सबैकी छाता

कल्पना श्रेष्ठ
अध्यक्ष, जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि., मकवानपुर
वीरहरू निबन्धमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्– ‘तिनीहरूका पङ्खा थिए । अरू मान्छे घस्रिएर बसे । तिनीहरूको हृदयमा बिजुली थियो । देशको तुसारोले झिलिक्क झिल्किएर उठे । अरूहरू काँपेर बसे ।’ चुनौतीहरूको भीडले छोप्न लाग्दा यही पङ्क्ति याद आउँथ्यो । उनले अगाडि भनेका छन्– दुनियाँ तिनलाई आँसु लिएर युग–युगसम्म सम्झँदैछन्., एक इशारामा उफ्रने आत्मालाई म वीर भन्छु । जो यताउति हेर्दैन । पछाडि फर्कंदैन । साहित्यमा रुचि राख्थे । कविता, मुक्तक, समसामयिक विषयमा कलम पनि चलाउने गर्थे थोरबहुत ।
जसै सहकारीको कठिन परिस्थिति सम्हाल्न आइपुगें, ती सबै कन्तुरमा थन्के । अझ सबैले बुझने गरी भन्दा मेरा यी क्रियाकलाप त्यसपछि ‘भूतपूर्व’ बने । मुक्तकको शब्द चयन र कविताको आकर्षक शीर्षक छान्न केन्द्रित हुने दिमाग सहकारीमा समस्या निम्त्याउने को हो भन्ने पुष्टि गर्नेतर्फ खर्च भए, त्यो पनि हरपल। यताउति कतै हेर्ने नभ्याइने । आफूले आँटेको लक्ष्य नभेटी हेर्न चाहिन पनि । द्वन्द्वकाल हो । जङ्गलको बाटो छ। जताबाट पनि गोली पड्किन सक्छ भन्ने धम्कीले समेत पछाडि फर्कने बनाएन । सामूहिक हितका लागि गरिएको सत्यको खोजीमा मृत्यु पनि स्वीकर छ भन्ने हुँकार गरें, जवाफी फायरबापत ।
अलिकति विगततिर फौँ– कक्षा ८ मा पढ्दादेखि नै आमाहरूको समूह परिचालनमा सहयोग गर्नुपर्थ्यो । मानव बेचबिखन र मानव अङ्ग चोरीका घटना बढ्दो थियो । त्यसलाई न्यूनीकरण गर्नेखालका विभिन्न कार्यक्रम आयोजना हुन्थे । मिलेसम्म जान्थें पनि। त्यस्तै परिवेशमा अघिल्ला समिति÷कर्मचारीले ल्याएका भूकम्पको भग्नावशेष जिम्मा पाएकी हुँ मैले ।
कलेज पढ्दै गरेकी एउटी केटीको पोल्टोमा दोष थोपरेर उन्मुक्ति पाउँछु भन्ठान्नेहरू आँखैअगाडि थिए । पढेलेखेकी छन्, सामाजिक जीवन भएका परिवार छन्, जसरी पनि सम्हाल्छिन् भन्ने थियो । सम्हाले सम्हाल्छे, नसम्हाले उसकै टाउकोमा जान्छ भन्ने पनि थियो कि ? १३ जनाको समितिमा १३ थरीकै कुरा। सहयोगी संस्थाबाट सहजीकरण गर्न आउने पुरुष कर्मचारीलाई महिला स्वरूपको मोहमा पारेर समेत आफ्ना गल्ती ढाकछोपका प्रयास नभएका होइनन् । तर किशोरावस्थामा समेत त्यस्ता विषय छिमोल्न सक्ने आफूलाई आफैं तारिफ गर्न मन लाग्छ कहिलेकाहीँ त । सहकारीको रकम सापटी माग्ने शक्तिवाला समितिलाई कसरी पन्छाएँ हुँला ? अहिले पो आडै सिरिङ्ग हुन्छ त सम्झँदा पनि ।
गाउँको दसैं नाट्य पात्रका रूपमा । साहित्य सङ्गममा कविता वाचन । विद्यालयका अतिरिक्त क्रियाकलाप । साथीहरूको समेत समस्या हेड सरसम्म पुयाउने हिम्मत मैसँग मात्र। घरमा पिटाइ पनि खाएँ। विद्यालयमा भने त्यस्तो अनुभव लिनुपरेन । कलेज कबड्डीमा टाइगर र कोब्राको उपनामले नै सबैलाई थर्कमान बनाउँथ्यो । म भएको टिमको विजय सुनिश्चित हुन्थ्यो, जित्नुअघि नै । माफ गर्नुहोला, यी प्रसङ्ग कोट्याउनुको पनि अर्थ छ । जसले मसँग बोलीमा तीव्रता नभए पनि नेतृत्वको सङ्केत त्यतिबेलै भएको पुष्टि गर्छ । त्यसैले त १९, २० वर्षको उमेरमै पनि अवरोध छिचोल्ने आँट गर्न सकें ।
करिब २ वर्ष लाग्यो, सदस्यको मन जित्न । जिल्ला सङ्घ दर्तापूर्वका हरेक क्रियाकलापमा साथै रहेकी म संस्थापक १२ पछिको १३औं सदस्य संस्था बनाउन सफल भएँ । साथै प्रारम्भिक साधारण सभामा नै जिल्लाको महासचिवको भूमिका निर्वाह गर्ने अवसरसमेत पाएँ ।
यो सहकारीको लत पनि अचम्मकै हुँदोरहेछ । छँदाखाँदाको शिक्षकको जागिर छाडेर ३ हजार खाने व्यवस्थापक हुन रहर लाग्ने । जिल्लाका विभिन्न ठाउँमा कार्यक्रमका क्रममा जानुपर्दा प्लानले खर्च गर्न दिने ५ सय रुपियाँ पनि सङ्घको विकासका लागि आम्दानी भनेर दाखिला गर्न म लाग्ने । उज्यालो पछ्याउँदै जाने क्रममा पापी जूनकीरीले झुक्याउँदा झण्डै खोलाको ड्याममा परिएन । बिजुली चम्केको रात कान्लोबाट झर्दा पनि धन्न ठूलो चोटपटक लागेन । मूल बाटो पहिल्याउन नसक्दा हिँडिएको गोठाले बाटो त कति छन् कति ? पूर्वाधार शून्य मकवानपुरका कुनाकन्दरा चाहार्दा कहिल्यै थकान नलाग्ने विछिट्टको अनुभव पनि ताजै छ । एकल महिला सम्मान कार्यक्रमअन्तर्गत विधवाको समेत रातो पहिरन स्वीकार्ने समाज निर्माण कम्ता क्रान्तिकारी कदम हो जस्तो लाग्दैन ।
जापान, थाइल्यान्ड, बङ्गलादेश, अस्ट्रेलिया र भारतका विभिन्न प्रदेशको सिकाइ, भारतको डिप्लोमा अनि नेपालका धेरै जिल्ला पुगेर सहकारी सिक्ने÷सिकाउने मौकाले निखार्न सघाए। डिभिजन सहकारी कार्यालय मकवानपुरले २०७४ चैत २० गते उत्कृष्ट सहकारीकर्मीको सम्मान दिएपछि आफूले पहिल्याएको बाटो सही भएको निष्कर्षमा पुगें । जिल्ला÷केन्द्रका पटक–पटकका उत्कृष्ट पुरस्कारहरू सङ्घ र आफ्नो प्रारम्भिक सहकारीलाई दिलाउन सक्नु दुःखद योगदानको सुखद प्रतिफल ठानेकी छु। तालिमका क्रममा गरिएको सहजीकरण औधी रुचाइदिनेहरू मेरो ऊर्जाका बाहक बने ।
६ लाख रुपियाँ रहँदा ४ लाख रुपियाँ त हिनामिना नै भएको प्रारम्भिक संस्था सपार्न सक्नुलाई समाज परिवर्तनको सम्बाहकका रूपमा प्रस्तुत गर्नु, २० करोड कुल सम्पत्ति, ४ हजार सदस्य परिवार निर्माण गर्नु, नेतृत्व गरेको सङ्घको पूँजी १ अरब ११ करोड बनाउनु, गर्भदेखि मृत्युसम्मका विविध सामाजिक क्रियाकलापका उत्तम अभ्यास गर्नुलगायत दर्जनौँ छन् गर्वलायक पक्ष ।
जिल्ला सङ्घको प्रारम्भदेखि नै विभिन्न पदमा रहें। २०७६ देखि भने अध्यक्षको जिम्मेवारीमा छु, निरन्तर । यसबीचमा सङ्घको आफ्नै जग्गा किनी धपकधपक बत्ति बल्ने बिल्डिङको परिकल्पनादेखि साकार पार्नेसम्मको क्रियाकलापमा संलग्न हुन पाएँ । जसले मलाई सङ्घर्षशील मकवानपुरे सहकारीकर्मी हुँ भन्दा भित्रैदेखि हर्षविभोर तुल्याउँछ ।
मेहनत र कर्मको पक्षमा सबै मान्छे नहुन पनि सक्छन् । तर अधिक भने अवश्य हुन्छन् भन्ने प्रमाण बनेको छ– २०८० सालको सङ्घको निर्वाचन । शतप्रतिशत योग्यता पुगेका सदस्यको मतदान र प्रतिनिधिज्यूहरूको विश्वासले पुनः ४ वर्ष सङ्घ हाँक्ने चालकको सिटमा दोहोरिएकी छु । स्यालुट छ यहाँहरूलाई, जसले ममाथि अगाध विश्वास गर्नुभयो ।