चुहिने छाप्रोमुनी प्रजा दम्पती, भुकम्पको घर अलपत्र

संवाददाता
असार १८, २०८१

हेटौंडा ।  मकवानपुरको पश्चिीक्षेत्र मनहरी गाउँपालिका–४, ठाडोखोलाका प्रजादम्पती चुहिने छाप्रोमा बस्दै आएका छन् ।खरले छाएको छाप्रोको देव्रे भाग हवाङ्गै छ ।

छर्लङ्ग आकाश देखिने छानामुनी रात कटाउन विवश छन्, सन्तबहादुर प्रजा र सीता प्रजा । घर भन्दा मुनी भूकम्पको घर ठेकेदारले अलपत्र पारेर बेपत्ता भएपछि उनीहरुको बिचल्ली भएको छ ।

स्थानीय ठेकेदार सूर्य चेपाङले घर बनाइदिने जिम्मा लिएर पूरा नगरी बेपत्ता भएको मनहरी–४ का वडाअध्यक्ष प्रकाश थापाले जानकारी दिए । भूकम्पको दुई कोठे घर अलपत्र छ ।

ब्लकको घरमा छाना लगाउन जस्ता ल्याएर राखेको अवस्थामा ठेकेदार फर्किएर नगएको वडाध्यक्ष थापाले बताए । वडाध्यक्ष थापाले ठेकेदार चेपाङलाई एक महिनाको समय दिएर घर बनाइदिन निर्देशन दिए ।

‘ए भाइ, त्यो चेपाङ बुढाबुढीको घर अलपत्र पारेको तिमीले हो रु एक महिनाभित्र बनाइदिने भए बनाउ, नत्र तिम्रो घर बनाउन ल्याएको इट्टा ल्याएर वडाको पैसाले म आफैं घर बनाइदिन्छु,’ थापाले ठेकेदार सूर्य चेपाङलाई ठाडो भाषामा चेतावनी दिए । ठेकेदार चेपाङले एक महिनाभित्र घर सम्पन्न गराइदिने प्रतिबद्धता जनाए ।

घर वरपर मात्रै हिँड्डुल गर्न सक्ने अवस्थाका सन्तबहादुरको उमेर ८१ वर्ष भयो । श्रीमती सीताको भने उमेर भने उनैलाई पनि थाहा छैन । ‘कति वर्ष हुनुभयो, आँखा देख्नु हुन्छ रु,’ सीतालाई प्रश्न थियो । उनले भनिन्, ‘मेरो उमेर त थाहा छैन ।

नागरिकता नै बनेको छैन,’ सीतालाई उमेर मात्र हैन आफ्नो विवाह भएको यकिन वर्षसमेत स्मरणमा छैन । सन्तबहादुरका साईंला भाइ सीताका देवर विशुराम प्रजाले उनीहरुको विवाह भएको वर्ष र दाइको उमेरका आधारमा यकिन हुन नसके पनि सीताको अन्दाजी ७२ वर्ष उमेर कटेको बताए ।

सन्तबहादुर दुवै कान सुन्दैनन् । इशाराले कुरा गर्छन् भने सोधेको जवाफ फर्काउँछन् । सीता भने विस्तारै जवाफ फर्काउन सक्छिन् । घरको जिम्मेवारी सबै सीताको काँधमा छ । घर अगाडिको सानो छाप्रोमा एउटा पाडी पालेका छन् । घरसँगै जोडिएको ५ कठ्ठा जग्गामा लगाएको मकैले वर्षभरि गुजारा टार्ने गरेको सन्तबहादुरका भाइ विशुरामले सुनाए ।

‘ढिँडो हैन, पिठो खान लागेको । पिठो किनेर ल्याएको थिएँ । बेसाएर खानुपर्छ । संधै खान कहाँ पुग्छ र रु,’ सीता भन्छिन् ।प्रजा दम्पतीको छाप्रोभित्र दुई–तीनवटा बोराको पोकामा कपडा, गुन्द्री मात्रै थिए । भ्वाङ परेको खरको छानाबाट पानी चुहिने भएपछि कपडालगायतका पानीले भिज्ने वस्तु सीताले बोराभित्र हालेको बताइन् ।

 

भान्सामा नुन, तेल, बेसारदेखि भाँडाकुँडा पनि पर्याप्त छैनन् । भात र तरकारी पकाउने एउटै कराई, ढिँडो र पिठो पकाउने अर्को कराई र केही कचौरामा उनीहरुको भान्सा चलेको छ ।

सन्तबहादुरको सामाजिक सुरक्षा भत्ताले पिठो किनेर खाइरहेका छन् । सन्तबहादुरले पनि भत्ता बुझ्न थालेको ३ वर्ष भयो । सीताले भने नागरिकता नबनेकै कारण भत्ता पाएकी छैनन् ।

उनको जन्मदर्ता पनि नभएकाले नागरिकता बनाउन कठिनाई भएको वडाध्यक्ष थापाले बताए । मकवानपुर महिला समूहले सीताको नागरिकता बनाउन ४ नम्बर वडा कार्यालयमा पहल गरेको छ ।

समूहकी समृद्धि परियोजना संयोजक निशा लामाले चितवनमा गएर सम्बन्धित वडा कार्यालयबाट सीताको जन्म प्रमाणित गरेर ल्याउन सहजीकरण गर्ने बताउँदै वडा कार्यालयबाट नागरिकताका लागि थप प्रक्रिया अगाडि बढाउन वडाध्यक्ष थापालाई आग्रह गरिन् ।

वडा कार्यालय र प्रजा दम्पतीको घर करिब १ किलोमिटरको दुरीमा छ । थापाले सीताको नागरिकता बनाएर सामाजिक सुरक्षा कार्यक्रममा समावेश तत्काल गराउने प्रतिबद्धता जनाएका छन् ।

वडा कार्यालयसम्म आउन पटक–पटक आग्रह गर्दापनि उनीहरु नआएकोले समयमै काम हुन नसकेको थापाको भनाई छ । अब भने घरमै पुगेर सेवा प्रदान गर्ने थापा बताउँछन् ।

छोरा पर्खिरहेकी सीता

सन्तबहादुर र सीताबाट तीन छोरा जन्मिएका थिए । जसमध्ये जेठा र कान्छोको मृत्यु भइसकेको छ । उनीहरुको सहारा साइंलो छोरा छ । साइलो २७ वर्षीय नवीन प्रजा नेपालमै छ वा भारतमा सीतालाई खबर छैन ।

दशैंमा कमाई गर्छु भनेर छोरा हिँडेको र हालसम्म नफर्किएको सीता सुनाउँछिन् । छोरा कहिले आउँछ रु भन्दा भावुक बनेकी सीताले सुनाइन्, ‘खोई कहिले पो आउँछ । दशैंमा कमाई गर्न भनेर गएको । अब दशैंमा त आउन पर्ने । नआएर हुन्छ त रु,’ सीताका देवर विशुरामका अनुसार छोरा नवीन भारतको गोवामा छन् । गोवास्थित होटलमा काम गरेको थाहा मात्रै पाएको उनले बताए ।

नवीनको ६ वर्षकी छोरी छ । श्रीमतीले अर्कैसँग भागेर विवाह गरेपछि छोरी मनहरी–४, जेख्रीस्थित मामाघरमै बसेर पढिरहेको विशुरामले बताए । सन्तबहादुर र सीताको जेठा छोराको ३० भदौ २०५८ मा मृत्यु भएको विशुरामले जानकारी दिए ।

जन्डिस भएको तीन दिनमै उनको मृत्यु भएकोथियो । चेपाङ समुदायमा अहिले पनि बिरामी भएपछि पहिला अस्पताल नलगी झारफुकमै विश्वास गर्ने गर्छन् । रोगकै कारण कान्छो छोरा बितेको र मिति याद नभए उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*