बागमतीमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया

हेटौंडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया अघि बढाएको छ ।
प्रदेश सरकारले मातहतका निकायलाई नीति कार्यक्रम र बजेटमा समावेश हुनुपर्ने विषयमा सुझाव माग गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय तथा संवैधानिक आयोग, निकायलाई बजेट कार्यक्रममा समावेश हुनुपर्ने विषयमा सुझाव पेश गर्न पत्राचार गरेको छ ।
फागुन २७ गतेको मुख्यमन्त्रीस्तरीय निर्णयानुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पत्राचारगर्दै बजेट कार्यक्रमको सुझाव माग गरेको हो । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा विषय क्षेत्र तोकेर सुझाव माग गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।
कार्यलयको अनुसार अनुसार मन्त्रालय/निकायसँग सम्बन्धित विषयहरु समावेश गरी २०८२ साल वैशाख १० गतेभित्र सुझाव पेश गर्न भनिएको छ । मुख्यमन्त्री कार्यालयले प्रदेशको दोस्रो आवधिक योजना, नेपालको चालु सोह्रौं आवधिक योजना तथा दिगो विकासका लक्ष्य, २०३०, संविधानमा उल्लिखित राज्यका निर्देशक सिद्दान्तहरु, राज्यका नीतिहरु, राज्यको दायित्व लगायतका विषयमा केन्द्रित भएर सुझाव दिन आग्रह गरेको छ ।
प्रदेशको एकल तथा साझा अधिकारको सूचीलगायत दस्तावेजको मन्त्रालय/निकायसँग सम्बन्धित कार्यक्षेत्र, रणनीति तथा कार्यनीतिको कार्यान्वयनसम्बन्धी विषय समावेश गर्न भनिएको छ । आगामी आर्थिक वर्षका लागि मन्त्रालय तथा निकायगत रुपमा तय हुने वार्षिक बजेट तथा कार्यक्रमसँग सम्बन्धित विषयलाई प्राथमिकीकरण गरी प्रस्तुत गर्न मुख्यमन्त्री कार्यालयले पत्राचार गरेको छ ।
संघीय सरकार तथा प्रदेश सरकारले विभिन्न समयमा गरेको निर्णय कार्यान्वयन, व्यवस्थापन तथा सहजीकरणमा विशेष ध्यान राख्न र समावेश गर्न निर्देशन गरेको छ ।
प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८० अनुसार मन्त्रालयको कार्य जिम्मेवारीसँग सम्बन्धित विषय, अन्तरतह समन्वय तथा सहकार्यसँग सम्बन्धित विषय समावेश गरी कार्यक्रम तयार गरी पठाउन मुख्यमन्त्री कार्यालयको आग्रह छ । मन्त्रालय÷निकायको कार्य जिम्मेवारीसँग सम्बन्धित नीति तथा कार्यक्रममा सम्बोधन हुनुपर्ने अन्य विषयलाई समावेश गर्न मुख्यमन्त्री कार्यालयले आग्रह गरेको हो ।
निर्देशनअनुसार मन्त्रालय र निकायले बजेट निर्माण तथा नीति कार्यक्रम तयारीको काम अघि बढाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्रालय आगामी आर्थिक वर्षमा हुने कार्यक्रम र विषय समेट्ने गरी विषयविज्ञ तथा सरोकारवाला निकयबीच छलफलमा रहेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विगतको तुलनामा आगामी वर्षको बजेट निकै व्यवस्थित र समुन्नत हुने बताएका छन् । बजेटलाई व्यवस्थित र विवादरहित बनाउन आयोजना बैंकले भूमिका खेल्ने उनको विश्वास छ । आयोजना बैंकको पूर्णकार्यान्वयनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको उनले बताए ।
मुख्यमन्त्री लामाले बजेट परिचालनको चलखेल अन्त्यका लागि प्रदेश सरकारबाट आयोजना बैंकको पूर्ण कार्यान्वयन हुनेमा विश्वस्त रहन आग्रह गरे । बजेट विनियोजन, योजना छनोट तथा अद्यावधिक र सुशासन कायम गर्न आयोजना बैंक अपरिहार्य रहेकाले औपचारिक थालनी भइसकेको उनको भनाई छ ।
आयोजना बैंक सञ्चालनका लागि आयोगले नीति तथा योजना तर्जुमा, व्यवस्थापन, विधि र मापदण्डसहित आवधिक अनुगमन तथा मूल्यांकन, नीतिगत तथा कार्यगत अध्ययन अनुसन्धान कार्य गरेको मुख्यमन्त्री लामाले बताएका छन् ।
आयोजना बैंकको अभावमा प्रदेश सरकारको कमजोर आन्तरिक प्रतिवेदन प्रणाली, नतिजामुखी अनुगमन र मूल्यांकन तथा कार्यान्वयन नहुने अवस्था रहेको उनको भनाइ छ ।