एक वर्षमा ७५६ किलोमिटर सडक कालोपत्रे

संवाददाता
साउन १८, २०८१

हेटौंडा । एक वर्षको अवधिमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा कालोपत्रेस्तरको नयाँ सडक विस्तार यो परिमाणमा भएको सडक विभागले जनाएको छ ।

यो वार्षिक लक्ष्यको तुलनामा ७९।११ प्रतिशत प्रगति हो । विभागले यस वर्ष ९५६ किलोमिटर नयाँ कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । यस अवधिमा ग्राबेलस्तरको सडक ३२८ किलोमिटर विस्तार भएको छ ।

यस आवमा ४ सय किलोमिटर ग्राबेल विस्तारको लक्ष्य थियो । लक्ष्यको ८२ प्रतिशत ग्राबेल सडक विस्तार भएको विभागले जनाएको छ । माटे सडक भने विभागले १६७ किलोमिटर विस्तार गरेको जानकारी गराएको छ ।

विभागका अनुसार यो भने लक्ष्यको १११ प्रतिशत हो । यस आवमा माटे सडक १५० किलोमिटर विस्तारको लक्ष्य थियो । आवधिक मर्मत भने २६१ किलोमिटरमा भएको छ । यो लक्ष्यको १०४ प्रतिशत हो ।

यस आवमा विभागले २५० किलोमिटर मर्मतको लक्ष्य थियो । विभागका अनुसार एक वर्षमा २०२ वटा पुल निर्माण भएका छन् । यस वर्ष १५० वटा मात्र पुल निर्माणको लक्ष्य थियो । लक्ष्यको तुलनामा १३४ प्रतिशत प्रगति भएको विभागको विवरणमा देखिन्छ ।

सडक विभागलाई यस आवमा ९८ अर्ब १७ करोड विनियोजन भएको थियो । जसमा ९५ अर्ब ९३ करोड पूँजीगत विनियोजन थियो । संशोधित बजेट भने १ खर्ब नाघेको थियो । संशोधित बजेट १ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो ।

खर्च भने ७४ अर्ब ५७ करोड रुपैयाँ बराबर भएको देखिन्छ । यो कुल विनियोजनको ६९।५२ प्रतिशत रहेको विभागले जनाएको छ । विभागले पूँजीगततर्फ ६९।१७ प्रतिशत र चालुतर्फ ८५।४० प्रतिशत खर्च गरेको देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*