‘पढ्दै कमाउँदै’ कार्यक्रममा मकवानपुरगढी गाउँपालिका

संवाददाता
बैशाख ७, २०८२

मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिकाले विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै (लर्निङ् बाई अर्निङ्) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पालिकाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक कार्यक्रम अनुसार कृषि विकासअन्तर्गत प्राविधिक विधामा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न लागिएको मकवानपुरगढी गाउँपालिका कृषि शाखाका प्रमुख गोपाल लम्सालले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रमका लागि ३ लाख बजेट बिनियोजन गरिएको छ ।

प्राविधिक विधा अध्यापन गराउने विद्यालयहरुलाई उक्त कार्यक्रम सञ्चालन गर्नका लागि चैत २७ गते दोस्रो पटक प्रस्ताव आवाह्न गरिएको उनले बताए । पहिलो पटक चैत ४ गते सुचना प्रकाशन गरिएको थियो ।

पालिकाले प्राविधिक बिषय ( कृषि बाली विज्ञान) अध्ययन गर्ने विद्यार्थीहरु, बाली बस्तु उत्पादन गर्ने जमिन भएको विद्यालयलाई विशेष प्राथामिकतामा राखेको छ । उक्त बजेट उत्पादन सामग्री, प्रविधि, सिचाई, यान्त्रिकरण क्षमता अभिवृद्धिलगायतका कार्यमा ८० प्रतिशत लगानी गर्ने शाखा प्रमुख लम्सालले जानकारी दिए ।

आवेदन परेकाबाट उत्कृष्ट प्राविधिक शैक्षिक संस्था छनोट गरी तत्काल कार्यक्रम सुरु गरिने उनले बताए । उत्पादन बिक्रीबाट आएको आम्दानीलाई ‘पढ्दै कमाउँदै’ कोषमा राखेर त्यसलाई ‘सिड मनी’का रुपमा प्रयोग गर्न सकिनेछ ।

त्यसलाई सिड मनिका रुपमा इच्छुक विद्यार्थीहरुले आफ्नो घरमा कृषि खेती गर्न चाहेमा आवश्यक बिउ, मल, प्रविधि समेत लिन सक्ने उनले बताए ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यावसायिक, सीपयुक्त एवम् स्वावलम्बी नागरिक उत्पादन गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए ।

गत आर्थिक बर्षदेखि निमित बजेट गदै आएको र यस कार्यक्रमलाई प्रभावकारी रुपमा निरन्तरता दिइने उनको भनाई छ । गत आबमा मकवानपुरगढी–२ मा रहेको बंशगोपाल माध्यामिक विद्यालय (प्राविधिक शिक्षालय) यसै कार्यक्रमका लागि २ लाख बजेट उपलब्ध गराएको थियो । जसबाट विद्यालयले गड्यौला प्ल्यान्ट निर्माण गरेको थियो ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडेर भविष्यमा स्वलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित संघीय सरकारले यसअघि नै विद्यालय तहमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेको हो ।

संघ सरकारले कार्यक्रम सञ्चालनका लागि प्रतिविद्यालय २० लाखको दरले रकम खर्च गर्दै आएकोमा यसमा कति विद्यार्थी संलग्न छन् र यसको प्रभावकारिता कति छ ? भन्ने अझै एकिन भइसकेको छैन । विद्यालयको मुख्य उद्देश्य हातखुट्टा चलाएर सक्षम बनाउने अर्थात विद्यार्थीलाई गरिखान बनाउने रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*