बागमती प्रदेशसभा स्थापनाको ७ वर्ष पूरा, कानून निर्माणमा अझै सुस्त

संवाददाता
माघ २५, २०८१

हेटौंडा । बागमती प्रदेशसभाले स्थापनाको ७ वर्ष पार गरेको छ। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा प्रदेश राजधानी हेटौंडामा सातौं वार्षिकोत्सव मनाइएको छ ।

प्रदेशसभाको सातौँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले प्रादेशिक संरचनाको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्ने बताए ।

उनले प्रदेश संरचनाबारे हुने टीकाटिप्पणीलाई शब्दले भन्दा पनि कामले जवाफ दिनुपर्ने बताए । कार्य व्यवस्था परामर्श समिति, विषयगत समिति, प्रदेश सांसद् र मन्त्रिपरिषदको क्रियाशीलताले प्रदेशसभालाई थप प्रभावकारी बनाउने सकिने उनको भनाई छ ।

प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको गरिमा कायम राख्न प्रदेश सरकार चनाखो हुनुपर्ने बताए। प्रदेशलाई बलियो बनाउन आवश्यक पर्ने कानूनहरूलाई निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

राजनीतिक चश्मा फुकाली जनहितका मुद्दाहरूमा आपसी मेलमिलाप र समझदारीको सन्देश जनतामा पुर्‍याउनसमेत उनले आग्रह गरे ।यसैगरी समारोहमा मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशबिना संघीयताको परिकल्पना गर्न नसकिने बताए। विरोधको लागि विरोध गर्नेहरुले मात्र प्रदेशमाथि प्रश्न उठाएको उनको आरोप थियो ।

मुख्यमन्त्री लामाले प्रादेशिक संरचनाबाट मात्रै विकास हुन्छ भन्ने मान्यतालाई पुष्टि गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको दावी गरे। उनले विगतको सरकारका अधुरा योजनाहरु अगाडि बढाउने समेत बताए ।

कार्यक्रममा प्रदेशका पूर्वमुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश संरचनामाथि विवाद गर्न आवश्यक नरहेको बताए। कामबाट नै प्रदेश सरकारको औचित्य पुष्टि भइसकेको उनले जिकिर गरे ।

विकास निर्माण र सेवा प्रवाहको नेतृत्व प्रदेश संरचनाले गर्ने भएकोले सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा प्रदेशसभामा नियमित उपस्थित जनाउने प्रदेशसभा सदस्यहरु उद्धव थापा, गोविन्द लम्साल, बालकुमारी विश्वकर्मा, मायाकुमारी कार्की र रामप्रसाद ढुंगनालाई सम्मान गरिएको थियो ।

सभामुख भुवन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा उपसभामुख अप्सरा चापागाई, पूर्वसभामुख सानुकुमार श्रेष्ठ, संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलगायत प्रदेश सरकारका मन्त्री र सांसद्हरुको उपस्थिति रहेको थियो ।

प्रदेशसभा सचिवालयलाई आफ्नो कर्ममार्फत् योगदान पुर्‍याएको भन्दै सचिवालयका कर्मचारीहरुलाई नगद तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

कानून निर्माणमा अझै सुस्त

२०७४ माघ १८ पहिलो बैठक बसेको बागमती प्रदेशभाको दोश्रो कार्यकालबाट प्रत्यक्ष ६६ र समानुपातिकतर्फबाट ४४ जना गरी ११० जना सांसद निर्वाचित भएका थिए। हाल प्रदेशमा ७० जना पुरुष र ४० जना महिला सांसद छन् ।

प्रदेशसभामा नेतृत्व गर्ने दलमध्ये कांग्रेसका ३५, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

दोश्रो कार्यकालको २०७९ पुस १८ गते शपथ लिएर त्यही दिन पहिलो बैठकसमेत बसेको थियो। दोश्रो कार्यकालको हालसम्म ४ वटा अधिवेशन सम्पन्न भईसकेका छन् ।

३७२ वटा बैठक बसेको प्रदेशसभाबाट ८२ वटा कानून निर्माण भएको छ भने १४ वटा अध्यादेश सभाबाट स्वीकृत भएका छन् । बागमती प्रदेशसभाबाट प्रदेश सरकारी कामकाजको सम्बन्धमा बनेको विधेयक पारित भएसँगै बागमती प्रदेशमा नेवारी भाषा र तामाङ भाषा सरकारी कामकाजीको भाषाको रुपमा सूचीकृत भएका छन् ।

हाल प्रदेशसभाबाट प्रदेश निजामती सेवा विधेयक, प्रदेश प्रहरी विधेयक र स्थानीय सेवाको गठन तथा सञ्चालनसम्बन्धी विधेयक बागमती प्रदेशबाट पारित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*