लटारम्मेश्वरमा मन्दिरको भवन निर्माण गर्न महायज्ञ

संवाददाता
साउन १८, २०८१

हेटौंडा । मकवानपुरको बकैया र भीमफेदी गाउँपालिकाको सीमानामा रहेको धार्मिक एवम् पर्यटकीय क्षेत्र लटारम्मेश्वर महादेव मन्दिरमा ओमकार भवन निर्माणका लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ लगाइएको छ ।

बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले महायज्ञको उद्घाटन गरेका छन् । धार्मिक एवम् पर्यटकीय क्षेत्र लटारम्मेश्वरको विकासका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने मन्त्री ठकुरीले प्रतिवद्धता जनाएका छन् । उनले लटारम्मेश्वर बागमती प्रदेशको गौरव रहेको बताउँदै त्यसलाई जोगाउने सबैको दायित्व रहेको स्पष्ट पारे ।

कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले लटारम्मेश्वर क्षेत्रमा पुग्दा अदभुत अनुभूति हुनेगरेकाले पालिकाको तर्फबाट पनि त्यसको विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

उनले छिट्टै त्यस क्षेत्रको डिपिआर गर्ने तयारी भइरहेको जानकारी दिर्दै त्यहाँसम्म पुग्न ठाउँठाउँमा संघ र प्रदेश सरकारसँगको सहकार्यमा मोनोरेल राख्ने योजना रहेको सुनाए । बकैया गाउँपालिका वडा नं. १२ का वडाअध्यक्ष ज्ञानेन्द्र बजगाईंले लटारम्मेश्वरको विकास गर्न वडाबाट पनि बजेट विनियोज गरिएको बताए ।

भौगोलिक विकटताले संरचना निर्माण महंगो पर्न गएको उनले जानकारी दिए । उनले ओमकार भवन बनाउन सबै भक्तलाई सहयोग गर्न अनुरोध पनि गरे । ख्यातिप्राप्त वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलले कथावाचन गरिरहेका छन् ।

सुनमाया घले ९माता० को संयोजनमा हेटौंडा उपमहानगरपालिका–४ स्थित पशुपति मन्दिरको सभाहलमा भइरहेको महायज्ञमा बिहान नित्य पूजा र बेलुका आरती हुनेछ ।

श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ मूलसमारोह समिति र ओम लटारम्मेश्वर महादेव मन्दिर निर्माण तथा व्यवस्थापन समितिको आयोजनामा साउन १६ गतेदेखि सुरु भएको महायज्ञ २२ गतेसम्म चल्नेछ ।

उद्घाटन कार्यक्रममा बकैया गाउँपालिका–५ का अध्यक्ष लक्ष्मी जिम्बा, वडा नं. ११ अध्यक्ष गोपाल बहादुर न्यासुर, समाजसेवी एवम् धार्मिक व्यक्तित्व राजेश वाग्लेलगायत भक्तजनको सहभागिता रहेको थियो ।

समुद्रीसतहबाट एकहजार ८ सय ५६ मिटरको उचाइमा रहेको यो मन्दिरबाट देखिने मनोरम दृश्यले यहाँ धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको छ ।

यज्ञकुण्डमा हाम फालेर जलेकी सतीदेवीको मृतशरीर बोकेर महादेव त्रिलोक भ्रमण गर्दा सतीदेवीको लट्टा खसेको स्थानका रुपमा मकवानपुरमा लटारम्मेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ ।

डब्लुडाँडाको थुम्कोमा महादेवको मन्दिर छ । थुम्कोमा पुगेपछि देखिने प्राकृतिक दृश्यले पर्यटकलाई हिँडाइको थकान मेटाउँछ । डब्लु डाँडालाई छिनमै बादलले ढकमक्क ढाक्छ । छिनमै बादल फाटेर प्राकृतिक सुन्दरता देखिनु यो मन्दिरको अर्को विशेषता हो ।

कान्तिलोकपथको बाटो हुँदै हेटौंडाबाट दुइघण्टा र काठमाडौंबाट २ घण्टाको दुरीमा ठिंगनबाट खोरभन्ज्याङबाट माथि लागेपछि करिव डेढदेखि दुइ घण्टाको पैदलयात्रा पश्चात महादेवको दर्शन गर्न यहाँ पुग्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*