मकवानपुर क्रिकेट टिमको लगातार दुई हार

हेटौंडा । बाराको जितपुर सिमरामा भइरहेको टि–२० हरपुर क्रिकेट प्रतियोगितामा मकवानपुर क्रिकेट टिमले लगातार दुई पराजय भोगेको छ ।
दुई खेलमा पराजित भएसँगै मकवानपुर क्रिकेट मिट प्रतियोगिताबाट बाहिरिएको छ । मकवानपुर क्रिकेट टिम आइतबार कलैया र सोमबार गरुडा क्रिकेट टिमसँग पराजित भएको हो । गरुडा क्रिकेट क्लवले १ विकेटमा मकवानपुरविरुद्ध जित निकालेको छ ।
टस जितेर ब्याटिङ रोजेको मकवानपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५० रन मात्रै बनाउन सक्यो । मकवानपुरका शुभ कंसाकारले ७६ रन, रामनरेश गिरीले २४ रन, कप्तान सुमन सुनारले १५ रन बनाए ।
कंसाकारले अर्धसतक हान्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । गरुडाका डब्लु मल्लिक, अभिराज यादवले समान २–२ विकेट र दिनेश अधिकारी, रुपेश सिंह, सुन्य शाहले समान १–१ विकेट लिए ।
मकवानपुरले दिएको १५१ रनको लक्ष्य पछ्याउँदै क्रिजमा आएको गरुडाले ९ विकेट गुमाउँदा १९ दशमलव ३ ओभरमा लक्ष्य भेटाएको थियो । गरुडाका दिनेश अधिकारीले सर्वाधिक ४६ रन जोडे । नितेश यादवले नटआउट २९ रन खेले । गरुडाका लागि रुपेश सिंहले २० रन जोडे । मकवानपुरका रामनरेश गिरी र रोहित ठाकुरले समान ३–३ विकेट र पियूश शर्मा, विशाल फुयाँल र अशिम श्रेष्ठले १–१ विकेट लिए ।
यसअघि मकवानपुर आइतबार कलैया क्रिकेट टिमसँग ६ विकेटले पराजित भएको थियो । कलैयाविरुद्ध टस जितेर क्रिजमा आएको मकवानपुर १५ ओभरमा सबै विकेट गुमाएर १ सय १६ रनमै समेटियो । ओपनर गौरभ खड्काले ४८ रन बनाए । मकवानपुरका सुवर्ण भट्टले १४ र रामनरेश गिरीले १३ रन मात्रै बनाए । अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेन । कलैयाका शंकर पौडेल एक्लैले ४ विकेट लिए । भुलन सहनीले २ विकेट र कुमार थापाले १ विकेट हात पारे ।
कलैयाले १८ दशमलव ३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १ सय १७ रनको लक्ष्य भेटाएको थियो । कलैयाका सहिल पटेलले ५४, निरज यादवले २८ र तृतराज दासले २० रन जोडे । मकवानपुरका रामनरेश गिरीले २ विकेट र पियुश शर्माले १ विकेट लिए । मकवानपुर रहेको समूह ‘ए’ मा कलैया क्रिकेट क्लव, गरुडाको युथ क्रिकेट क्लव थिए ।