सिस्नेरी खोलामा ३ बालकको डुबेर मृत्यु

संवाददाता
चैत्र १७, २०८१

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी खोलामा डुबेर तीन बालकको मृत्यु भएको छ ।

काभ्रे घर भई सिस्नेरी मामाघर आएका २ बालक र सिस्नेरी डोडारेका एक बालकको सिस्नेरी बजार पछाडि खोलामा पौडी खेल्ने क्रममा आज अपरान्ह करिब साढे ४ बजे डुबेर मृत्यु भएको घटनास्थलबाट इलाका प्रहरी कार्यालय भीमफेदी प्रमुख प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन् ।

इन्द्रसरोबर–३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा १४ वर्षीय सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएको ढकालले जानकारी दिएकी छन् । घोरासैनी दाजुभाई हुन भने आचार्य मामाका छोरा हुन् ।

उनीहरु सिस्नेरी खोलाको ढुंगाको ओढारमा जमेको पानीमा घरबाट पौडी खेल्न भनेर गएको प्रहरी निरीक्षक ढकालले बताइन् । गत असोजमा कुलेखानी जलाशयको ड्यामका ढोका खोलेर पानी छोड्दा सिस्नेरी खोलामा आएको बाढीले ढुंगाको ओढारमा दह बनेको थियो । मृतक तीन जनालाई काठमाडौंस्थित अस्पताल पठाइएको ढकालले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*