पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री र प्रजिअमार्फत सरकारको ध्यानाकर्षण

हेटौंडा । राजावादीको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुरले प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीमार्फत दोषीलाई कारबाहीको माग गरेका छन् ।
सोमबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई भेटेर पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाईं नेतृत्वको पत्रकारहरूले ध्यानाकर्षण पत्र बुझाउँदै दोषीलाई कारबाहीको माग गरेका हुन् । हुमागाईँले राजावादीहरूको प्रदर्शन उग्र बन्दा समाचार सङ्कलनका क्रममा पत्रकारको हत्या र आमसञ्चार माध्यममा आक्रमण हुनु दुःखद भएको बताए ।
उनले शुक्रवारको घटनामा एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु नभई हत्या भएको दाबी गरे । पत्रकार हत्या, कुटपिट र सञ्चारगृहमा भएको आगजनी तथा तोडफोडका घटनामा संलग्न जो कोहीलाई तत्काल पक्राउ गरी दोषीलाई कडा भन्दा कडा कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।
यस्तै मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले राजनीतिक मुद्दाका आडमा पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमण नियोजित रूपमा भएको र यस्तो निन्दनीय कार्यको पत्रकार महासङ्घ मकवानपुरले घोर भर्त्सना गर्ने बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री लामाले आमसञ्चार क्षेत्र र प्रदेश सरकार दुवै लोकतन्त्रको अभिन्न अङ्ग हुनुका साथै एक अर्काको परिपूरक भएकाले राजावादीको नाममा सञ्चार क्षेत्रमा भएको आक्रमणको विरोध गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पनि आमसञ्चार क्षेत्रमाथि भएको आक्रमणबाट आफू दुःखित भएको उल्लेख गर्दै पत्रकारिता क्षेत्रको सुरक्षाको लागि आफू तयार रहेको र पत्रकारहरूको माग माथिल्लो तहसम्म पुर्याउन प्रतिबद्ध रहेको बताइन् ।