एकैपटक मकवानपुरका चार न्यायाधीशको सरुवा

हेटौंडा । न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीशको सरुवा गर्दा हेटौंडास्थित उच्चअदालत पाटन हेटौंडा इजलाश र मकवानपुर जिल्ला अदालतका चारजना न्यायाधीश सरुवा भएका छन् प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले उच्चअदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो ।
चारजना सरुवा भएर जाँदा मकवानपुरमा तीनजना न्यायाधीश आएका छन् । उच्चअदालत पाटन हेटौंडा इजलाशबाट न्यायाधीशहरु मेरिना श्रेष्ठ र निर्मला शाक्य, मकवानपुर जिल्ला अदालतबाट महेन्द्रबहादुर कार्की र मनकुमारी जिएम विकको सरुवा भएको हो ।
श्रेष्ठ उच्चअदालत पोखरा र शाक्य उच्चअदालत जनकपुर बीरगञ्ज इजलाश पुगेका छन् । यसैगरी मकवानपुर जिल्ला अदालतका न्यायाधीश कार्की काठमाडौं जिल्ला अदालत र विक धादिङ जिल्ला अदालत सरुवा भएको हो ।
न्यायापरिषद्ले उच्चअदालत पाटन हेटौंडा इजलाशमा एकजना न्यायाधीशको मात्रै सरुवा गरेको छ । उच्चअदालत पोखराकी न्यायाधीश निर्मला पौडेल भट्टराई हेटौंडा आएकी हुन् ।
न्याय परिषद्ले धादिङ जिल्ला अदालतकी न्यायाधीश गीता श्रेष्ठ र काठमाडौं जिल्ला अदालतकी शकुन्तला कार्कीलाई मकवानपुर जिल्ला अदालत सरुवा गरेको हो ।
न्याय परिषद्ले देशभरका उच्चअदालतका २६ र जिल्ला न्यायाधीश ६५ जनाको सरुवा गरेको हो । एकै कार्यथलोमा २ वर्ष अवधि पुगेकाहरुलाई सरुवा गरिएको न्याय परिषद्का अधिकारीले जानकारी दिए ।
जनक पाण्डे पाटनबाट सुर्खेत सरुवा भएका छन् । पाटनकै श्यामजी प्रधान नेपालगञ्ज सरुवा भएका छन् । धीरबहादुर चन्द पाटनबाट राजविराज सरुवा भएका छन् ।
लेखनाथ पौडेल पाटनमा हाल काजमा रहेकामा पाटनमै रहने गरी सरुवा भएका छन् । बासुदेव आचार्य विराटनगरबाट बुटवल, मदन पोख्रेल बाग्लुङबाट सुर्खेत, ध्रुवराज नन्द पाटनबाट विराटनगर सरुवा भएका छन् ।
टंकप्रसाद गुरुङ नेपालगञ्जबाट पाटन, हरिप्रसाद पौडेल पाटनबाट वीरगञ्ज, रामबहादुर थापा विशेष अदालतबाट सुर्खेत, राज्यलक्ष्मी बज्राचार्य विराटनगरबाट सुर्खेत, विमल सुवेदी राजविराजबाट विराटनगर पुगेका छन् ।
ऋषि राजभण्डारी इलामबाट पाटन, सुदर्शनराज पाण्डे पाटनबाट पोखरा, दीपेन्द्र अधिकारी पाटनबाट बुटवल, राजुराम सिलवाल तुल्सीपुरबाट जनकपुर, रामेश्वर रेग्मी सुर्खेतबाट पाटन सरुवाभएका छन् ।
यस्तै, जगदीश घिमिरे जुम्लाबाट जनकपुर, हरिश्चन्द्र ढुंगाना र खडानन्द तिवारी वीरगञ्जबाट पाटन, काजीबहादुर राई सुर्खेतबाट इलाम, रितेन्द्र थापा विशेष अदालतबाट दिपायल, सूर्यप्रसाद पराजुली बुटवलबाट पाटन सरुवा भएका छन् ।
श्यामजी प्रधान राजस्व न्यायाधीकरण नेपालगञ्जको अध्यक्ष हुनेछन् । श्रम अदालतको अध्यक्ष पदमा सुर्खेत उच्चअदालतका न्यायाधीश जनक पाण्डे सिफारिस भएका छन् ।