हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग सञ्चालनमा, कान्तिलोकपथ खुलेन

संवाददाता
अशोज २१, २०८१

हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीका दुवै वैकल्पिक सडक सञ्चालनमा आएको छ । बाढीपहिरोका कारण अवरुद्ध हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक नौ दिनपछि आइतबार साँझबाट सञ्चालनमा आएको हो ।

कुलेखानी ड्याम मुनिको पुल पहुँच मार्ग बाढीले बगाएपछि डाइभर्सन बनाएर हेटौंडा–काठमाडौं जोड्ने दुवै वैकल्पिक सडक अस्थायी रुपमा सञ्चालनमा ल्याइएको पत्रकार सम्मेलनमार्फत बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले जानकारी दिए ।

महालक्ष्मीखोला–चखेल–मातातीर्थ सडक खण्ड, महालक्ष्मीखोला–फाखेल–फर्पिङ र सिस्नेरी–दक्षिणकाली–फर्पिङ यसअघि नै सुचारु भइसकेको थियो ।सो सडक सुचारु भएपनि कुलेखानी ड्याम मुनिको पुलमा ठुलो क्षति हुँदा हेटौंडा–काठमाडौं सडक सञ्चालनमा आउन सकेको थिएन ।

गत असोज ११ र १२ गतेको बाढी, पहिरोले हेटौंडा काठमाडौं जोड्ने सबै सडकमा क्षति पुर्‍याएको थियो । सडममा खसेको पहिरो पन्छाएर यसअघि नै थानकोट–चित्लाङ, वज्रवाराही–कुन्छाल–पालुङ हुँदै हेटौँडा त्रिभुवन राजपथ सञ्चालन हुँदै आएको थियो । वैकल्पिक सडक चित्लाङ–चन्द्रागिरी–काठमाण्डौ खण्ड आईतबारबाटै सञ्चालनमा ल्याईएको थियो ।

यससंगै कान्तिलोकपथ बाहेक हेटौंडा–काठमाडौं जोड्ने सबै सडक सञ्चालनमा आएको छ । मकवानपुर र ललितपुर जोड्ने बागमती पुलमा मकवानपुरतर्फ ठुलो कटान हुँदा कान्तिलोकपथ अझै सञ्चालनमा आउन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*