जिल्ला समन्वय समितिको तेस्रो त्रैमासिक समीक्षा

संवाददाता
जेष्ठ २५, २०८१

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको तेस्रो त्रैमासिक समीक्षा गरिएको छ । समिक्षामा बागमती प्रदेशस्तरका कार्यालय र मकवानपुर जिल्लास्तरका कार्यालयले यो तीन महिनाको अवधिमा गरेका कामको विवरण प्रस्तुत गरेका थिए ।

नेकपा एमाले संसदीय दलका प्रमुखसचेतक महेश बतौलाले विकास निर्माणका बिषयमा साझा संकल्प गरेर अगाडि बढ्नुपर्ने बताए । जिल्ला समन्वय समिति मकवानपुरको तेस्रो त्रैमासिक समीक्षालाई बिहीबार हेटौंडामा सम्बोधन गर्दै उनले साझा योजना बनाएर अगाडि बढे जिल्लाको विकास गर्न सहज हुने बताए ।

उनले मकवानपुरको भीमफेदी सुरुङमार्ग निमार्णको नाममा पूर्वाधार कम्पनीले जनताको पैसा लिएर फरार भएको स्मरण गराउँदै भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि जिल्लाका सबै एकठिक्का भएमात्रै सम्भव हुने बताए । उनले मकवानपुरको उत्तरीक्षेत्र दामन, पालुङ, चित्लाङमा पर्यटन प्रवद्र्धन गर्न पर्यटनको केन्द्र बनाउनुपर्ने बताए ।

बन्द अवस्थाको हेटौंडा–टेकु रोपवेको सदुपयोग गर्नुपर्नेमा जोड दिदै साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्ने बताए । सांसद बर्तौलाले मनहरी–थाहानगर जोड्ने रुपचन्द्र बिष्ट राजमार्ग बनाउन सबैको साझा धारणा आवश्यक रहेको बताए ।

हेटौंडा औद्योगिक नगरी भएपनि एकपछि अर्को उघोगधन्दा बन्द भएकोमा चिन्ता व्यक्त गर्दै हेटौंडा औद्योगिक क्षेत्रमा पहुँचवालाले जग्गा कब्जा गरेर उद्योग नचलाएको आरोप लगाए ।

उनले विकास निर्माणको क्षेत्रमा सबै दल र स्थानीय तहले साझा योजना बनाएर अगाडि बढ्न सबैलाई आग्रह गरे । हेटौंडाको सडक विस्तारको बिषयमा प्रदेशको राजधानी फराकिलो हुनुपर्ने बताउदै बाटो फराकिलो गर्दा कसैलाई पनि खुला आकाश मुनीको वास बनाउन नहुने धारणा राखे ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले राजस्व बृद्वि गर्न र प्राकृतिक स्रोतहरुको सही सदुपयोग गर्नुपर्ने बताए । उनले जिल्लाको विकास, अवस्था, समस्या र उपलब्धिका बिषयमा सामूहिक छलफल हुनुपर्ने बताए ।हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले स्थानीय तहलाई बलियो बनाउदै लानुपर्ने बताउदै संघ, प्रदेशको कानुन स्पष्ट नहुँदा समस्या आएको धारणा ब्यक्त गरिन् ।

उनले नदीजन्य बस्तुको उत्खनन गरेर राजस्व संकलनमा कानुनी अप्ठ्यारो भएको गुनासो गरिन् । प्राकृतिक स्रोतसाधन स्थानीय तहले उपयोग गर्न नपाउँदा राजस्व गुमेको नगरप्रमुख लामाको भनाइ छ ।

उनले हेटौंडामा २५ मिटर सडक बिस्तारको बिषय पनि पेचिलो बन्दै गएकाले सरोकारवाला निकायलाई गम्भिर हुन आग्रह गरिन् ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले प्राकृतिकस्रोतको अधिकदोहन भएकोमा चिन्ता व्यक्त गरे ।

भाविपुस्ताका लागि पनि सोचेर प्राकृतिक बस्तुको संरक्षण गर्नुपर्नेमा जोड दिंदै प्रजिअ चिलुवालले अधिक प्राकृतिदोहनले बाढी, पहिरो निम्त्याउने भएकाले त्यसतर्फ सबै सचृत रहनुपर्नेमा जोड दिए । उनले मनसुनजन्य विपद् आउदै गरेकाले जोखिम न्युनीकरणका लागि स्थानीय तहलाई आग्रह गरे ।

प्रदेश कोष तथा नियन्त्रण कार्यालयका हरिप्रसाद उपाध्यायले जिल्लामा ६ अर्व २५ करोड कुल निकास गरेको बताए । चालू खर्च तर्फ ३ अर्व ३७ करोड र पुँजिगत २ अर्व ८८ करोड खर्च भएको जानकारी दिए । कार्यक्रममा जिल्ला बिभिन्न कार्यालयको प्रगतिविवरण पेश गरिएको थियो । उपप्रमुख सानुकाजी लुइँटेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम जिल्ला समन्वय अधिकारी सूर्यप्रसाद चापागाईंले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति बुद्ध लामा, माओवादी केन्द्र संयोजक भीम पाख्रिन, समाजवादी मकवानपुर अध्यक्ष बिष्णु दाहाल, राप्रपाका गुरुप्रसाद सापकोटा, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामालगायतले शुभकामना दिएका थिए ।

मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी, संविधानसभा सदस्य प्रल्हाद लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*