मकवानपुर ट्राफिकद्वारा दुई करोड ८३ लाख राजस्व संकलन

संवाददाता
साउन १८, २०८१

हेटौंडा । मकवानपुरमा गत आर्थिक वर्षमा ट्राफिक कारबाहीबाट दुइ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । आव २०८०/८१ को एक वर्षको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मकवानपुरमा गरेको ट्राफिक कारबाहीबाट यो राजस्व संकलन भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् प्रहरीनिरीक्षक केशव अधिकारीका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने ३७ हजार ९६० सवारी साधन कारबाहीबाट यो राजस्व असुल भएको हो । बितेको आर्थिक वर्ष २०७९/८० मा ४७ हजार ८९९ सवारी कारवाहीबाट तीन करोड ६९ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

तुलनात्मकरुपमा अघिल्लो आवको भन्दा गत आवमा सवारी कारवाही र राजस्व दुबै घटेको छ । ट्राफिक सचेतना फैलाएसँगै जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने घटेकाले राजस्व संकलनमा पनि कमी आएको अधिकारीको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिनाअनुमति सवारी चलाउने, सवारी साधनको कागजात ठीक नभएका वा अवैध कागजात भएको, मादकपदार्थ सेवन गरी सवारी चलाउने लगायतलाई गरिएको कारबाहीबाट राजस्व असुल गरिएको हो ।

गत आवमा सबैभन्दा बढी असार महिनामा ३१ लाख २९ हजार ५०१ र कम साउन महिनामा १२ लाख १२ हजार राजस्व संकलन भएको छ । ट्राफिक कारवाहीमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्याक्टर कारवाहीमा परेको तथ्यांक छ ।

गत आवमा २४५ सवारी दुर्घटनामा ५८ जनाले ज्यान गुमाए । ट्राफिकको तथ्यांक अनुसार जिल्लामा आव २०७७/७८ मा ३ सय ५३ सवारी दुर्घटनामा ५९ जना, २०७८/७९ मा ३ सय १७ सवारी दुर्घटनामा ७० जना र आव २०७९/८० मा २ सय ५२ सवारी दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका थिए ।

तुलनात्मक रुपमा अघिल्ला आवको भन्दा गत आवमा दुर्घटना र मृत्यु हुनेको संख्या घटेको छ ।गत आवमा दुई हजार पटक एक लाख ९६ हजार २९५ जनालाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

सवारी दुर्घटना न्यूनीकरण गर्न गत आवमा विद्यार्थी, नयाँ चालक, व्यवसायी, सरकारी कर्मचारी लगायतलाई कक्षा सञ्चालन गरिनुका साथै सचेतनामूलक पर्चा, पम्प्लेट, स्टिकर टाँस र चालकको स्वास्थ्य परीक्षण गरिएको थियो ।

ट्राफिक प्रहरीले आव २०७७/७८ मा ३२ हजार २ सय ३९ सवारी कारवाहीबाट २ करोड ७१ लाख ६ हजार ५ सय, आव २०७८/७९ मा ३० हजार ३ सय २७ सवारी कारवाहीबाट २ करोड ३६ लाख ९० हजार ५ सय र आव २०७९/८० मा ४७ हजार ८ सय ९९ सवारी कारवाहीबाट ३ करोड ६९ लाख ६७ हजार राजस्व संकलन गरेको तथ्यांक छ ।

गत आवको तुलनामा अघिल्ला आवको तथ्यांकलाई आधारमान्दा सवारी साधन कारवाही संख्या र राजस्व दुबै घटेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*