हेटौंडाको शहिद स्मारक अब राति १० बजेसम्म खुल्ने
हेटौंडा/हेटौंडाको शहिद स्मारक अब नयाँ वर्षबाट बिहान ६ बजेदेखि राति १० बजेसम्म खुला रहने भएको छ । स्मारकमा नयाँ बत्ती जडान गरी थप सौन्दर्यीकरण गरेसँगै स्मारक विकास समितिले राति १० बजेसम्म स्मारक परिसर खुला गर्न सुरु गरिएको स्मारक विकास समितिका अध्यक्ष तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।
स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले अब नयाँ वर्षको दिनबाट नियमित रूपमा राति १० बजेसम्म खुला रहने व्यवस्थापन गर्न लागेको जानकारी दिए । उनले स्मारकमा थप संरचना निर्माणसँगै बत्ती जडानपछि आकर्षक देखिएको बताउँदै पर्यटकको मागलाई समेत ध्यानमा राखेर समय बढाइएको बताए ।
नयाँ वर्षका दिन नयाँ स्थानसँगै मठमन्दिरमा परिवार र साथीभाइसँगै जाने आमप्रचलन छ । नयाँ नयाँ गन्तव्यमा जाने नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै रमाइलो गर्ने गन्तव्य स्थलमध्येको एक पछिल्लो वर्षमा सहिद स्मारक बन्दै आएको छ ।