न्यायिक समितिबाट ११ महिनामा एक सय बढी मुद्दामा मिलापत्र

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरमा रहेको न्यायिक समितिले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा एक सय १५ वटा विभिन्न विवादका निवेदनको मुद्दाको मिलापत्र गराएको छ ।
उपप्रमुख राजेश बानियाँको अध्यक्षतामा बसेको बैठकले निवेदनमाथी दुईपक्षको उपस्थितिमा मिलापत्र गरिएको न्यायिक समिति सचिवालयका अधिकृत सुजन तिमल्सिनाले बताए । समितिमा गत आवका २८ मुद्दा सहित चालु आवको जेठ मसान्तसम्ममा दुई सय ३८ विवादका निवेदन दर्ता भएको उनले बताए ।
‘निवेदनमाथी दुईपक्ष छलफल पश्चात कोहीको मिलापत्र गरिएको त कोहीको अदालत जानको लागि सुझाएका छौं,’ उनले भने । नगरका वडामा रहेको मेलमिलाप केन्द्रमा छलफल हुने र त्यहाँ टु·ो नलागेकाहरु नगरको न्यायिक समितिमा आउने गरेको न्यायिक समितिका संयोजक उपप्रमुख बानियाँले बताए ।
‘कतिपय विषयवस्तुको छलफल हुँदा पनि १० जना निवेदकलाई अन्य न्यायिक निकायमा जानलाई आग्रह गरेका छौं,’ संयोजक बानियाँले भने । ४ वटा निवेदन फिर्ता गरेको, ११ वटा मुलतवीमा राखेको र ३ वटा निवेदन तामेलीमा राखेको संयोजक बानियाँले बताए ।
‘हामीले ३६ जना निवेदकलाई अदालत जान सुझाएका छौं’ बानियाँले भने । वडा मेलमिलाप केन्द्रमा छलफलको प्रक्रियामा ५२ वटा निवेदन रहेको, न्यायिक समितिमा २९ वटा निवेदन प्रक्रियामा रहनुका साथै ६ वटा निवेदन डिसमिस पारेको संयोजक बानियाँले बताए ।
प्रायःजसो न्यायिक समितिमा जग्गा/साँधसीमाना सम्बन्धी र आर्थिक लेनदेनसम्बन्धी विवादका उजुरी बढी आउने गरेको जनाइएको छ । समितिमा जग्गा/साँधसीमानासम्बन्धी ६२ वटा, आर्थिक लेनदेनसम्बन्धी ५१ वटा, पति–पत्नीसम्बन्धी २१ वटा, बाटो सम्बन्धी २९ वटा, घरायसी/अंशबण्डा सम्बन्धी १९ वटा, ज्यालामञ्दुरी नपाएको १६ वटा, घरबहाल नपाएको/कोठा खाली गराई पाउँको १४ वटा, सहमति कार्यान्वयनको १२ वटा उजुरी परेका छन् ।
त्यस्तै गाली बेईज्जती सम्बन्धी ६ वटा, जीवनयापन खर्च पाँउसम्बन्धी विवादको ५ वटा र वातावरण प्रदुषणसम्बन्धी विवाद ३ वटा रहेको सचिवालयले जनाएको छ ।