प्रदेशसभामा प्रदेशप्रमुखबाट फिर्ता कृषिसहित ५ वटा विधेयक पेश

हेटौंडा । बागमती प्रदेशसभाको बुधवार बसेको हिउँदे अधिवेशनको बैठकमा ५ वटा विधेयक पेश भएका छन् । पुनःविचारका लागि आएको कृषि विधेयकदेखि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत भएका छन् ।
बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले १ कार्तिकमा फिर्ता गरेको प्रदेश कृषिविकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनःविचारका लागि संसदमा पेश भएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले कृषि विधेयक पेश गर्दा प्रदेशप्रमुख देवकोटाले औंल्याएका कमजोरी र सुझावको प्रतिवेदन पनि समावेश गरेका छन् । विधेयक पुनःविचार भएर फेरि प्रदेशप्रमुखकोमा गएर प्रदेशप्रमुखले प्रमाणीकरण गरेपछि प्रदेश राजपत्रमा प्रकाशन पश्चात कानुनको रुपमा लागू हुनेछ ।
प्रदेशप्रमुख देवकोटाले प्रदेशसभाको ७ असोजमा बसेको बैठकले पारित गरेका दुइटा विधेयक प्रमाणीकरण गर्दा अर्को कृषि विधेयक १ कात्तिकमा फिर्ता पठाएका थिए ।
प्रदेशसभा शिक्षा, स्वास्थ्य तथा कृषि समितिको गत १४ भदौमा बसेको बैठकबाट पारित कृषि विधेयकलाई ७ असोजको प्रदेशसभा बैठकले अनुमोदन गरेर प्रदेशप्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि पठाएको थियो ।
देवकोटाले विधेयकको दफा १४, १५, २१, २२, २७ र २९ मा त्रुटि रहेको भन्दै सभामुख भुवनकुमार पाठकलाई सन्देश सहित विधेयक फिर्ता गरेका थिए । कृषि विधेयकलाई प्रदेश मन्त्रिपरिषद्ले ५ भदौ २०८० मा प्रदेशसभामा पेस गर्ने निर्णय गरेको थियो । विधेयक प्रदेशसभाको कृषि समितिमा एक वर्षदेखि थन्किएको थियो ।
कृषि क्षेत्रमा अनुदान वितरण गर्ने जस्तो दीर्घकालीन असर गर्ने गम्भीर विषयमा बनाइएको विधेयक झारा टार्ने गरी ल्याइएको थियो । प्रदेशसभा सदस्यले छलफल गरेर अन्तिम रुप दिएको विधेयकमा सम्बन्धित निकायले कुनै पनि जोखिम नलिने गरी कानुन बनाउन खोजिएको हो ।
राज्यको ढुकुटी व्यापक दुरुपयोग हुन सक्ने गरी विधेयकमा छिद्र राखिएको छ । कानुन आफू अनूकुल प्रयोग गर्न मिल्ने गरी तीनवटा निकायले अनुदान मनपरी ढंगले बाँड्न सक्ने छिद्र राखेर विधेयक बनेको पाइएको थियो ।
कृषि विधेयक आउनु अघि २०७९ मा अध्यादेश ल्याइएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ५ असोज २०७९ मा प्रदेश कृषिविकास अध्यादेश, २०७९ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठायो । कृषिविकास अध्यादेश, २०७९ ल्याउँदा शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा काभ्रेका बसुन्धरा हुमागाईं कृषिमन्त्री थिए ।
यसैगरी, बुधवारको बैठकमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेकी छन् । युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद ऐन संशोधन विधेयक प्रदेशसभामा पेश गरेका छन् ।
स्वास्थ्यमन्त्री किरण थापाको तर्फबाट श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक पेश गरेका छन् । बुधबार बसेको दोस्रो बैठकले प्रदेशसभामा पेश भएका विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।
विधेयकको सैद्धान्तिक पक्षमाथि सांसद प्रेमबहादुर पुलामी, रत्नप्रसाद ढकाल र उद्धव थापाले छलफलमा भाग लिएका थिए । उनीहरुले उठाएका प्रश्नको विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिएका थिए ।
प्रश्नउत्तरपछि सभामुख भुवनकुमार पाठकले विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । पेश भएका विधेयक सर्वसम्मतीले स्वीकृत भएको छ । प्रदेशसभाको अर्को बैठक आज बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।