्मक प्रभाव पारेको घलानले बताए ।
गत वर्ष (२०८०) मा ३८२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा ७३.२९ प्रतिशत अर्थात् २८० जना मात्र कक्षा ९ मा अध्ययन गर्न योग्य भएका थिए भने १०२ जना ननग्रेडेड भएका थिए। औषत ग्रेड २.०८ जीपीए थियो ।
गत वर्षको तुलनामा उच्च ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुको संख्या बढेको देखिन्छ । विशेष गरी, अघिल्लो वर्ष प्रथम तह (जीपीए ३.६–४) मा १ जना मात्र थिए, तर यस वर्ष त्यो संख्या ८ पुगेको छ। गत बर्ष दोस्रो तह (३.२–३.६) मा १२ जना, तेस्रो तह (२.८–३.२) मा ८१ जना, चौथो तह(२.४–२.८) मा १५२ र पाँचौ तह(१.६–२.०) मा ३१ जना रहेका थिए ।
यस वर्ष उत्कृष्ट विद्यालयहरुको सूचीमा केही हेरफेर देखिएको छ । कक्षा ८ को नतिजामा ३.३१ औसत ग्रेडसहित बुद्धधर्म आधारभूत विद्यालय प्रथम भएको छ । बालजागृति आ.वि (२.९७), गीताधर्म आ.वि (२.८३), रुपनारायण मा.वि (२.४३) र ज्वालादेवी आ.वि (२.३७) जीपिए सहित क्रमशः देस्रोदेखि पाँचौं स्थानमा परेका छन् ।
गत बर्ष सरस्वती आधारभूत विद्यालय २.९१ औसत ग्रेडसहित प्रथम भएको थियो । वंशगोपाल मावि (२.४६), हेमर्कण आवि (२.४५), भानु मावि (२.२७) र जनक मावि (२.२२) जीपीए सहित उत्कृष्ट पाँचमा परेका थिए । यसपटक पालिकाले ग्रेड वृद्धि परीक्षा नराखी, नपुगेका विद्यार्थीहरुलाई अतिरिक्त २४ अंक प्रदान गर्ने व्यवस्था गरेको छ ।
परीक्षा सकिएपछि मात्र ग्रेड वृद्धि परीक्षा गरिँदा कक्षा ९ को पठनपाठन पछि पर्ने र विद्यार्थीमा मानसिक तनाव बढ्न सक्ने भन्दै यस्तो निर्णय गरिएको हो । अतिरिक्त २४ अंक मात्र ग्रेड नपुगेको अवस्थामा प्रयोग हुनेछ ।
पालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानका अनुसार, कक्षा ८ को सुधारिएको नतिजालाई माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्म निरन्तर कायम राख्ने योजना बनाइएको छ । त्यसका लागि शिक्षकहरुलाई नवीनतम शिक्षण विधि, विद्यार्थी मनोविज्ञान र मूल्याङ्कन प्रणालीमा आधारित कक्षा सञ्चालनमा जोड दिइएको उनले बताए ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकको सुझाव अनुसार प्रत्येक विद्यालयमा एसईईको तयारी स्वरूप अतिरिक्त (कोचिङ) कक्षा सञ्चालन गरिने अध्यक्ष स्याङ्तानले बताए ।
विद्यार्थी केन्द्रित सिकाइ वातावरण, नियमित उपस्थिति, परीक्षण र अनुगमनमार्फत विद्यार्थीको स्तर मूल्याङ्कन गरिनेछ । त्यसका लागि शैक्षिक क्यालेन्डर तयार पारिएको र २०८२/८३ को बजेटमा समेत उक्त कार्यक्रमका लागि व्यवस्थापन गरिने अध्यक्ष स्याङ्तानले जानकारी दिए ।
शैक्षिक सत्र २०८१ मा बर्खे विदाको समयमा कक्षा ८ को उपचारात्मक तथा कक्षा १० को बन्द शिविर सञ्चालन गरिएको थियो भने भदौदेखि फागुनसम्म अतिरिक्त कक्षा सञ्चालन गरिएको थियो। सोही कारण कक्षा ८ को नतिजामा सुधार आएको पालिकाले दाबी गरेको छ ।
यस वर्ष एसईईमा मकवानपुरगढीबाट २१३ जना विद्यार्थी सहभागी भएका छन्। गत वर्ष ३०० जनामध्ये ४६ जना (करिब १५ प्रतिशत) मात्र उत्तीर्ण भएका थिए भने यस पटक कम्तिमा ५० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने पालिकाको अपेक्षा छ ।