निर्वाचन क्षेत्रका योजना थप गर्नुपर्ने बागमतीका सांसदहरुको माग

संवाददाता
माघ २५, २०८१

हेटौंडा । बागमती प्रदेशसभाका सदस्यहरुले निर्वाचन क्षेत्रसम्बन्धी योजना थप गर्नुपर्ने माग गरेका छन् ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा निर्वाचन क्षेत्र केन्द्रीत विशेष समयामा बोल्दै प्रदेशसभा सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा तत्काल नै बाढीपीडित परिवारलाई पुनर्बसोवास गर्नुपर्ने र भौतिक पूर्वाधार विकासको संरचनाका लागि प्रदेश सरकारले तत्काल बजेट विनियोजित गर्नुपर्नेमा जोड दिएका हुन् ।

सत्तापक्ष र प्रतिपक्ष दलका सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रको लागि आत्यावश्यक योजनामा क्रमशः खानेपानी, सडक निर्माण, बाढीपहिरोबाट पीडित भएको परिवारलाई पुनर्बसोबास गर्न र तत्काल विपद् आइपर्नुभन्दा अगाडि प्रदेश सरकार पूर्णतयारीका साथ रहनुपर्ने माग गरेका छन् ।

उनीहरुले जनताको चाहना असीमित रहेको भन्दै प्रदेश सरकारको बजेट अत्यन्तै कम भएको हुँदा ती क्षेत्रको योजनालाई पुनः समिक्षा गरेर क्रमशः बजेट वृद्धि गर्दै लैजान सरकारसँग आग्रह गरेका छन् ।

ती क्षेत्रमा पर्ने टुक्रे योजनालाई १० देखि २० लाख रुपैयाँसम्म छुट्याइएको र ती योजनाले त्यहाँको आवश्यकतालाई पूरा गर्न नसकिने हुँदा ती क्षेत्रका नागरिक प्रदेश सरकारप्रति आन्दोलित हुने गरेको बताउँदै त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने उनीहरुको भनाई छ ।

यसैगरी, प्रत्येक निर्वाचन क्षेत्रमा खानेपानीको साथै स्वास्थ्यउपचारलाई उच्चप्राथमिकता दिनुपर्ने र शिक्षालाई गुणात्मक वृद्धि गर्न प्र्रत्येक वडामा मावि, निमावि र प्राविमा शिक्षक दरबन्दी र विज्ञान शिक्षक उपलब्ध गराउनेतर्फ उनीहरुले जोड दिए ।

बैठकमा बोल्दै प्रदेशसभा सदस्यहरुले पछिल्लो समयमा प्रदेशको विभिन्न जिल्लामा जंगली जनावरको आक्रमणबाट मानव जीवनका साथै बस्तीमा ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गरे ।

साथै उनीहरुले पीडित परिवारलाई प्रत्यक्ष राहत उपलब्ध गराउनेतर्फ सरकारले छुट्टै एउटा कार्यदल बनाउनुपर्ने र त्यसलाई आगामी वर्षमा क्रमशः बजेट उपलब्ध गराउनेतर्फ पहल गर्नुपर्ने बताए ।

निर्वाचन क्षेत्रमा रहेका विभिन्न वडामा बाढीबाट घर डुवान हुने, समस्या बढ्दै गएकोले ती क्षेत्रका जनतालाई सुरक्षित रुपमा बसोबास गराउनेतर्फ प्रदेश सरकारले स्थानीय निकायमार्फत् बस्तीमा बाढीलाई नियन्त्रण गर्ने नहर र तटबन्धन निर्माण गर्नेतफ दीर्घकालीन योजना बनाउनुपर्ने उनीहरुको सुझाव थियो ।

प्रदेशका विभिन्न जिल्लाको गाउँबस्ती नजिक जंगलमा डढेलोको प्रकोप फैलिरहेकोले त्यहाँ एतिहासिक सम्पदा, मानवबस्तीमा नोक्सान गरेको भन्दै उनीहरुले अब प्रदेश सरकारले दीर्घकालीन रुपमा डढेलो नियन्त्रण गर्ने वैज्ञानिक प्रक्रिया अवलम्बन गरेर नियन्त्रण गर्ने प्रयासमा लाग्नुपर्ने र त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

बैठकमा प्रदेशसभाका ३१ जना सदस्यले आ–आफ्नो निर्वाचन क्षेत्रको समस्याबारे जानकारी गराएका थिए । प्रदेशसभाको अर्को बैठक यही माघ २६ गते दिनको २ बजे बस्ने गरी उपसभामुख अप्सरा चापागाईँले बिहीवारको बैठक स्थगित गरेकी थिइन् ।

बागमती प्रदेशसभाको पन्ध्रौं अधिवेशन बैठक यही माघ १८ गतेबाट सुरु भएको हो ।प्रदेश लोकसेवा आयोगको प्रतिवेदन पेशबागमती प्रदेशसभामा ‘प्रदेश लोकसेवा आयोगको पाँचौं वार्षिक प्रतिवेदन’ पेश गरिएको छ ।

बिहीबार अपराह्न बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री बहादुरसिं लामाले विधेयक पेश गरेका हुन् ।मुख्यमन्त्री लामाले उपसभामुख अप्सरा चापागाईँको अनुमतिमा विधेयक सभामा प्रस्तुत गरेका हुन् ।

बैठकमा उपसभामुख चापागाईँले उद्योग, पर्यटन तथा वातावरण समितिमा प्रदेशसभाका सदस्य शैलेन्द्रमान बज्राचार्यलाई मनोनयन गरेकी थिइन् । बैठकले मनोनयन स्वीकृत प्रदान गरेको छ । प्रदेशसभाको अर्को बैठक यही माघ २६ गते दिनको २ बजे बस्ने उपसभामुख चापागाईँले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*