टाइब्रेकरमा भाग्यशाली २ नम्बर वडाले जित्यो मदन–आश्रित फुटबलको उपाधि

हेटौंडा । राष्ट्रिय युवा संघ नेपाल बागमती गाउँपालिका कमिटीको आयोजनामा भएको वडास्तरीय मदन–आश्रित फुटबल प्रतियोगिताको उपाधि गाउँपालिकाको २ नम्बर वडाले जितेको छ ।
जनता मावि फापरबारीको खेलमैदानमा भएको सोमबार भएको फाइनल खेलमा बागमती–२ नम्बर वडाले ६ नम्बर वडालाई पेनाल्टी सुटआउट (टाइब्रेकर)मा पराजित गरेको हो । दुवै टिमले निर्धारित समयमा गोलरहित बराबरी खेलेका थिए । पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले २ नम्बर वडा विजेता बनेको छ ।
खेलको १५औं मिनेटमा २ नम्बर वडा का गोलरक्षकले डिबक्स बाहिर आएर बल समातेपछि रेड कार्ड पाउँदै मैदान छोड्न परेको थियो । १० जना खेलाडीमा सीमित २ नम्बर वडाले ६ नम्बर वडालाई निर्धारित ९० मिनेटमा खेल बराबरीमा रोक्न सफल भई पेनाल्टी सुटआउटमा भाग्यशाली बन्न पुग्यो ।
विजेताले २ नम्बर वडाले ५० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको ६ नम्बर वडाले २५ हजार नगद र प्रमाणपत्र पायो । फाइनल खेलको म्यान अफ दी म्याच ६ नम्बर वडाका धनबहादुर विक बने ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी २ नम्बर वडाका आकाश राना मगर, उत्कृष्ट डिफेन्डर २ नम्बरकै अरुण आले, उत्कृष्ट मिडफिल्डर नवीन बोम्जन, सर्वाधिक गोलकर्ता ६ नम्बर वडाका कुमार लोप्चन घोषित भए ।
राष्ट्रिय युवा संघ बागमती गाउँपालिका कमिटीका अध्यक्ष अशोक ग्यालनको सभाध्यक्षतामा भएको समापन समारोहमा नेकपा एमाले प्रदेश कमिटी सदस्य, बागमती प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको विजेता, उपविजेता टोली तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई उनले पुरस्कारको शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय खेलाडीको प्रोत्साहन गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्यसहित राष्ट्रिय युवा संघ बागमती गाउँपालिका कमिटीले फुटबल प्रतियोगिताको आयोजना गरेकोमा प्रशंसा गरेका छन् ।
बागमती गाउँपालिकाले हरेक वर्ष ५०औं लाख खर्च गरी आयोजना गर्दै आएको खेलकुद प्रतियोगितामा स्थानीय खेलाडी सहभागिता हुन बञ्चित बन्नुपरेको र पुरस्कार राशी बाहिर गइरहेको अवस्था देखिएकोमा उनले चिन्ता व्यक्त गरे ।
युवा संघ बागमतीले खेलाडीको भविष्य खोज्दै, खेलाडीमा देखिएको निराशालाई अन्त्य गर्न वडास्तरीय फुटबल प्रतियोगिता सन्चालन गर्नु आफैंमा चुनौतीपुर्ण कार्य रहेको रहेको सांसद श्रेष्ठले बताए ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य छिरिङ्ग दोर्जे पाख्रिन, अणराज जर्गामगर, जिल्ला कमिटी उपसचिव आरती पाठक, पार्टी जिल्ला सदस्य सानु लामा, एमाले बागमती गाउँपालिका अध्यक्ष नरबहादुर घलान, राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष राजेश नगरकोटी, बागमती गाउपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिनालगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अबसरमा बागमती गाउँपालिकाभित्रका पूर्व खेलाडीहरुलाई सम्मान गरिएको थियो ।