मकवानपुरमा बाढीपहिरो क्षतिबाट १ अर्ब ९ करोडको बीमा दाबी
हेटौंडा । गत असोज दोस्रो साताको बाढीपहिरोबाट मकवानपुरमा भएको क्षतिमा १ अर्ब ९ करोडभन्दा बढीको बीमा मागदाबी गरिएको छ ।नेपाल बीमा प्राधिकरणका अनुसार २१ कात्तिकसम्म मकवानपुरमा ३२ वटा दाबी संख्याबाट कुल १ अर्ब ९ करोड २३ लाख रुपैयाँ बराबर मागदाबी परेको हो ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा बाढीपहिरोले बढी क्षति गरेको थियो । जिल्लाको थाहा नगरपालिका, भीमफेदी, बकैया, मकवानपुरगढी गाउँपालिकामा धेरै क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मकवानपुरको क्षति मूल्यांकनमा छ । मकवानपुरमा असोज १०–१२ गतेभित्र ७ जनाको मृत्यु, सयौं घरटहरासहित माण्डु हाइड्रो पावर क्षति भएको थियो ।
यसैगरी, देशभर साढे १० अर्ब रुपैयाँभन्दा बढीको बीमा मागदाबी गरिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार २१ कात्तिकसम्म ३ हजार ४ सय ६० वटा दाबी संख्याबाट कुल १० अर्ब ५३ करोड २८ लाख रुपैयाँ बराबर मागदाबी परेको हो ।
बाढीपहिरोपछि १५ असोजमा मुख्यसचिव एकनारायण अर्यालले पत्रकार सम्मेलन गर्दै १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको बताएका थिए ।
बाढीपहिरोको डेढ महिना हुन लाग्दा पनि क्षतिको यकिन विवरण सरकारले सार्वजनिक गरेको छैन । सडक लगायत भौतिक संरचना साथै व्यक्तिगत सम्पत्तिमा ठूलो क्षति पुगेको छ । बागमती प्रदेशको मकवानपुरसहित जिल्लामा बढी क्षति पुगेको थियो ।
दक्षिणी ललितपुर र उपत्यकामा नै नख्खु खोलाले ललितपुरमा ठूलो क्षति पु¥याएको थियो । काभ्रेपलाञ्चोकमा रोशी खोलाको आधारक्षेत्र पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा भौतिक संरचना र कृषि तथा पशुचौपायामा ठूलो क्षति पुग्यो ।
काठमाडौं र भक्तपुरका बागमती तथा त्यसका सहायक नदीका करिडोर र आसपास क्षेत्रमा डुबानका कारण त्यस क्षेत्रमा सञ्चालन भएका व्यापार–व्यवसायमा क्षति पुगेको थियो ।
बीमा कम्पनीमा परेको मागदाबी विवरणले पनि १० देखि १२ असोजसम्मको भारी वर्षापछिको बाढी–पहिरोका कारण ठूलो क्षति पुगेको देखाउँछ ।बीमा माग दाबीको तथ्यांक हेर्दा सबैभन्दा धेरै क्षति काठमाडौंमा भएको छ ।
त्यसपछि ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक र भक्तपुरमा क्षति पुगेको छ । काठमाडौंमा मात्रै ४ अर्ब ४८ करोड ५६ लाख ७६ हजार रुपैयाँको मागदाबी परेको बीमा प्राधिकरणको तथ्यांक छ ।
१ हजार ८ सय ५४ वटा दाबीमार्फत उक्त रकम मागदाबी भएको हो । यस्तै ललितपुरमा ६ सय ७७ दाबीमार्फत २ अर्ब ४२ करोड ४३ लाख रुपैयाँको मागदाबी परेको छ ।
मकवानपुरमा ३२ दाबीमार्फत १ अर्ब ९ करोड, चितवन ४६ दाबीमार्फत ६४ करोड ४६ लाख, भक्तपुर १ सय ३८ दाबीमार्फत ४७ करोड ७१ लाख र काभ्रेपलाञ्चोकमा १ सय ८७ दाबीमार्फत ३० करोड ९२ लाख रुपैयाँको मागदाबी परेको छ ।
सबैभन्दा धेरै मागदाबी सम्पत्ति बीमामा देखिएको छ । तर, सरकारी आँकडा अनुसार ६ अर्बभन्दा धेरैको क्षति भएको कृषिक्षेत्रमा बीमाको मागदाबी भने न्यून देखिएको छ ।यसैगरी, कुल मागदाबीमा २० कात्तिकसम्म ६ सय ३७ को ४७ करोड १५ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी भएको छ ।
नेपाल बीमक संघका महासचिव अशोक खड्का बीमा कम्पनीले दाबी भुक्तानीका लागि आवश्यक कागजातमा सहजीकरण गर्दा समेत मागदाबी गर्नेले आवश्यक कागजात पेस गर्न ढिलाइ गर्दा दाबी भुक्तानीमा समेत ढिलाइ भएको बताउँछन् । साढे १० अर्बको मागदाबी भए पनि बीमा सर्भेयरले गएर क्षतिको यकिन विवरण दिँदा त्यसको एक चौथाई पनि नदेखिने उनले बताए ।