कैलाश वैकुण्ठ क्षेत्र अहिले पर्यटकीय गन्तव्य

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–२ मा अवस्थित कैलाशडाँडा र वैकुण्ठक्षेत्र अहिले पर्यटकीय गन्तव्यको रुपमा विकसित भइरहेको छ ।
प्राकृतिक सौन्दर्यता, हावापानी र धार्मिक तथा पर्यटकीय महत्वका विभिन्नस्थल रहेको यहाँ केही वर्षअघि निर्माण गरिएको डाँफे मुनाल पार्कसहित हिमाल र पहाडको दृश्यावलोकन गर्न सकिन्छ ।
मकवानपुरको पर्यटकीय नगरी पालुङबाट करिब ३ घण्टाको कच्ची सडकको यात्रापछि कैलाशको वैकुण्ठ पुग्न सकिन्छ भने धादिङ जिल्लाको मलेखु र आदमघाटबाट पनि वैकुण्ठ पुग्ने सडक बनिसकेको छ ।
राक्सिराङ गाउँपालिकाको खैराङबाट पनि वैकुण्ठसम्म पुग्न सकिनेगरी सडक निर्माण भइसकेको छ । हिउँदमा मकवानपुरको मनहरीबाट करिब साढे २ घण्टामै वैकुण्ठडाँडा पुग्न सकिन्छ । धादिङको बेनिघाट रोराङ गाउँपालिकासँग सीमाना जोडिएको वैकुण्ठबाट धादिङ, गोरखा र रसुवाका हिमालको आकर्षक दृश्य देख्न सकिन्छ ।
ऐतिहासिक गाउँको रुपमा रहेको वैकुण्ठमा तामाङले घाटुनाच नाच्ने प्रचलन छ । घाटुनाच गुरुङको संस्कृति भएता पनि वैकुण्ठ गाउँमा मात्रै तामाङ जातिले घाटुनाच नाच्ने संस्कृति विकास गरेका छन् । हरेक वर्ष जेठको चण्डीपूर्णिमा मेला लाग्नुका साथै तामाङ जातिको घाटुनाच देखाउने गरिन्छ ।
मकवानपुरको उत्तरीभेगमा महाभारत पर्वतमा प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पन्नता, ऐतिहासिक एवम् धार्मिक महत्व बोकेकास्थललाई समेटेर पर्यटकीयक्षेत्रका रुपमा विकास भइरहेको छ ।
अग्लो पहाडको टुप्पामा निर्माण गरिएको डाँफे र मुनालको आकर्षक प्रतिमाले पर्यटकलाई आकर्षित गर्नुको साथै गाउँमाथि रहेको विष्णुकुण्डमा गुरु रिम्पोछेको प्रतिमा स्थापनाले थप आकर्षण थपिदिएको छ ।
उतिबेलाको विकट गाउँमा अहिले सडक पूर्वाधारको पहुँच पुगेको छ । सिजनमा चल्ने सडक पूर्वाधारले पनि यो क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढाएको छ ।
एक हिसाबले भन्ने हो भने कैलाश वैकुण्ठ ‘आन्तरिक पर्यटकको हब’को रुपमा विकास भइरहेको छ । विकट क्षेत्रको रुपमा रहेको यो स्थानलाई पर्यटनको केन्द्र बनाउने गरी योजना अघि बढाएको गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले बताए ।
मोक्तानका अनुसार गाउँपालिकाको आन्तरिक स्रोत व्यवस्थापन गरी पर्यटन विकासका लागि बिभिन्न काम भइरहेको छ । हाल यो क्षेत्रमा पदयात्रा गर्नेहरुको आगमन बढेको उनले बताए । धादिङ, मकवानपुर र चितवनबाट घुम्न आउने पर्यटकको संख्या बढ्दो रहेको उनको भनाइ छ ।
गाउँपालिकाले कैलाश वैकुण्ठलाई पर्यटकीयक्षेत्र बनाउन प्राथमिकताका साथ लगानी गरेसँगै आकर्षक पार्क, गुम्बालगायत संरचना निर्माण गरेको अध्यक्ष मोक्तानले जानकारी दिए ।
वैकुण्ठमा करिब एक करोडको लगानीमा जीपलाइन निर्माणको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ । ऐतिहासिक विष्णुकुण्ड, गुफा, तामाङ जातिको परम्परागत सांस्कृतिक सम्पदा रहेका कारण पर्यटकीय हिसाबले वैकुण्ठ निकै महत्वपूर्ण मानिएको अध्यक्ष मोक्तानले बताए ।
कैलाश वैकुण्ठको पर्यटकीय विकासका लागि गाउँपालिका साथै बागमती प्रदेश सरकारले लगानी गरेको उनले जानकारी दिए । अध्यक्ष मोक्तानका अनुसार गाउँपालिकाको पहलमा प्रदेश सरकारले २० लाख रुपैयाँ लगानी गरेपछि डाँफे मुनाल पार्क नजिकैको डाँडामा आकर्षक डम्फूपार्क निर्माण गरिएको छ ।
ऐतिहासिक वैकुण्ठडाँडामै गाउँपालिकाले २२ लाख रुपैयाँ लगानी गरी टासी फर्पे छोयलिङ गुम्बा निर्माण गरिएको उनले बताए । डाँफे मुनाल पार्ककै मुनि अग्लो डाँडाको समथल ठाउँमा सधैँ पानी जमिरहने पोखरीलाई विष्णुकुण्डको नाम दिइएको मोक्तान बताउँछन् ।
वैकुण्ठमा पछिल्लो समय धेरै संरचना निर्माण भइसकेको र पर्यटक आउने गरेको अध्यक्ष मोक्तानले बताए । उनका अनुसार डाँफे मुनाल पार्कसँगै प्रदेश सरकारको १० लाख रुपैयाँ लगानीमा वैकुण्ठगाउँमा सतीघाट संरक्षणस्थल पनि निर्माण गरिएको छ ।
करिब ४०० वर्षअघि वैकुण्ठमा मानवबस्ती बसाल्ने सुर्ज मोक्तानको कान्छी पत्नी केमालोमा मोक्तानले पतिको मृत्युपछि सती गई चिहान बनाइएको ठाउँलाई संरक्षण गरी सतीघाट निर्माण गरिएको अध्यक्ष मोक्तानले बताए ।
कैलाश–२, वैकुण्ठमा नवनिर्मित कैलाश–वैकुण्ठ जीपलाइनको पहिलोचरणको परीक्षण सकिएको छ । कैलाश गाउँपालिकाको वैकुण्ठदेखि कैलाशडाँडा जोड्ने जीपलाइन निर्माण भएको हो ।
गाउँपालिकाले बहुवर्षीय योजना बनाइ दुई स्थानमा स्टेशन, ब्रेकिङ सिस्टम (हारनेस) र तार निर्माण गरेको थियो । अध्यक्ष मोक्तानका अनुसार पर्यटनका लागि आवश्यक धेरै संरचना बनाइसकिएको र अब पर्यटकको आवासका लागि व्यवस्थित होमस्टे स्थापनाको योजनामा काम भइरहेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष बजेट विनियोजन गरी स्थानीय सरकार र स्थानीयको साझेदारीमा होमस्टे सञ्चालन गर्ने योजना तयार गरेको अध्यक्ष मोक्तानले बताए । रिसोर्ट र होटल सञ्चालनका लागि समेत निजीक्षेत्रलाई आह्वान गर्ने गाउँपालिकाको रणनीति रहेको उनले बताए ।
पर्यटन प्रवद्र्धन गर्न आगामी दिनमा स्काई साइक्लिङदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने योजना अनुुसार प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
आगामी आर्थिक वर्षमा कैलाश–१ र २ को सीमानामा रहेको गुप्तेश्वरी गुफा र कैलाशडाँडामा रहेको कैलाशगुफा जोड्ने सिँढीसहितको पैदलमार्ग बनाउने योजना अनुसार काम भइरहेको उनको भनाइ छ ।