अदालतको आदेशपछि हेटौंडामा उठ्न छाड्यो फोहोर

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आजदेखि फोहोर संकलन गर्न छाडेको छ । हाल फोहोर व्यवस्थापन गरिरहेको स्थानमा फोहोर नफाल्न उच्च अदालत पाटन हेटौंडा इजलाशले अन्तरीम आदेश दिएसँगै उपमहानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै फोहोर संकलन नगर्ने सूचित गरेको छ ।
दैनिक २६ टनभन्दा बढी फोहोर संकलन हुने हेटौंडामा फोहोर संकलन रोकिँदा सडकमा फोहार थुप्रिएर वातावरण दूर्गन्धित हुने खतरा बढेको छ । हेटौंडा उपमहानगरको व्यवस्थित र दीर्घकालीन डम्पिङ साइटको निर्माण नभएकोमा हेटौंडा–१० स्थित सिसौघारी नजिकै राप्ती खोला किनारमा फोहोर व्यवस्थापन गर्दै आइएको छ ।
फोहोर व्यवस्थापन अव्यवस्थित भएको र नकुहिने फोहोरलाई आगो लगाएर वातावरण प्रदूषण गरिएको भन्दै योगेन्द्र प्रसाद उपाध्यायले उच्च अदालत हेटौंडा इजलाशमा रिट निवेदन दिएका थिए । सो निवेदनमाथि न्यायाधीश डा। निर्मला पौडेल भट्टराईले मंगलबार अल्पकालीन अन्तरीम आदेश जारी गरेकी हुन् ।
‘वातावरण प्रदूषण जस्तो संवेदनशील विषयमा अन्तरिम आदेशसमेत मााग गरिएकाले विपक्षीबाट हेटौंडा–१० स्थित गोरक्षश्वर मन्दिरभन्दा दक्षिणतर्फ राप्तीतटमा फोहोर नफान्नू, फोहोर फाल्न नलगाउनू भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’ उच्च अदालत पाटन हेटौंडा इजलाशबाट जारी आदेशमा भनिएको छ ।
उच्च अदालत पाटन हेटौँडा इजलासले माघ २९ गते दुवै पक्षलाई अदालतमा छलफलको लागि बोलाएको छ । हेटौँडा उपमहानगरपालिकाले २०२६ सालदेखि फोहर व्यवस्थापन गर्दै आएको डम्पिङ साइटमा पहिलोपटक फोहर फाल्न रोक लगाइएको हो ।
ग्रीन एण्ड क्लिन सिटी हेटौँडाका सञ्चालक नवराज खतिवडाले फोहोर संकलनको काम हाललाई आदेशबमोजिम स्थगित गरिएको बताए ।