मकवानपुरमा जंगली च्याउ खाँदा हप्तामा ३ जनाको मृत्यु
हेटौंडा । विषालु जंगली च्याउ खाँदा मकवानपुरमा एक हप्तामा ३ जनाको ज्यान गएको छ । विषालु जंगली च्याउलाई तरकारी बनाएर खाँदा ३ असार यता मकवानपुरको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको १९ जना बिरामी परेका छन् ।
बिरामी भएका १९ मध्य ३ जनाको ज्यान गएको हो । एक बालकसहित तीन जनाको ज्यान गएपनि स्थानीय सरकारले यस विषयमा खासै चासो देखाउन सकेका छैनन् । बिशेषगरी असार लागेपछि परेको पानीका कारण जंगलमा च्याउ उम्रन सुरु गर्छ । विषालु च्याउ खाएर बिरामी पर्ने पनि असारमै बढी हुने गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउँछन् ।
गाउँपालिकामा जनप्रतिनिधि असारमा बजेट ल्याउने कार्यमा बढी ब्यस्त हुने भएकोले यो समयमा गाउँघरमा विषालु खाएर बिरामी पर्ने समस्या रहेको अध्यक्ष मल्ल बताउँछन् ।
ग्रामीण क्षेत्रमा जंगली च्याउ पहिचानको पनि समस्या रहेको छ । पाका पुस्ताले राम्रोसँग चिन्ने गरेका थिए तर, त्यो सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको मल्ल बताउँछन् । विषालु च्याउको बारेमा राक्सिराङ गाउँपालिकामा बिगतका दिनमा सचेतनामूलक कार्यक्रम गरिएको अध्यक्ष मल्लले साझाकुरालाई बताए ।
स्थानीय जंगलमा पाइने विषालु च्याउनको फोटोसहितको फ्लेक्स तयार गरेर गाउँपालिकामा रहेका सबै विद्यालयका बालबालिकामार्फत सचेतनाको कार्यक्रम ल्याउने विषयमा छलफल भइरहेको मल्ले बताए ।
एक सातामा विषालु च्याउ खाएर बिरामी परेकामध्य तीन जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ३ असारमा कैलाश गाउँपालिका–९ नामटारका बिनोद लामालगायत परिवारका सदस्यले जंगली च्याउ खाँदा बिरामी परेका उनको छोरा ४ वर्षीय दीपेश लामाको मृत्यु भएको हो ।
हेटौंडा अस्पतालबाट उपचारका लागि चितवन लगिएका लामालाई परिवारले आफूखुशी घर लगेकोमा ८ असार साँझ बाटोमै मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
कैलाश–९ नामटारकी २५ वर्षीया नीरुमाया रुम्बाको पनि मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । निरुमायालाई उपचारका लागि ३ असारमा चितवन मेडिकल कलेज लगेकोमा ९ असारमा उपचार गराउन नसक्ने भन्दै पुनः हेटौंडा अस्पतालमै ल्याएको र १० असार राति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनको शव हेटौंडा अस्पतालमा रहेको छ ।कैलाश गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लका अनुसार ग्रामीण क्षेत्रमा ब्याप्त गरिबीका कारण जंगली च्याउ खोजेर तरकारी खाने प्रचलन छ । कैलाश गाउँपालिकाले पनि जंगली च्याउ विषालु हुनेकुराको बारेमा स्थानीयलाई सचेतना दिने खासै कार्यक्रम संचालन गरेको छैन ।
जंगली च्याउमध्य थोरै प्रजातिका मात्र विषालु हुन्छन् । त्यही विषालु च्याउ नखानका लागि गाउँपालिकाले जनचेतना जगाउने कार्यक्रम ल्याउने विषयमा बहस भइरहेको उपाध्यक्ष मल्लले साझाकुरालाई बताए ।
राक्सिराङ गाउँपालिका–७ दुगुवाङ बस्ने ५५ वर्षीय बलबहादुर प्रजाको ९ असारमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक प्रजाको परिवारका अन्य चार जनाको अस्पतालमा उपचार जारी छ ।
उनको श्रीमती ४५ वर्षीय जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा , अर्की छोरी ८ वर्षीया सविना प्रजा र छोरा १० वर्षीय सुशील प्रजाको स्वास्थ्य अवस्था सुधार भइरहेकोप्रहरीले जानकारी दिएको छ ।
१० असारमा राक्सिराङ गाउँपालिका–८ लाचेका ४ जना जंगली च्याउ खाँदा बिरामी परेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको डिएसपी भण्डारीले बताए ।
७ असारमा जंगली च्याउ खाँदा मकवानपुरगढी गाउँपालिका–६ सानुसल्ले र ५ नम्बर वडाको कालिवन बस्ने ८ जना बिरामी भएका थिए । उनीहरु हेटौंडा अस्पतालमा उपचार पश्चात् घर फर्किसकेका छन् ।जंगलमा पाइने विषालु च्याउका बारेमा गाउँपालिकाले विद्यालय, स्वास्थ्यचौकी, टोलविकास संस्था, सामुदायिक वन समूह, स्थानीय सहकारीमार्फत् जनचेतना जागृत गराउने कार्यक्रम संचालन गर्न आवश्यक रहेको बिज्ञहरु बताउँछन् ।
पाका पुस्ताले जंगलमा पाइने च्याउमध्ये कुनकुन विषालु हुन्छ रु भन्ने विषयमा राम्रो ज्ञान थियो तर, त्यो ज्ञान, सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेका कारण अहिले समस्या आएको हो । वनसँग सम्बद्ध बिज्ञ कर्मचारीको समन्वयमा स्थानीय सरकारले ग्रामीण क्षेत्रका बासिन्दालाई सचेत गराउनु जरुरी औंल्याइएको छ ।