अमलेखगंज–हेटौंडा–लोथर पेट्रोलियम पाइपलाइन सम्झौता

हेटौंडा । बाराको अमलेखगंजदेखि चितवनको लोथरसम्म ६२ किमि पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयमा सम्झौता भएको छ । मकवानपुरको चुरेदेखि लोथरसम्म ५० किमि राजमार्ग क्षेत्रमा पाइपलाइन निर्माण हुन लागेको हो ।
भारत सरकारको अनुदानमा २ वटा पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको हो । बिहीबार भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म र बाराको अमलेखगन्ज देखि चितवनको लोथरसम्म दुईवटा पाइपलाइन निर्माण गर्ने विषयमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसनका निर्देशक सेन्थल कुमारबीच भारतको नयाँदिल्लीमा सम्झौता भएको हो ।
नेपाल आयल निगमले बिजिनेस टु बिजिनेस ९बीटुबी० मोडलमा दुई पेट्रोलियम पाइपलाइन निर्माण गर्ने गरी गतवर्ष भदौदेखि तयारी सुरु गरेको थियो । निगमले गतवर्ष मंसिरभित्र थप दुई पाइपलाइन निर्माण गर्ने विषयमा सम्झौता गर्ने गरी गृहकार्य आगाडि बढाएपनि बिहीबारमात्रै भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतिस कुमारको उपस्थितिमा सम्झौता भएको नेपाल आयल निगमले जनाएको छ ।
सम्झौताअनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुनेछ । अमलेखगञ्जबाट चिवनको लोथरसम्म ६२ किमी लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।
लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमले निर्माण गर्नेछ । यो दुबै पाइप लाइन आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँ रहेको निगमले जनाएको छ ।
२०८० जेठमा तत्कालीन प्रधामन्त्री पुष्पकमल दाहालको भारत भ्रमण भएको समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग २ वटा पाइपलाइन निर्माण गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको थियो ।
यसअघि केपी ओली दुइतिहाई बहुमतको प्रधानमन्त्री भएको समयमा अमलेखगंज–हेटौंडा–लोथर पेट्रोलियम पाइपलाइन निर्माणको सर्भे कार्य हुँदैछ भन्ने सन्देश दिन पूर्वपश्चिम राजमार्गको हरेक ५ किमि क्षेत्रमा होडिङ बोर्ड लगाइएको थियो ।
पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयमा नेपाल–भारतबीच संझौता नहुँदै राजमार्गमा होडिङ बोर्ड लगाएर जनताको आँखामा छारो हाल्न मात्र खोजेको भन्दै नागरिक समाजले यसको बिरोध गरेको थियो ।
गतवर्ष तत्कालीन प्रम प्रचण्ड भारत भ्रमणका क्रममा दुई देशका प्रमबीच पाइपलाइन निर्माणको विषयमा सम्झौता भएको एक वर्षपछि दुई देशको आयल निगमबीच संझौता भएको हो ।
अब भारतीय प्राबिधिक टोलीले डिटेल प्रोजेक्ट रिपोर्ट ९डीपीआर० तयार गरेपछि बल्ल निर्माणको काम अगाडि बढ्ने छ ।मोतिहारी–अमलेखगंज ६९ किमि पाइपलाइन परियोजना सफल भएपछि नेपाल आयल निगमले अमलेखगंज–हेटौंडा–लोथर पाइपलाइन बिस्तार गर्न प्रस्ताव गरेको थियो ।
भारतीय आयल निगमले बाराको अमलेखगंजस्थित डिपोमा ४१०० किलोलिटर क्षमताका दुई ‘पेट्रोल ट्याक’, २५० किलोलिटर क्षमताका दुई ‘ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित ‘लोडिङ वे–रिफिलर’, ‘पम्प हाउस’ र प्रयोगशाला निर्माण गरेको थियो ।पेट्रोल र डिजेल दुबैमा हुनसक्ने मिसावट, ढुवानी अबरोध आदि कारणले पाइपलाइन उपयुक्त हुने बताइएको छ ।
एउटै पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न सम्भव भएपनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्यांकरबाटै पेट्रोलियमपदार्थ ल्याउनुपर्ने निगमको बाध्यता छ । पाइप लाइनबाट पेट्रोलियमपदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी खर्च जोगिने तथा वातावरणीय प्रदूषण कम हुनेछ ।