हेटौंडाबाट हुँदै आएको निर्यात व्यापारमा गिरावट

हेटौंडा । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार घटेको छ । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनाको तुलनामा चालु आवको छ महिनामा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको हो ।
चालु आव २०८१/८२ को गत साउनदेखि पुस मसान्त सम्ममा मकवानपुरबाट पाँच करोड ५९ लाख सात हजार ९९३ रुपैयाँ बराबरको निर्यात भएको छ । उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य संघका अनुसार गत आव २०८०/८१ मा मकवानपुरमा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले २२ करोड ७० लाख ८० हजार ३१० रुपैयाँ बराबरको निर्यात गरेका थिए ।
व्यापारिक प्रतिष्ठान र उद्योग गरी गत आवको पहिलो छ महिनामा पाँचवटा र चालु आवको पहिलो छ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकमा निकासी गरेको संघले जनाएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले पछिल्लो समयमा आर्थिकमन्दीसँगै लगानीमैत्री वातावरण नभएका कारण अपेक्षा अनुसार निर्यात नभएको बताए ।
मकवानपुरबाट चालु आवमा प्याक्ट ग्रुप क्लोजर, रिद्धिसिद्धि सिमेण्ट उद्योग, इभान्स लाइफ साइन्सेस प्रा।लि।र सिक्स भिल्ला प्रा.लि.ले निर्यात गरेको छ । यी उद्योग र व्यापारिक प्रतिष्ठानले प्लाष्टिकका बिर्को, सिमेण्ट, लोठसल्लाको पाउडर, पास्ता, कुरकुरेलगायतका खाद्यान्न निर्यात गरेको संघले जनाएको छ । संघका अनुसार प्याक्ट ग्रुप क्लोजर मर्मतको क्रममा रहेकोले पनि चालु आवको पहिलो छ महिनाको निर्यातमा ह्रास आएको हो ।
लोठसल्लाको पाउडर निर्यात गर्दै आएको इभान्स लाइफ साइन्सेस प्रा।लि।ले निर्यात व्यापारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै संघले यसअघि सम्मान गरेको थियो । गत आवमा बिस्कुट, पपलगायत उत्पादन भारततर्फ निर्यात गरेको खजुरीको नेपाल प्रा.लि. को उत्पादन चालु आवमा निर्यात भएको छैन ।
गत आव २०८०/८१ मा मकवानपुर जिल्लाका विभिन्न उद्योगबाट ४३ करोड ५३ लाख ९४ हजार ९९४ रुपैयाँ बराबरको उत्पादन भारत तथा तेस्रो मुलुकमा निर्यात भएको थियो ।
मकवानपुरबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा हरेक वर्ष गिरावट आएको छ । तेस्रो मुलुकमा हुने निर्यात करिव ठप्पै भएको छ ।
बिगतको ईतिहास हेर्दा मकवानपुरबाट २०७४/७५ को पहिलो ६ महिनामा ९ करोड ७१ लाख ३१ हजार रुपैयाँ बराबर निर्यात व्यापार भएको थियो । त्यतिबेला मकवानपुरका सातवटा उद्योगको निर्यातका लागि उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र जारी गरेको थियो ।
हेटौंडा औद्योगिक क्षेत्रमा रहेका औद्योगिक प्रतिष्ठानले बस्तु उत्पादनमा भन्दा ट्रेडिङ व्यवसायतर्फ उन्मुख भएको उद्योग संघका पूर्वअध्यक्ष नवराज अर्यालले बताए । सरकारले उत्पादन गर्ने उद्योगलाई बढी कर लगाउने र भारतीय बजारबाट तयारी बस्तु ल्याएर मार्केटिङ गर्ने उद्यागलाई प्राथमिकता दिएको अर्यालले बताएका छन् ।
तत्कालीन बालाजी नेचुरल ईण्डस्ट्रीजले लोठसल्लाको प्रशोधन गरी टेक्सास बोकाटालगायतका औषधिजन्य कच्चापदार्थ निर्यात गरेको थियो ।निर्यात गर्ने व्यवसाय चुनौतीपूर्ण बन्दै गएको उद्योग संघले जानकारी दिएको छ ।
एक दसकअघि मकवानपुरका २५ निर्यातमूलक उद्योगमध्य १९ वटा क्रसरजन्य उद्योग थिए । क्रसरजन्य उद्योगको उत्पादन निर्यातमा नेपाल सरकारले रोक लगाएपछि मकवानपुरको निर्यात व्यापारमा भारी गिरावट आएको हो । आव २०७०/७१ मा मकवानपुरबाट निर्यात गर्ने उद्योगको संख्या २७ वटा पुगेको थियो ।
युनिलिभर नोपाल लि., एशियन पेन्ट्स प्रालि., अन्टार्टिक बिस्कुट ईण्डस्ट्रीज प्रालि. जस्ता बहुराष्ट्रिय उद्योगले करिव १३ बर्षदेखि निर्यात ब्यापार गरेका छैनन् । आब २०७०/७१ मा मकवानपुरबाट निर्यात ब्यापार गर्ने उद्योगको संख्या २२ वटा रहेका थिए । मकवानपुरबाट २०७४/७५ मा भारततर्फको निकासी २३ दसमलव ७८ प्रतिशतले घटेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
आव २०७१/७२ मा ४८ करोड ७७ लाख रुपैयाँको निर्यात व्यापार भएकोमा २०७२/७३ मा ३७ करोड ५ लाख रुपैयाँमा झरेको थियो । त्यस्तै २०७३/७४ मा ३५ करोड रुपैयाँको निर्यात व्यापार भएकोमा २०७४/७५ मा २६ करोड ६७ लाख रुपैयाँमा सीमित भएको मउवासंघले जनाएको छ । नेपालमा लगानीको वातावरण नभएको भन्दै लगानीकर्ता पलायन भइरहेका छन् ।