२१५६ नयाँ घरेलु उद्योग र फर्म दर्ता, प्रदेशभर प्रभावकारी बजार अनुगमन

संवाददाता
कार्तिक २९, २०८१

हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले मन्त्रालय सम्हालेको १०० दिनको कार्यप्रगति विवरण सार्वजनिक गरेकी छन् ।

गत ९ साउनमा मन्त्री नियुक्त भएकी तामाङले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाबाट पारितभई प्रदेश राजपत्रमा प्रकाशनपछि कार्यान्वयनमा आएको बताइन् ।

‘प्रदेश औद्योगिक व्यवसाय ऐन’ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन’ तयार गरी अन्य मन्त्रालयबाट राय लिई मन्त्रिपरिषद्मा पेश गर्ने प्रक्रियामा रहेको जानकारी दिइन् ।

मन्त्री तामाङले आर्थिक वर्ष २०८१÷८२ का लागि स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइएको बताइन् । उनले उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्दै ‘प्रविधि हस्तान्तरणसम्बन्धी कार्यविधि, २०७९’ मा आवश्यक संशोधन गरी प्रविधि हस्तान्तरण कार्यक्रम अघि बढाउने योजना रहेको उल्लेख गरेकी छन् ।

यस्तै, अविरल वर्षा र बाढीका कारण उद्योगमा भएको क्षतिका विवरण संकलन गरी प्रदेश नीति तथा योजना आयोगमा पठाइएको छ । मन्त्री तामाङले ‘नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१’ तर्जुमा गरी उत्कृष्ट उद्यमीलाई सम्मान गर्न यो वर्ष प्रदेशभरबाट १४ जना उद्यमी छनोट गर्ने योजना सार्वजनिक गरिन् ।

साना र घरेलु उद्योगको प्रवद्र्धनसाना, घरेलु तथा लघु उद्योगको प्रवद्र्धनमा पनि मन्त्रालयले स्थानीयस्तरमा स्वरोजगारी सिर्जना गर्ने नीति अनुसार तालिम कार्यक्रमको मस्यौदा तयार गरी आर्थिक मामिला मन्त्रालयमा राय माग गरिएको मन्त्री तामाङले जानकारी दिइन् । चालु आर्थिक वर्षमा मात्रै करिब २ हजार १ सय ५६ नयाँ उद्योग र व्यापारिक फर्म दर्ता भइसकेको छ ।

बजार अनुगमनमा सक्रियतादशैं, तिहारलगायत चाडपर्वमा कालोबजारी नियन्त्रण र उपभोक्ता संरक्षणका लागि नियमित बजार अनुगमन गरिएको मन्त्री तामाङले बताइन् । यसक्रममा १३ वटै जिल्लाका उद्योग तथा वाणिज्य कार्यालयले करिब ५ सय ४५ फर्मको अनुगमन गरी ६ लाख ५५ हजार जरिवाना र म्याद नाघेका सामग्री नष्ट गरिएको उनले बताएकी छन् ।

मन्त्रालयले नापी कार्यालय मकवानपुरमा सर्भेपार्क निर्माण तथा गण्डकी प्रदेशको अनुभवको आधारमा चाक्लाबन्दीको सम्भाव्यता अध्ययन गर्ने कार्यको थालनी गरेको छ । साथै, भूमि व्यवस्थापन नीति, औद्योगिक नीति, वाणिज्य नीति लगायत नीति तर्जुमा गर्ने अवधारणापत्र निर्माण प्रक्रियामा रहेको उनले जानकारी दिइन् ।

मन्त्री तामाङले कानूनी र व्यावहारिक समस्याको सामना गर्दै मन्त्रालयले विभिन्न चुनौतीका बीचमा महत्वपूर्ण कार्य सम्पन्नगरेकोमा खुशी व्यक्त गरिन् । ‘जहाँ चुनौती हुन्छ, त्यहीँ समाधानको बाटो खुल्छ । राज्यको चौतर्फी हितका लागि हामी निरन्तर क्रियाशीलरहनेछौं’ उनले भनिन् ।

मन्त्री तामाङका अनुसार मन्त्रालयले प्रदेश लगानी बोर्ड, भूमि बैंक स्थापनाका लागि नीतिगत आधार तयार गर्दै डिजिटल सूचना प्रणालीमार्फत् पारदर्शिता कायम गर्न जोड दिएको छ । मन्त्रीको सयदिने कार्यकालमा बागमती प्रदेशको औद्योगिक, वाणिज्यिक, र प्रशासनिक सुधारमा देखिएका यी उपलब्धिलाई उनले राज्यको हितमा नयाँ आयामको थालनीका रुपमा लिएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*